५ जेष्ठ २०८१, शनिबार

सिमसार दिवसले दिएको सन्देश
  • न्युज मानसराेवर

विश्व रामसारमा सूचीकृत पहिलो रामसार सम्पदा कोसी टप्पुमा यस वर्ष पनि सिमसार दिवस भव्यसँग मनाइयो। तीन तहका सरकारका धेरै मन्त्री, प्रशासक प्राविधिकको उपस्थितिलाई स्थानीयले ऐतिहासिक भने। दिल खोलेर स्वागत र सम्मान पनि गरे।

महत्त्वपूर्ण कुरा– यो दिवसले हामीलाई धेरै सन्देश दिएर गयो। पहिलो, स्थानीय समुदायको ओइरोले सिमसार सचेतना र संरक्षणभाव बढेको देखाउँछ। सप्तरी, सुनसरी, उदयपुर लगायतका जिल्लाबााट जनाइएको सहभागिता उत्साहजनक त थियो नै, सिमसारको अपनत्व लिएर संरक्षण गरिछाड्ने कटिबद्धता र संकल्प पनि गर्वयोग्य थियो।

संघ र प्रदेशको संरक्षण संकल्प झन् धेरै ऊर्जावान् थियो। यो दिवसले विश्व रामसार छाता संगठनलाई सम्मान गरेको पनि ठहरियो। सम्मान अग्रजलाई पनि हो, जसले ३५ वर्षअगाडि कोसीटप्पुलाई विश्व रामसारमा सूचीकृत गरेर खाता खोले। टाइपराइटर नहुँदा बाघविज्ञ डा. महेन्द्र श्रेष्ठलाई हातले लेख्न लगाएर प्रस्ताव पठाउने तत्कालीन महानिर्देशक विश्वनाथ उप्रेती जीवितै हुनुहुन्छ। ९० वर्ष पुग्न लाग्दा पनि उहाँ सिमसार र सिमसारकी जननी प्रकृतिको स्तुति गर्दै यो सिमसार दिवस कसरी मनाउँछन नियालेर हेरिरहनुभएको थियो।

कोसीटप्पुलाई पहिचान, सीमांकन र नापनक्सा गरेर आरक्ष बनाउनसमेत संस्थापक महानिर्देशकको हैसियतले उहाँको ठूलो योगदान छ। यो दिवसले उहाँको छाती चौडा बनाएको छ। दिवसको अर्काे सन्देश कोसी टप्पु रामसारको सम्मान हो। त्यहाँ आश्रित जनसमुदायको सम्मान हो। तिनीहरुको उत्थान र उज्ज्वल भविष्यको आशा हो। दिवसमा आरक्षले २० वटा गोही उपहार पाएको छ। त्यो केन्द्रको संरक्षण प्राथमिकता र प्रतिबद्धता हो। सिमसार दिवसको मर्म र भावना आत्मसात् गर्दै अमृत समान बहु उपयोगी पानीका गुनैगुन र ऋण तिर्न यो आलेख पस्केको छु।

जोडदार माग 

दिवस चटक्क र धपक्क मनायौँ। अब हामी ३६४ दिन पानीलाई नबिर्सिऊ। हावा पानी प्रकृतिप्रति बैरी र बैगुनी नहोऔं। किनभने हावा हामीलाई सेकेन्ड–सेकेन्डमा नभई हुँदैन। पानी घण्टाघण्टामा चाहिरहन्छ। प्राणी जगत् र पृथ्वीको जीवनचक्र चलायमान राख्ने प्रकृतिको स्मरण र सेवा अब अर्काे वर्षको सिमसार दिवसमा होइन हरेक दिन गरिरहने जवाफदेही संस्कार बसालौं।

यो दिवस मनाइरहँदा कैलालीका कर्मठ र स्वाभिमान वनअधिकृत कालो मोसोको टाटा गालाभरि दलिएर न्याय खोजिरहेका थिए। मैले उहालाई मेसेज पठाएँ, ‘प्रकृति रक्षक मेरा ईश्वर हुन् र तपाईंको जिउधनको रक्षा गर्न म गार्ड भएर स्वयंसेवा गर्न तयार छु।’ फेकोफनको जारी आन्दोलनले सिमसारलाई थर्काइरहेको छ- ‘अग्ला, ठूला, मोटा, गोलाइवाला रुखैरुखको जंगल चाहियो, तर जल, जनावर, जैविक विविधता चाहिएन र सामुदायिक वनलाई निजीकरण गर्न पाऊँ।’

दिवसका अवसरमा कलिलो चुरे हजारौं टिपरमा लोड भएर विदेशी विकास र समृद्धिका लागि कुदिरहेका देखिन्थे। हिउँदका नदी, खहरे, सिमसार उत्खनन, दोहन र विनाश उत्कर्षमा पुगेको लाग्थ्यो। पंक्तिकारको मनमा लाग्यो, ‘सिमसारले आजको आफ्नो दिवसमा समेत शान्ति पाएन।’

निकुञ्ज आरक्षका सिमसार नेपाली सेनाले जस्ताको तेस्तै राख्न संरक्षण योगदान दिएको छ। तर निकुञ्ज आरक्षका पानी, पोखरी, ताल, ढुंगागिट्टी, बालुवा, माछामा सरकारी आडमा व्यापारीहरुको आँखा लागिसकेको छ। संरक्षण वरोधी तत्त्वलाई सेनाको प्रकृति सुरक्षा घाँडो भएको छ।

अब हाम्रो दृष्टिकोण र सोच छिटो शुद्धीकरण होस्। सिमसारमाथि हक दाबी गर्ने सरोकार निकायहरुको टिम बिल्डिङ र टिमवर्कले सिमसारको अर्थपूर्ण संरक्षण, व्यवस्थापन र सदुपयोगमा होस्।

प्रार्थना र पुकार

अर्को महत्त्वपूर्ण कुरा, सन् २०१६ देखि नबसेको राष्ट्रिय सिमसार समितिको बैठक बस्न अब ढिला गर्नुहुन्न। टुटिफुटी समन्वय र सहकार्यलाई चुस्त–दुरुस्त र कामयावी बनाउन समितिलाई पुनर्ताजगी, सक्रिय र प्रभावकारी बनाउनैपर्छ। ताकि जीवनजगत् सिमसारजस्तो राष्ट्रिय मुद्दालाई उच्च प्राथमिकता र गति दिएर अगाडि बढाउन सकियोस्।

जलचर ऐन २०१७, राष्ट्रिय निकुञ्ज ऐन २०२९, वन ऐन २०४९, जलस्रोत संरक्षण ऐन २०७४, वातावरण संरक्षण ऐन २०७६ र राष्ट्रिय सिमसार रणनीति तथा कार्ययोजना २०१८–२०२४ लाई एकमुष्ट समेट्न एउटा एकीकृत छाता ऐन ल्याउन विलम्ब नगरौं। त्यसले ऐनकानुन छरपष्ट कार्यान्वयन शून्यको अवस्थालाई सुधारको बाटोमा लैजानेछ। त्यो छाता ऐनको लागू, अनुगमन, नियमन र नियन्त्रण गर्न केन्द्रमा शक्तिशाली तर जवाफदेही रामसार फोकल निकाय आवश्यक पर्ने हो कि!

हिमनदी र हिमतालको निरन्तर अनुगमन गरौं। हिमतालहरुलाई प्रारम्भिक अवस्थामा ‘स्मल टिम अपरेसन’ गरेर पिलो निचोरेझैं गरेर पानी तल पठाऔं। अति सरल, छिटो र मितव्ययी काम। जति ढिलो उति खतरा र महँगो। हिमताल ठूलो हुनासाथ पन्चरिङ  लागत बढेर २५।३० करोड पुग्दछ। दशक पुरानो सेती नदीको फ्ल्यास फ्लड् जस्तो जनधनको क्षति दोहोरिने तेहेरिने खतरा हुन्छ। कलिला सुन्दर हिमाललाई अनावश्यक पानीको भारी किन बोकाउने? बरु ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय सुन्दर तालहरुको पूर्वजनाउ उपकरण जडान गरेर निरन्तर अनुगमन, अद्यावधिक मापनसहित सम्भावित विपद्को उद्धार योजना बनाएर दिगो सुरक्षाको प्रत्याभूत गरौं। विश्व रामसारहरुलाई नियमित सफाइ सुधार र संवद्र्धन गरेर मातृभूमिलाई सिंगारौं। यी संवेदनशील र जोखिमपूर्ण राष्ट्रिय अभिभारा शानदार र सफलतापूर्वक पूरा गर्न नेपाली सेनाको सहयोग लिऊँ।

महाकाली नदीको शिरपुच्छर फिर्ता ल्याउन र दिगो संरक्षणका लागि पूर्व अभ्यास हेरेर अपिनाम्पा संरक्षण क्षेत्रलाई अपग्रेड गरी राष्ट्रिय निकुञ्जमा रुपान्तरण गर्ने साहसिक र राष्ट्रवादी निर्णय गरौं।

चुरे संरक्षणलाई सिद्धान्त र कागजमा होइन व्यवहारमा उतारेर देखाऊँ। चुरेका पत्रपत्रभित्रका असुरक्षित बस्तीहरु उठाएर उर्वर भूमिमा पुनर्वास  गराऔं।

विश्व रामसारमा सूचीकृत कान्छो रामसार फेवाताल किनारमा अवस्थित ऐतिहासिक सुन्दर दरबारमा क्याफे होइन ‘सिमसार र जैविक विविधता संरक्षण अध्ययन अनुसन्धान केन्द्र’ खोलेर आमजनता, प्रकृति र विश्व संरक्षण समुदायको मन जितौं।

पहिलो रामसार सम्पदा कोसीटप्पुमा सिमसारजन्य स्रोतको व्यावसायिक केन्द्र पर्यापर्यटन केन्द्र, पक्षी अध्ययन तथा अनुसन्धान केन्द्र खोलेर सिमसारमा आश्रित नेपालका १० प्रतिशत जनताको सम्मान गरौं। फेवातालमा धार्मिक र सांस्कृतिक केन्द्र खोल्न सकिन्छ।

संरक्षित क्षेत्रबाहिरका सिमसारहरुको पहिचान, अभिलेखीकरण र संरक्षणको योजना छिटो बनाऔं।

जल, जमिन र जगंलको अन्योन्याश्रित सम्बन्धबारे दुरदराजका जनतालाई  बुझाऔं। अनि ती सबैको उत्खनन, दोहन र विनाशले पानीको स्रोत नासिने भएकाले अवैध, अवैज्ञानिक, अनियन्त्रित दोहनका कामलाई शीघ्र निषेध गरौं।

पूर्व पश्चिम महेन्द्र  राजमार्गसँग समानान्तर हुने गरी जल यातायात, सिँचाइ, पर्यापर्यटन र डिच कम बन्ड रक्षा प्रयोजनका निमित्त बहुउपयोगी चौडा हरित नहर बनाऊँ। भर्टिकल नदीहरुले सिँगारेको सुन्दर मुलुकलाई यो होराइजन्टल जलमाला उपहार हुनेछ। त्यसले समृद्धिको फल छिटो फलाउनेछ।

वातावरणमैत्री राजनीति प्रकृतिको माग हो। राजनीतिक इच्छाशक्ति, प्रतिबद्धता र संकल्प विना दिगो प्रकृति संरक्षण सम्भव छैन। तसर्थ हरेक राजनीतिक दलले जलवायु परिवर्तनको विश्व मुद्दा र समग्र प्रकृति संरक्षणको संकल्प आ–आफ्नो चुनावी घोषणापत्रमा अनिवार्य राख्न अपरिहार्य छ। अब पनि हामी नसच्चिने, नसुध्रिने र प्रकृतिप्रति इमानदार नहुने हो भने प्रकृतिलाई माफी दिने ठाउँ रहने छैन। न हामीलाई भावी सन्ततिले माफी दिनेछन्।

बिस्मात् र क्षमायाचना

आफूले लामो समय प्रकृति रक्षाको जिम्मेवारी निर्वाह गर्दा पानीको महत्त्व बुझिनँ। गैंडाको गोठालो लागेँ। तर उसले पिउने विषाक्त पानीको रक्षा गर्न सकिनँ। ‘पाटे बाघ बाघ’ भनें तर उसले पिउने, खेल्ने पानीको हेक्का राखिनँ। उसको आहार प्रजातिले पिउने सफा पानी उपलब्ध गराउन सकिनँ। सयौं पोस्टमा तैनाथ रहेर ज्यान जोखिममा राखी अहोरात्र प्रकृतिलाई पहरा दिने आफ्ना सहकर्मीहरुलाई शुद्ध पिउने पानी दिन सकिनँ।

जहिल्यै कोसी, गण्डकी र महाकाली पुगेर निकुञ्ज आरक्षमा प्रशिक्षण दिएँ अनि झल्यास्स भएँ– फौज हाम्रो, सुरक्षा हाम्रो, नदी हाम्रो पानी अरुको।

आफू प्राचीन संरक्षण प्रणालीको अन्धो बन्दी भएकोमा क्षमाप्रार्थी छु।

पहिला पानी अनि वन, वन्यजन्तु निकुञ्ज र म भन्ने सामान्य ज्ञानको बोध नहुनु मेरो ठूलो कमजोरी थियो। यो बिस्मातले मलाई जुनिभरी पोलिरहने छ। म लेखेर ऋण कट्टा गरिरहनेछु।

नेपाली सेनालाई सुझाव

प्रकृति र सिमसार संरक्षणको ऐतिहासिक खम्बा हो नेपाली सेना। म पूर्वसैनिक जस्तो विस्मयकारी हुनु हुँदैन आधुनिक सेना। मैले भोगेको खेपेको प्राचीन संरक्षण प्रणालीले ४० वर्ष धान्यो। अब त्यसको म्याद गुज्रिसकेको छ। चित्त बुझाउनलाई त्यसको उत्कर्ष ‘शून्य सिकार उपलब्धि’ लाई मानौं। अब, जलवायु परिवर्तत र वातावरणीय असुरक्षाले सिर्जना गर्ने आन्तरिक, अन्तरदेशीय र क्षेत्रीय खतरालाई मूल्याङ्कन गरेर अर्काे ५० वर्षलाई धान्ने सुधारसहितको स्मार्ट संरक्षण प्रणाली तर्जुमा र अवलम्बन गरौं।

नयाँ विश्व परिवेशमा संसारको आँखा, ध्यान, शक्ति चीन–भारत केन्द्रित हुनेछ। हामी विश्व इन्टेलिजेन्स तथा ओभर्ट कोभर्ट अपरेसनको रडारभित्र पिल्सिनेछौं। निडर र स्वाभिमान राष्ट्रवादी राजनेता तथा दरो अडान लिने सेना भएन भने नेपाल विश्वको रणभूमि हुनेछ। प्रकृतिजन्य प्रकोप महाभूकम्प, विपद्हरु, हावापानी र खाद्य असुरक्षा, प्राकृतिक स्रोत बाँडफाँडका मुद्दा, जारी महामारी भावी खतराका नयाँ आयाम हुन्। अमेरिका, भारत, पाकिस्तान, बंगलादेश लगायतका मुलुकजस्तै नेपाली सेनाको सुरक्षा रणनीतिमा ‘वातावरणीय सुरक्षा’ ले प्राथमिकता पाउनुपर्दछ। ‘वातावरणीय सुरक्षा’ अरु सुरक्षा निकायहरुको समेत प्राथमिक सुरक्षा रणनीति हुनुपर्दछ।

वातावरणीय सुरक्षा हामीले ४ दशकदेखि गरिआएको काम हो। यसको दायरा र दृष्टिकोण हो वातावरणीय सुरक्षा। यो बृहत् अवधारणालाई थाती राखेर सिमसार संरक्षणका लागि तत्काल गर्न सकिने कामहरु बुँदागत रुपमा प्रस्तुत गर्दछु–

हिमाल सफाइको पवित्र अभियान जारी राख्दै हिमतालहरुको सर्भे, पहिचान, यकिन गर्ने र असुरक्षित हिमतालहरुको पन्चरिङ गर्न सहयोग गर्ने।

निकुञ्ज, ताल, ड्याम, नदीहरुको पहरा मात्र होइन अनुगमन, नियमन, सफाइ र सुधारको दायरा बढाउने।

काठमाडौं–निजगढ फास्ट ट्रयाकको तराई खण्डमा वन्यजन्तु सजिलै ओहोरदोहोर गर्ने सुरक्षित अन्डरपास बनाउने र दुईतर्फी चौडा हरियो जंगल बनाउन व्यापक वृक्षारोपण गर्ने। सडकको दुवैतर्फ डढेलो नियन्त्रण, वन्यजन्तु र वातावरणीय सन्तुलनका लागि ठूला सुन्दर पोखरी बनाइदिने।

चुरे संरक्षणका लागि निर्माण गरेर बुझाएका तालहरुको अनुगमन नियमन सफाइ सुधार र संवर्धनमा योगदान गर्ने।

ब्यारेकलाई जंगलमा रुपान्तरण गरी भित्र तल सिमसार, वरिपर र माथि हरियो जंगल बनाएर भवनहरुलाई अनिवार्य क्यामोफ्लाज गर्ने नीति अनुशरण गर्ने।

सैनिक विद्यालयहरु र राष्ट्रिय सेवादललाई जुनियर रेन्जर बनाउन पाठ्यसामग्रीसहित अतिरिक्त क्रियाकलापमा सहभागी गराउने।

एक ब्यारेक कम्तीमा एक ठूलो पोखरी अनिवार्य निर्माणको सिमसार नीति लिने। धेरै पोखरी बनाउनेलाई पुरस्कृत गर्ने।

निकुञ्ज आरक्षबाहिरका सिमसार संरक्षणमा आपसी समन्वयका आधारमा योगदान गर्न पहल गर्ने।

प्रकृति संरक्षण जिम्मेवारीमा परिचालन हुन छुट्टै म्यान्डेट र लिखित मौखिक आदेश जरुरत पर्दैन। सामान्य समन्वय काफी हुन्छ। प्रकृतिजन्य प्रकोप र महामारी व्यवस्थापन, नियन्त्रण, उद्धार, राहतमा फस्ट रेस्पोन्डर भएर विना विलम्ब हामफाल्ने नीतिको अभ्यास छँदैछ।

यो सुन्दर प्रावधान र पहलताको स्वतन्त्रता अपूर्व अवसर हो नेपाली सेना लगायत अन्य सुरक्षा निकायलाई प्रकृति संरक्षणमा जारी योगदान बढाउनका निमित्त। योगदानको दायरा फराकिलो पारेर प्रकृति र जनताको मन मश्तिष्क जित्नका लागि।

अन्त्यमा, स्वायत्त र शक्तिशाली स्थानीय सरकारले आ–आफ्नो  सिमसारको पहिचान र यकिन गरेर तिनको दिगो संरक्षण गरून्। बुद्धिमत्तापूर्ण उपयोगमार्फत समृद्धिको गन्तव्यसम्म पुग्ने रोडम्याप बनाउन पर्यापर्यटन विकास र प्रचारप्रसारका नाममा कंक्रिट पूर्वाधार निर्माण, फोहोरी वनभोज आयोजना, अनियन्त्रित उत्खनन् र दोहन जस्ता पर्यावरण–अमैत्री क्रियाकलाप रोकून्। त्यहाँको जैविक विविधता संरक्षण, पर्यावरणीय सन्तुलन कायम राख्दै सुन्दर शान्त हरित वातावरणले पर्यटक आकर्षण गर्ने मोडल अनुकरण गरून्।

पाइलापिच्छे भद्दा कंक्रिटका गेट र डाँडापिच्छे कंक्रिटका भ्यूटावर बनाउने घिनलाग्दो विकासभन्दा एक घर एक पोखरी र एक रुख, एक वडा एक ठूलो पोखरी र हरित पार्क जस्तो पर्यटन, कृषि, पर्यावरणीयमैत्री विकासे मोडल रोजून्। आआफ्नो क्षेत्रका पानीका मूलहरुको अनिवार्य रक्षा गर्ने प्राकृतिक र महत्त्वकांक्षी चट्टाने अडान लिऊन्। मातृभूमिको मुहार उपभोक्ता र स्थानीय सरकारले फेर्न सक्नेछन् नेताले होइन। सकारात्मक, कर्मशील, स्वाभिमानी, प्रकृतिप्रेमी जनताले बनाउन सक्नेछन् प्रकृतिको धनी देश नेपाललाई स्विट्जरल्यान्ड।

(लेखक नेपाली सेनाका पूर्व जर्नेल तथा पूर्व संरक्षणकर्मी हुन्।)

  • २२ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech