३० बैशाख २०८१, आईतवार

नेपालमा पनि ‘डेल्टाक्रोन’ फैलिने जोखिम, खोपले काम गर्ने-नगर्नेबारे अध्ययन हुँदै
  • न्युज मानसराेवर

काठमाडौँ\गत मार्च ९ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले वैज्ञानिकहरुले कोरोनाको हाइब्रिड भेरियन्ट ‘डेल्टाक्रोन’ पत्ता लगाएको घोषणा गर्‍यो। २०२२ को जनवरीमा फ्रान्समा पहिलोपटक भेटिएको डेल्टाक्रोन त्यसयता अमेरिका, बेल्जियम, डेनमार्क, जर्मनी, नेदरल्यान्ड, हङकङ, सिंगापुर, चीन लगायतका देशमा फेला परिसकेको छ। दक्षिण पूर्वी एसियामा डेल्टाक्रोन भेरियन्टको संक्रमण बढ्न थालेको छ।

डेल्टा र ओमिक्रोन भेरियन्टको संयुक्त रुप भएकाले यसलाई हाइब्रिड ‘डेल्टाक्रोन’ भनिएको छ। विश्व स्वास्थ्य संगठनले डेल्टाक्रोन भेरियन्ट AY.4 and BA.1 नाम दिएको छ। वैज्ञानिकहरुले यो भेरियन्ट कत्तिको घातक वा संक्रामक छ भन्‍ने अध्ययन गरिरहेका छन्। हालसम्म भएका अध्ययनहरुले  यो भेरियन्ट त्यति घातक नदेखिएको विज्ञहरु बताउँछन्।

विश्व स्वास्थ्य संगठनले पनि हालसम्मका लागि यो भेरियन्ट त्यति चिन्ताको विषयमा नभएको जनाएको छ। डेल्टाक्रोन विभिन्‍न देशमा फैलिन थालेसँगै नेपालमा पनि यसको असरबारे बहस हुन थालेको छ। हालसम्म नेपालमा डेल्टाक्रोन पुष्टि भइसकेको छैन। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार हालसम्म नेपालमा डेल्टाक्रोन भेरियन्ट पुष्टि भएको छैन। ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा जिन सिक्‍वेन्सिङ गरेको छ, तर हालसम्म डेल्टाक्रोन पुष्टि भएको छैन,’ गुप्ताले भने। गुप्ता भन्छन्, ‘हामीले नियमित रुपमा जिन सिक्वेन्सिङको काम गरिरहेका छौं, तर अहिलेसम्म डेल्टाक्रोन पुष्टि भएको छैन।’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘भाइरसहरु पूर्णरुपमा निर्मुल नभएसम्म जुन-जून भाइरहसरु पनि मिक्सअप हुन सक्छन्। जब दुई भाइरसहरु मिक्सअप हुन्छ, त्यसपछि फेरि नयाँ भेरियन्टको जन्म हुन्छ। यतिबेला डेल्टा र ओमिक्रोन मिक्सअप भएर डेल्टाक्रोन देखिएको छ। हाल विश्वका विभिन्‍न देशमा डेल्टाक्रोन पुष्टि भएको छ। अब नेपालमा जुनसुकै बेलामा पनि डेल्टाक्रोन पुष्टि हुन सक्छ। तर यसले कत्तिको असर गर्छ भन्ने कुराहरु अध्ययनकै क्रममा छन्, अध्ययनहरूले डेल्टाक्रोन घातक र डरलाग्दो देखाएको छैन। त्यसैले कत्तिको घातक हुन सक्छ भन्‍न सकिँदैन।’

यो भेरिअन्ट कत्तिको संक्रामक छ? यसअघिका खोपको प्रभावकारिता यस भेरियन्टमा कत्तिको पर्छ भन्‍ने यकिन नभएको उनी बताउँछन्। तर, डेल्टाक्रोनले धेरै गम्भीर असर नगर्ने अनुमान डा. पुनको छ।

यो डेल्टा र ओमिक्रोन मिलेर बनेको हाइब्रिड भेरियन्ट हो। यस भेरियन्टमा एउटै व्यक्ति दुवै भेरियन्टबाट संक्रमित हुन पनि सक्छ। पुन भन्छन्, ‘यो भेरियन्ट धेरै घातक नहोला। किनकी डेल्टा र ओमिक्रोन दुवै भेरियन्टसँग हामीले फेस गरिसकेका छौं। ओमिक्रोन र डेल्टा भेरियन्टको संक्रमणमा परिसकेकालाई पनि डेल्टाक्रोन संक्रमण नहुने भन्‍ने होइन, तर हामीले दुबै भेरियन्ट फेस गरिसकेकाले डेल्टाक्रोनले धेरै असर गर्दैनकी भन्‍ने अनुमान हो। हालसम्म डेल्टाक्रोन पुष्टि भएका मानिसहरुमा नयाँ लक्षणहरु देखिएका छैनन्। त्यसैले यसको गम्भीर असर नहोला। यसको स्वरुपमा केही फरकपन त होला। तर गम्भीर असर नगर्ला भन्‍ने मेरो अनुमान छ। जसरी पहिलो र दोस्रो लहरमा स्वास्थ्य प्रणालीलाई नै असर गर्नेगरी कोरोना फैलियो त्यसरी अब संक्रमण फैलिने सम्भावना देखिँदैन। तत्कालका लागि गम्भीर अवस्था आउला जस्तो लाग्दैन। तर अध्ययनहरु बाँकी भएकाले अहिले नै केही भन्‍नसक्ने अवस्था छैन।’

खोपले कति काम गर्छ वा यसले गम्भीर खालका लक्षण ल्याउँछ कि ल्याउँदैन भन्‍ने कुरामा विज्ञहरु नै स्पष्ट भइसकेका छैनन्। तर दीर्घरोगी वा खोप नलागएकामा भने घातक देखिन पनि सक्ने डा. पुन बताउँछन्। ‘हालसम्म यसको संक्रमण निकै कम देखिएको छ। एक साता अगाडीको अध्ययनलाई हेर्दा डेल्टा वा ओमिक्रोनभन्दा धेरै संक्रामक नदेखिएको प्रारम्भिक संकेत देखिएको छ। अध्ययनकर्ताका अनुसार हालसम्म यो हाइब्रिड भेरियन्ट डेल्टा र ओमिक्रोनभन्दा बढी संक्रामक भएको कुनै प्रमाण भेटिएको छैन,’ डा. पुनले भने।

तर, अन्य देशहरुमा यो भेरियन्टपश्चात कोरोना संक्रमण उकालो लागिरहेको समयमा नेपालमा पनि सर्तकता अपनाउनुपर्ने उनी बताउँछन्। संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाका पनि डेल्टाक्रोनबारे धेरै अध्ययनहरु बाँकी रहेको बताउँछन्। उनी भन्छन्, ‘पहिला नै डेल्टा र ओमिक्रोन भइसकेकालाई यो भेरियन्टले धेरै असर नगरेको हो की भन्‍ने देखिन्छ, तर संक्रमण भने बढाउन सक्छ।’

तर, भारतमा डेल्टाक्रोन फैलिएमा त्यसको प्रतक्ष असर नेपालमा देखिने विज्ञहरु बताउँछन्। अघिल्ला भेरियन्टहरुको समयमा भारतको शैलीमा नै नेपालमा कोरोना संक्रमणको अवस्था देखिएको थियो, अबको अवस्था पनि त्यहि नै हो। भारतको खुला सिमानाले गर्दा आवतजावतलाई हामी रोक्न पनि सक्दैनौं, त्यसैले भारतको ट्रेण्डले नेपाललाई प्रत्यक्ष असर पार्ने विज्ञहरु बताउँछन्।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि डेल्टाक्रोनको जोखिम रहेको जनाएको छ। जोखिम कायमै भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न  मन्त्रालयको आग्रह छ।

त्यस्तै स्थानीय निर्वाचन नजिकिएसँगै कोरोनाको जोखिम बढ्न सक्ने विज्ञहरुले बताएका छन्। अहिले नेपालमा फेरि भिडभाड बढ्न थालेको छ। नयाँ भेरियन्टको जोखिम बढिरहेका बेला स्थानीय चुनावका कारण हुने भिडभाडले झनै जोखिम बढाउनेमा विज्ञहरुको चिन्ता छ। यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै चुनाव गर्न आग्रह गरेका छन्। साथै मन्त्रालयले निर्वाचन आयोगसँग पनि छलफल गरेको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारीको अन्त्य हुन अझै धेरै समय लाग्‍ने जनाएको छ। त्यसैले कोभिडविरुद्धको खोप लगाउन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न जोड दिएको छ।

  • ८ चैत्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech