१ जेष्ठ २०८१, मंगलवार

स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय
  • न्युज मानसराेवर

बाँके\प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आशन्न स्थानीय निर्वाचनमा स्थानीय आवश्यकताअनुसार गठबन्धनमा रहेका राजनीतिक दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा शुक्रबारदेखि जारी केन्द्रीय समितिको बैठकले सर्वसम्मत रुपमा तालमेलको निर्णय गरेको नेता रामचन्द्र पौडेलले जानकारी दिए।

‘स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनसँग तालमेल गरेर जाने निर्णय पार्टी केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत गरेको छ। तालमेलको निर्णयपछि अब त्यसका विधि र प्रक्रियाहरु निर्माणका लागि आवश्यक छलफल अघि बढाउँछौं,’ बैठकपछि पौडेलले भने।

मंगलबार केन्द्रीय समिति बैठक बस्नुअघि ​उपसभापति पूर्णबहादुर खड्काको कार्यकक्षमा बसेको पदाधिकारी बैठकले स्थानीय आवश्यकताका आधारमा तालमेलको निर्णय गर्ने गरी ड्राफ्ट तयार पारेको थियो। ​स्थानीय तहको निर्वाचनमा सम्बन्धित पालिकाहरुको आवश्यकताअनुसार तालमेल गर्ने गरी निर्णय गर्ने प्रस्ताव बैठकमा पेश भएको थियो।​

पार्टीका पालिका कमिटीहरुले त्यहाँको राजनीतिक समीकरण र अन्य पार्टीको प्रभाव हेरेर त्यही अनुसार चुनावी तालमेलको निर्णय लिन सक्ने अधिकार कांग्रेसले दिएको छ।

संविधान निर्माण, कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा नेपाली कांग्रेसले प्रस्तुत गरेको सफल नेतृत्व, देश विकास र समृद्धिको यात्रामा प्रस्तुत गरिरहेको जिम्मेवार शैली, कोरोना महामारीबाट जनताको जीवन रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गरेको कांग्रेसको ठहर छ।

संयमित र समन्वयकारी राजनीतिक व्यवहार तथा पार्टीले नेतृत्व गरिरहेको स्थानीय तहमा जनमुखी र प्रभावकारी कामका कारण आसन्न स्थानीय चुनावमा बहुसंख्यक स्थानीय तहमा बलियो आधार र परिस्थिति निर्माण भइसकेको समेत बैठकले निष्कर्ष निकालेको छ।
केन्द्रीय समिति बैठकमा संस्थापन इतर समूहका नेताहरु चुनावी तालमेलको विपक्षमा थिए। नेताहरु शेखर कोइराला, गगन थापा, धनराज गुरुङसहितले तालमेलको विपक्षमा आफ्ना कुरा राखेका थिए।
सभापति शेरबहादुर देउवासहित अधिकांश संस्थापन पक्षीय नेताहरुले भने एमालेलाई साइजमा राख्न पनि तालमेल जरुरी रहेको बताएका थिए। सभापति देउवाले तालमेल नगर्ने हो भने सबै नेताहरु हार्ने बताएका थिए। उनले एमाले अझै बलियो रहेको भन्दै तालमेलको विकल्प नरहेको कुरा बैठकमा राखेका थिए।
अनुशासन समित र संसदीय समिति भने गठन नभएको र प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा भारत भ्रमणबाट फर्केपछि गठन हुने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी, चित्रलेखा यादव पछि नहट्ने देखिएपछि संसदीय समिति बन्न नसकेको हो। एक केन्द्रीय सदस्यका अनुसार  एनपी साउद, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की नअट्ने भएपछि समिति गठनको निर्णय हुने सकेन।
बैठकले पार्टी उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ। त्यस्तै डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ।

  • १५ चैत्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech