१२ असार २०८१, मंगलवार

के रेडियोको महत्त्व घटेकै हो?
  • नेत्र पी अधिकारी

१०-१५ वर्षअघिसम्म एफएम रेडियो खुल्ने सूचना पाउने बित्तिकै सयौंको संख्यामा आवेदन पर्थ्यो। व्यवस्थापनलाई व्यक्ति छनौट गर्न नै सकस हुन्थ्यो। २-४ सय जनालाई तालिम दिएर उत्कृष्ट व्यक्ति छनौट गरिन्थ्यो। छनौट हुने लोकसेवाको परीक्षामा उत्तीर्ण भएभन्दा पनि बढी खुसी हुन्थे।

एफएम रेडियोमा बोल्नेको त्यो बेला बेग्लै आकर्षण थियो। रेडियोमा आवाज सुन्नेहरू स्टेसनसम्म नै पुगेर उपहार दिने गर्थे। कार्यक्रमकै श्रोता क्लब गठन गरिन्थ्यो। एफएम रेडियोको आकर्षण बढेकै कारण पछिल्लो डेढ दशकमा रेडियो सञ्चालकहरूको तीव्र प्रतिस्पर्धा चल्यो। एउटै सहरमा आधा दर्जनको संख्यामा रेडियो स्टेसन स्थापना गरिए। एउटा रेडियो स्टेसन हुँदा जति महत्त्व थियो। बिस्तारै रेडियोको संख्या बढेसँगै यो घट्न थाल्यो। बजारमा अस्वस्थ प्रतिस्पर्धाका कारण रेडियोहरू कमजोर बन्दै गए।

सरल, सबै क्षेत्र, वर्गको पहुँचमा पुग्ने सञ्चार माध्यम रेडियो, १०-१५ वर्षको अघिको तुलनामा पछिल्लो समय आकर्षण घट्दै गएको छ। रेडियोले कार्यक्रम प्रस्तोता, समाचार वाचकका लागि आवेदन माग्दा पनि कोही नजाने अवस्था छ। आवश्यक जनशक्ति खोज्दा नपाउने अवस्थामा रेडियो स्टेसनहरू पुगेका छन्। कार्यक्रम प्रस्तोता नपाएकै कारण रेडियोहरूले कार्यक्रम घटाएका छन्। समाचार बुलेटिन हटाएका छन्। कतिपय रेडियोहरू नाम मात्रैको भएका छन्। कहिले खुल्छन्। कहिले बन्द हुन्छन्। न कुनै श्रोताले किन बन्द गरिस् भन्छन् न किन आज रेडियो बन्द भयो भनेर स्टेसनमा फोन नै आउँछ। मन लागे खोल्ने, मन नलागे बन्द गर्ने अवस्थामा रेडियो पुगेका छन्।

आवश्यक जनशक्ति नपाउँदा अर्काको स्टेसनले उत्पादन गरेको कार्यक्रम, समाचारहरू ‘हुक’ गरेर समय कटाउनु पर्ने स्थितिमा रेडियोहरू पुगेका छन्। जनशक्ति घट्दै जाने र थप परिपूर्ति हुन नसक्ने स्थितिले रेडियो सञ्चालक नै  बन्द गर्ने की सञ्चालन गर्ने भन्ने मनस्थितिमा पुगेका छन्। बिस्तारै रेडियो बन्द हुने क्रम पनि सुरु भइसकेको छ।

किन घट्यो आकर्षण ?

जतिवेला रेडियोप्रति आकर्षण थियो। त्यो समयमा कमै पारिश्रमिकमा पनि काम गर्न प्रस्तोताहरू राजी हुन्थे। उनीहरूलाई बोल्न पाए मात्रै पनि पुग्थ्यो। पारिश्रमिक प्रति उनीहरूले चासो राखेनन्। स्टेसनले जति दियो, त्यतिमै रमाए। बिस्तारै आवश्यकताहरू बढ्दै गयो। प्रस्तोताले व्यवस्थापन समक्ष पारिश्रमिक माग गर्न थाले। सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक माग गर्दा पनि नपाउने अवस्थामा उनीहरू पुगे। पारिश्रमिकले नपुग्ने, समयमा प्राप्त नहुने, समयमा पारिश्रमिक नपाएपछि रेडियोलाई कम महत्त्व दिने, अन्य पेसा तिर लाग्ने थाले। उनीहरूका लागि रेडियोको काम आंशिक बन्दै गयो। बिस्तारै भ्याउँदा आउने र छोड्दै जाने क्रम बढेको छ।

सुरुका दिनमा व्यवस्थापनले जनशक्ति जति पनि पाइन्छ भन्नेमा लागे। बिस्तारै अनुभवीहरू जाने। नयाँ आउने क्रम बढ्न थाल्यो। सुरुका समयमा आउने जनशक्ति तालिम लिएर आउँथ्यो। पछि आउनेहरू रहरले आउन थाले। एक–दुई पटक बोल्ने। एक–दुई वर्ष काम गर्ने राम्रो अवसर पाए अर्कै रेडियो नभए अरू तिर जागिर खान जान थाले।

यसरी जनशक्तिको आउजाउ बढ्दै गयो। तर, व्यवस्थापनले कहिल्यै पनि पछि मलाई समस्या हुन्छ। भएको जनशक्तिलाई कसरी रोक्ने भनेर कहिल्यै सोचेनन्। सोचेकाहरूले पनि उचित पारिश्रमिक दिन सकेनन्। नत उनीहरूको सेवा सुविधा दिन तिर नै व्यवस्थापनको ध्यान पुगो। यसले गर्दा बिस्तारै रेडियोबाट जनशक्ति बाहिरिने क्रम बढ्दै गइरहेको छ। पछिल्लो समय रेडियोमा प्रवेश गर्नेहरू विना तालिम/प्रशिक्षण आए र आइरहेका छन्। पछिल्लो पुस्ताले रेडियोलाई सामान्य बनाउँदै लगे।

सजिलै प्रवेश पाइने रहेछ भन्ने उनीहरूको सोच भयो। नत अध्ययन गरेर कार्यक्रम सञ्चालन गरे। नत भाषामा ध्यान दिए। स्टुडियोमा प्रवेश गर्‍यो। हेल्लो हाई भन्यो। फोन इन कार्यक्रममा गफ गर्‍यो समय बितायो। अध्ययन गरेर कार्यक्रम आउन सकेनन्। आम श्रोताको चाहना के हो? रेडियोले बुझ्न सकेन। स्थानीयतालाई बेवास्ता गरियो। स्थानीय गतिविधिहरू घर आँगनको रेडियोको प्राथमिकता भित्र पर्न छाड्यो। जसका कारण रेडियोलाई भरपर्दो र विश्वसनीय सूचनाको माध्यमका रूपमा लिने वर्गहरूको रोजाइमा रेडियो पर्न छाडेको छ। श्रोताका प्रतिक्रिया, कार्यक्रममा पत्र, इमेल, फोन आउन छाडेपछि प्रस्तोता पनि बिस्तारै पलायन हुने क्रम बढेको छ।

सृजनशीलता भन्दा बढी नक्कल 

रेडियोका प्रस्तोताहरूले नयाँपन दिन सकेनन्। एउटै कार्यक्रमको नक्कल धेरै भए। चलेका कार्यक्रम सबैले कपि गर्ने परिपाटी निरन्तर चल्यो। र, अहिले पनि चलिरहेको छ। नयाँ के दिने भन्ने अध्ययन नै हुन सकेन।

अहिले रेडियो स्टेसनहरू जति कार्यक्रम, समाचारहरू प्रसारण हुन्छन्। ती हरेकका स्थापना काल देखि नै निरन्तर छन्। त्यसको न रि–डियाइन गरिएको छ न विषयवस्तुहरू परिवर्तन नै। पुरानै शैली निरन्तर छ। समयको माग अनुसार श्रोताको ध्यान रेडियोले खिच्न सकेन।

अव  के गर्ने?

एउटा जिल्लामा कम्तीमा आधा दर्जन रेडियो स्टेसनहरू छन्। स्टेसनहरूमा जनशक्तिको व्यापक अभाव छ। भनेको जनशक्ति पाइँदैन। पाइएको जनशक्तिले खोजे अनुसारको पारिश्रमिक पनि दिन नसक्ने अवस्थामा रेडियोहरू पुगेका छन्। सञ्चालकहरू अहिले नै रेडियोको विकल्पमा पनि गइनसकेको अवस्था पनि छ। यसले गर्दा रेडियोहरू पनि अव मर्जरमा जानु पर्ने अवस्था देखिएको छ। यसले रेडियोलाई दिगोपना दिन सक्ने देखिन्छ। भएका लगानी खेर फाल्ने भन्दा पनि एकै स्थानमा रहेका रेडियोहरूको पुँजीलाई एकीकृत गर्ने र स्टेसन सञ्चालन गर्नुपर्ने अवस्था देखिएको छ। भएका जनशक्तिलाई राखी सेवा सुविधा वृद्धि गर्ने र नयाँ जनशक्तिलाई तालिम प्रशिक्षण दिएर आकर्षक सुविधा सहित राख्ने सकेमात्रै रेडियोहरूको भविष्य देखिन्छ। अन्यथा बिस्तारै रेडियो स्टेसनहरू बन्द गर्नु पर्ने स्थितिमा एक दिन पुग्ने निश्चित छ।

रेडियोले कार्यक्रम, समाचारहरू मात्रै प्रसारण गर्ने भन्दा पनि प्रत्यक्ष रूपमा समाजसँग पनि अव जोडिनुपर्छ। श्रोताको चाहना के हो? यसको पनि अध्ययन जरुरी छ। परम्परागत भन्दा पनि आम श्रोताले अहिले के खोजी रहेका छन्। के चाहेका छन्। यसमा पनि व्यवस्थापन पक्षको ध्यान जान जरुरी छ। रेडियो–रेडियोबीचको अस्वस्थ प्रतिस्पर्धा हट्नुपर्छ। बजारमा देखिने अस्वस्थ प्रतिस्पर्धाका कारण रेडियोहरू आफैँ कमजोर बन्दै गएका छन्। रेडियोको संस्थागत विकासका लागि प्रदेश र स्थानीय सरकारको प्राथमिकता भित्र रेडियो पनि पर्नु पर्छ।

  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech