१२ श्रावण २०८१, शनिबार

अस्पताल निर्माण शुरू
  • न्युज मानसराेवर

बाँके । बाँकेको जानकी गाउँपालिकाले १५ शøयाको आधारभूत अस्पताल निर्माण शुरू गरेको छ । जानकी–४ खजुराखुर्दमा अस्पतालको भवन निर्माण शुरू गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए । मधेसी र मुस्लिम समुदायका नागरिकको बाहुल्य रहेको गाउँपालिकामा जनतालाई पायक पर्ने स्थानमा स्वास्थ्य सेवा लिन पाउने अधिकारको सुनिश्चितताका लागि अस्पताल निर्माण गर्न लागिएको उनले बताए ।

हरेक नागरिकलाई सुलभ र निःशुल्क स्वास्थ्य सेवा दिनु स्थानीय र संघीय सरकारको कर्तव्य भएकाले अस्पताल निर्माण गरिएको जानकारी दिँदै उनले अस्पतालबाट नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने आफूले विश्वास लिएको बताए । दुई वर्षमा १५शैयाको आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने गरी यही माघ २३ गते निर्माण कम्पनीसँग सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए । उक्त अस्पताल निर्माणको जिम्मा भरतपुर चितवनको हिम सगरमाथा/अनक जेभीले पाएको छ ।

उनका अनुसार अस्पताल निर्माणका लागि गाउँपालिकाले १७ करोड ५४ लाखमा बोलपत्र खोलेकोमा सो निर्माण कम्पनीले करसहित ११ करोड ४४ लाखमा बोलपत्र पाएको हो । निर्माण कम्पनीका इन्जिनियर सुनील पोखरेलले सम्झौता समयावधिभन्दा अगावै निर्माण सम्पन्न गरिने बताए । अस्पताल निर्माण भएसँगै जानकी गाउँपालिकावासी स्वास्थ्य सेवा लिन बाहिर जानु नपर्ने गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक दलबहादुर रानाले बताए । प्राथमिक स्वास्थ्य उपचारका लागि अहिले गाउँपालिकाका ६ ओटै वडामा स्वास्थ्य चौकी सञ्चालनमा रहे पनि थप उपचारका लागि नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । रासस

  • २ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech