११ श्रावण २०८१, शुक्रबार

बालुवाटार बैठकमा एमालेको अडान– सभामुखले मार्गप्रशस्त गरेमात्रै खुल्छ संसद्
  • न्युज मानसराेवर

काठमाडौं\ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटाले मार्गप्रशस्त (राजीनामा) गरेमात्रै संसद्को अवरोध खुल्ने अडान राखेको छ। आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठमा एमालेले यस्तो अडान राखेको हो।

एमालेले कारबाही गरेका १४ जना सांसदलाई नहटाए सभामुखले राजीनामा दिनुपर्ने उसको अडान छ। आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचडसँगको छलफलमा सभामुखले निर्णय सच्याउनुपर्ने नभए मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेको एमालेका महासचिव शंकर पोखरेलले बताए। छलफलमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली र पोखरेल सहभागी थिए।

‘दलले कारबाही गरेकालाई राखेर संसद् चलाउने कुरामा हाम्रो असहमति छ। त्यो चिज नसच्याउने हो भने सभामुखले मार्गप्रशस्त गर्नुपर्छ,’ पोखरेलले भने। सदनमा प्रतिपक्षीको उपस्थिति गराउन सत्ता पक्षले पहल गर्नुपर्ने उनको भनाइ थियो।  माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको सूचना सभामुखले टाँस नगरेको भन्दै एमालेले सदन अवरोध गर्दै आएको छ।

  • २३ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech