१२ श्रावण २०८१, शनिबार

कोहलपुरमा भ्युटावर निर्माणको काम ७० प्रतिशत पुरा
  • न्युज मानसराेवर

बाँके\बाँकेको कोहलपुरमा मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तले सुविधासम्पन्न भ्यूटावर निर्माणको निर्माण कार्य पूरा नभएपछि ६ महिना म्याद थप्ने तयारी भएको छ ।

नगरपालिकाले २०७८ माघ २५ गते सम्पन्न गर्नेगरी २०७६ माघ २९ गते जयभवानी निर्माण कम्पनीसँग निर्माणका लागि सम्झौता गरेको थियो । भोलीसम्म काम सम्पन्न हुनु पर्ने सम्झौता भएपनि कोभिडका कारण नसकिएको भन्दै थप ६ महिना म्याद थपको माग गरिएको कम्पनीका संचालक अर्जुन पनेरुले बताए ।

भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भएपनि अन्तिम फिनिसिङको काम सम्पन्न गर्नका लागि पहिलो पटक म्याद थपको अनुरोध गरिएको उनको भनाइ छ ।

अहिलेसम्म भ्यूटावरको काम ७० प्रतिशत पूरा भएको छ । काठमाण्डौको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा तीन बिघा क्षेत्रफलमा सुविधासम्पन्न भ्युटावर निर्माण भइरहेको हो ।

लिफ्टसहितको सुविधासम्पन्न सो भ्यूटावर कोहलपुरले गौरवको आयोजनाभित्र पारेर निर्माण थालेको हो । ५ करोड ८८ लाख रुपैयाँ लागतमा अत्याधुनिक भ्युटावर निर्माण भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए ।

कोहलपुरका प्रमुख लुटबहादुर रावतले भ्यूटावरले कोहलपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने बताए ।

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech