काठमाडौं\ सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबार एकै चरणमा गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्को आज सोमबार बसेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको छ ।
निर्वाचन आयोगले भने स्थानीय निर्वाचन जेठ ४ गते गर्ने प्रस्ताव गरेको थियो। स्थानीय तह निर्वाचन ऐनको दफा ५५ मा जनप्रतिनिधिहरूलाई निर्वाचित भएको मितिको ७ औं दिनबाट नयाँ निर्वाचित सदस्य मानिने व्यवस्था छ। २०७९ साल जेठ ४ गते निर्वाचन गर्दा त्यसको ७ दिनपछि जेठ ११ गते मात्रै नयाँ पदाधिकारीले पदभार ग्रहण गर्न पाउने अवस्था थियो।
वैशाख ३० मा नै निर्वाचन हुने भएपछि जेठ ६ गते नै नयाँ पदाधिकारीले पदभार सुरु गर्न पाउने भएका छन्। २०७४ वैशाख ३१ मा भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीको पदावधि भने जेठ ५ गते सकिँदैछ।
उनीहरूको पदावधि सकिएको भोलिपल्ट नै नयाँ पदाधिकारीले कार्यभार सम्हाल्नका लागि वैशाख ३० गते निर्वाचन घोषणा गरिएको हो।