१२ श्रावण २०८१, शनिबार

किन भयो चुनावकाे मिति घोषणामा ढिलाई ? यस्तो छ कारण
  • न्युज मानसराेवर

काठमाडौँ\ ‘तातो दूधले मुख पोलेको मान्छे मोही देख्दा पनि फूँ–फूँ गर्छ भनेजस्तै शेरबहादुरज्यू र चुनाव । घोषणा नहुन्जेल पत्याउनै गाह्रो !’ स्थानीय चुनाव घोषणाका लागि दबाब दिन मंगलवर युवा संघले आयोजना गरेको कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गरेको आशंका थियो ।

यो आशंका गर्दागर्दै पनि उनले बिहीवारसम्ममा चुनावको मिति घोषणा हुने आशा व्यक्त गरेका थिए ।

धेरैको अनुमान बिहीबार चुनावको मिति घोषणा हुन्छ भन्ने थियो । जेठ ४ गते स्थानीय तहको चुनाव गर्न माघ १८ गते मंगलबार निर्वाचन आयोगले राखेको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले सहर्ष स्वीकार गरेका थिए । निर्वाचन आयोग स्रोतका अनुसार प्रधानमन्त्री देउवाले बिहीवार (आज)सम्ममा चुनावको औपचारिक घोषणा गर्ने संकेत गरेका थिए ।

बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएकोले सोही बैठकमार्फत मिति घोषणा गर्ने तयारी थियो । तर बिहीबार मन्त्रिपरिषद्को बैठक बस्न सकेन । नेपाली कांग्रेसका नेताहरू भने एक दुई दिनमै चुनावको मिति घोषणा हुने बताउँछन् ।

किन ढिलाई ?

चुनावको मिति घोषणा गरेपछि राजनीतिक नियुक्ति लगायत कतिपय निर्णय गर्न नमिल्ने भएकोले चुनाव मितिभन्दा पहिल्यै ती नियुक्ति गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । सरकारमा रिक्त रहेका दुई मन्त्रालयमा मन्त्री नियुक्ति, प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति लगायतका कारणले चुनावको मिति घोषणामा ढिलाई भएको कांग्रेस स्रोतले बतायो ।

असोज २२ गते मन्त्री बनेर गजेन्द्र हमालले दुई दिनमै राजीनामा गरेपछि रिक्त रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा कांग्रेस महामन्त्रीमा पराजित भएपछि मीनेन्द्र रिजालले छाडेर अहिले रिक्त रहेको रक्षा मन्त्रालयमा मन्त्री नियुक्त गरेपछि मात्र चुनावको मिति घोषणा हुने कांग्रेस स्रोतले बतायो ।

चुनावको मिति घोषणा गरेपछि हुने नियुक्तिमा नैतिक प्रश्न उठ्ने भएकोले त्यस अगावै केही महत्वपूर्ण नियुक्तिको सम्भावना रहेको कांग्रेस स्रोत बताउँछ । प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार लगायत नियुक्तिपछि मात्र चुनावको मिति घोषणा गर्ने देउवाको तयारी छ ।

संस्थापन पक्ष निकट मानिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा केही दिनमा चुनाव मिति घोषणा हुने बताउँछन् । ‘उहाँहरु (एमाले)ले दुई दुईपटक नहुने चुनाव घोषणा गर्नुभएको हो, हाम्रो सरकारले घोषणा गरेको चुनाव सुनिश्चित हुन्छ’, खतिवडाले लोकान्तरसँग भने ।

देउवानिकट कांग्रेसकै अर्का केन्द्रीय सदस्यले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी)सँगको सम्झौताको विवादले मिति घोषणामा ढिलाइ भइरहेको बताए । ‘चुनावबाट कांग्रेस भाग्दैन, निर्वाचन आयोगले प्रस्ताव गरेको जेठ ४ मै चुनाव हुन्छ, हामीहरुले छलफल शुरू गरिसकेका छौं’ उनले लोकान्तरसँग भने ।

भोलि शुक्रबार नै चुनावको मिति घोषणा हुन सक्ने उनले दावी गरे ।

चुनावको आन्तरिक तयारीमा दलहरु

औपचारिक रुपमा चुनावको मिति घोषणा नभएपनि सत्ता गठबन्धनका दलहरुले आन्तरिक तयारी शुरू गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेठमा स्थानीय तहको चुनाव हुने भन्दै तयारी थाल्न बिहीवार कर्णाली प्रदेशका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

‘जेठमा चुनाव हुन्छ, आज भोलिमै औपचारिक ढंगले चुनावको मिति घोषणा गर्ने तयारी रहेको जानकारी गराउनु भयो’ प्रचण्डको भनाइ उदृत गर्दै माओवादीका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि बुधवार विद्यार्थीहरुको कार्यक्रममा जेठमा चुनाव हुने बताएका थिए । नेपाली कांग्रेसले पनि चुनावको आन्तरिक तयारी थालिसकेको छ । मंगलबार कांग्रेस पार्टी कार्यालयमा चुनावको तयारी बारे आन्तरिक छलफल भएको थियो ।

  • २० माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech