८ जेष्ठ २०७९, आईतवार

आर्थिक पत्रकारिता जगतले सिक्नपर्ने पाठ
  • न्युज मानसराेवर

नेपालमा आर्थिक पत्रकारिताको वर्तमान अवस्थाको कुरा गर्ने हो भने त्यो विवरणात्मक, सूचनामूलक, परिचायक र केही तथ्यांकमूलक किसिमको देखिन्छ । खासगरेर यो क्षेत्रमा अनुसन्धानपरक र खोजमूलक सामग्रीहरूको उजागरको अभाव छ । यदाकदा त्यस खाले सामग्री कुनै आर्थिक क्षेत्रका पत्रपत्रिकाले प्रकाशन गरि नै हाले भने पनि तिनको निरन्तरता वा दह्रो अनुगमन पाइन्न ।

मूलत: यस क्षेत्रमा त्यस खाले सामग्रीका लागि भरोसायोग्य स्रोतको अभाव छ । विश्लेषण गरेर सामग्री प्रकाशन गर्नेमा भन्दा पनि तिनको सतही विवेचन मात्र आउने हुँदा तिनका आन्तर्य भने छोपिएका हुन्छन् । आर्थिक जगत्मा हुने कतिपय नीतिगत भ्रष्टाचारहरूका बारेमा यस क्षेत्रका पत्रकार जगत् नै भुमरीमा परेका देखिन्छन् । कतिपय नीतिगत हेराफेरीका कुराहरू हत्तपत्त बाहिर आँउदैनन् । नीतिगत तहमा बस्नेहरूको नियत नै खराब भएपछि यस खाले भ्रष्टाचारिताले प्रश्रय पाउने हो । यस्ता कुराहरूमा अबको आर्थिक पत्रकारिताले केही मेहनत गर्न सक्ने हो भने आम नागरिकमा सूचना प्रवाहको आयतन त बढ्छ नै, आर्थिक पत्रकारिताको स्तरले पनि छलाङ मार्छ ।

यस्ता कार्यकलापहरू कुनै अँध्यारो सुरुङमा बुनिएका हुन्छन् भने नीति बनाउने माथिल्लो तह (जस्तै : बजेट वक्तव्य आदि ) मा बस्नेहरूलाई प्रभावमा पारी वा त्यसमा संलग्न हुनेहरूकै नियत प्रभावी हुँदा नीतिगत भ्रष्टाचारहरूले बीजांकुरण हुने मौका पाउँछ । साधारण नागरिकले यसको मेसोसम्म पाउन्नन् । केही सीमित व्यक्ति, वा समूहहरूलाई मात्र लाभ पुग्नेगरी आएका वा आउने नीतिहरूकै कारण भित्रभित्रै अथाह भ्रष्टाचारले प्रश्रय पाएको हुन्छ । विगतमा बिजुलीबाट चल्ने गाडी आयातमा गरिएको नीतिगत चलचेल वा चकलेट आयातमा दिइएको भन्सार छुट, इन्भर्टर र ब्याट्री आयात बढाउन लोडसेडिङलाई प्रोत्साहित गर्ने खालका नीतिहरू वा हालसालै चर्चामा रहेको सुपारी आदि वस्तुहरूको आयात खुकुलो गर्नेजस्ता नीतिगत विषयहरूलाई उदाहरणमा लिन सकिन्छ । कतिपयले नीतिगत फेरबदलका सूचनाहरू चुहाएर पनि त्यस खाले भ्रष्टाचारितालाई प्रश्रय दिएका हुन्छन् । नीतिगत तहमा बस्नेहरूको नियत जबसम्म असल हुँदैन त्यस्तो भ्रष्टाचारिताको नामेट असम्भवप्राय: हुन्छ । यस्ता विषयहरूमाथि पनि आर्थिक पत्रकारिता क्षेत्रको ध्यान गइरहनु जरुरी छ ।

विगतमा सञ्चार जगत्मा सनसनी मच्चाउने गरी आर्थिक क्षेत्रमा सार्वजनिक भएका कुनै बैंकिङ प्रकरणहरू होऊन् वा भ्याटछलीका प्रकरणहरू हुन् वा प्रतीतपत्र र सुनकाण्डकै प्रकरणहरू नै किन नहोऊन्, केही पत्रिकाले तिनका समाचार बाहिर ल्याएका हुन् । तर, पछि तिनको निरन्तर अनुगमन, जगजाहेरी र खबरदारी भने गर्न सकेको देखिएन । त्यस्ता सामग्रीहरूको मूल स्रोत सरकारकै निकाय भएकाले पनि निजी क्षेत्रका आर्थिक पत्रकारहरूको तीमाथिको पहुँच सहज नभएको हुन सक्छ । यो तीतो सत्य हो ।

यसका लागि पत्रकारिता जगत्को जिम्मेवारीबोधलाई तत्तत् निकायहरूको सम्पूर्ण सहयोग नरहेसम्म खोजपूर्ण र अनुसन्धानमूलक आर्थिक पत्रकारिता फस्टाउन सकोइन । नेपालका आर्थिक पत्रकारितामा लागेका वा लाग्ने पत्रपत्रिकाहरूले यस कुरामा ध्यान पुर्‍याउने हो र तिनको मेहनतलाई सरोकारीहरूले पनि सहयोग गर्ने हो भने आर्थिक पत्रकारिताले पनि अन्य समाचारमूलक पत्रकारिताले जस्तै बलियो जग बसाउन सक्छ । तर, आर्थिक पत्रकारहरूका लागि ती सामग्रीको भित्री जालोसम्म पहुँचको सुविधा नभए तिनको वास्तविकतासम्म पुग्न कठिन हुन्छ । यस खाले सामग्रीको खोजी र अनुसन्धानमा जोखिम पनि उच्च रहने भएकाले हत्तपत्त पत्रकारहरूमा त्यस्तो जोखिम मोलिहाल्न नचाहने प्रवृत्ति पनि हुन्छ ।  पत्रकारिता जोखिमकै व्यवसाय भएकाले त्यसमा लाग्नेहरूले यसलाई त्यसैको एक अभिन्न अंग बनाउन सक्नु पर्छ ।

पत्रकारिता भनेको जोखिमकै पेशा हो । जोखिम लिन नसकेर पनि यो क्षेत्रमा उजागर हुनुपर्ने कुराहरू बाहिर आउन सकिरहेका छैनन् । अर्को कुरा, आर्थिक पत्रकारिता भनेको एक खाले विषयविज्ञता आवश्यक पर्ने क्षेत्र पनि हो । आर्थिक गतिविधि बुझ्नका लागि कम से कम अर्थतन्त्रका भेरिएबल्स र सूचकांकहरूबारे जानकारी राख्नुपर्छ । यस्तै, अर्थशास्त्र लगायत वाणिज्य विषय, बैंकिङ र वित्तीय क्षेत्रकै पनि केही ज्ञान हुनै पर्छ । तिनमा सामान्य समाचार पत्रकारिताको ज्ञानले मात्र पुगोइन । उदाहरणका लागि देशमा कुनै बैंकमा प्रतीतपत्र घोटाला भएछ । त्यसका बारेमा आर्थिक पत्रकारितामार्फत आम नागरिकको चासो सम्बोधन गर्नका लागि त्यस्तो पत्रकारिता गर्ने पत्रकारमा कम से कम प्रतीतपत्रबारे जानकारी हुन आवश्यक छ । अझ, त्यसका यावत् प्रक्रियाकै बारेमा भित्री तहसम्म जानिफकार पनि हुनुपर्छ ।

अहिले नेपालको वित्तीय कारोबार डिजिटल युगमा प्रवेश गरेको छ र यसबाट साइबर अपराधको जोखिम पनि उच्च देखिएको छ । सम्पत्ति शुद्धीकरण घटनाका जोखिम पनि बढ्दो छ । विप्रेषणमार्फत कालो धन सेतो गर्ने क्रमको जोखिम पनि अहिले बढ्न थालेको छ । करछली वा भ्याटछली त सामान्य जस्तै देखिन थालेको छ । आर्थिक क्षेत्रमा नीतिगत तहमा बस्नेहरूले कहिलेकाहीँ नीतिगत भ्रष्टाचार गरेका सामाचार बाहिर आउने गरेका भए पनि र ती भ्रष्टाचार कतै नदेखिने किसिमको हुन्छ । खासमा त्यस्तो भ्रष्टाचार भनेको के हो ? र कसरी हुने गर्छ ? त्यसबाट को को के कसरी लाभान्वित भए ? आम उपभोक्ता, नागरिक, देशलाई त्यसले के कस्तो असर गरेको छ ? भन्नेजस्ता खोज आर्थिक पत्रकारिताले बाहिर ल्याउन सकेको खण्डमा आर्थिक पत्रकारिताको गरिमा बढ्ने निश्चित छ ।

पूर्ण रूपमा आर्थिक क्षेत्रमै समर्पित यो क्षेत्रमा खासै धेरै पत्रिका छैनन् । दैनिकको रूपमा दुई वटा आर्थिक पत्रिकाहरू छन् : आर्थिक अभियान र कारोबार । ती पत्रिकाहरू विगत एघार वर्षदेखि निरन्तर प्रकाशनमा छन् । आर्थिक अभियान ( पहिले आजको अभियान नाममा २०६२ मा साप्ताहिक र पछि आर्थिक अभियान ) २०६७ देखि दैनिक रूपमा प्रकाशन हुँदै आएको छ । तीबाहेक केही साप्ताहिक रूपमा र अन्य दैनिक समाचार पत्रहरू समेतले अर्थतन्त्रका विविध पक्षलाई लिएर केही पृष्ठ यो क्षेत्रमा समर्पण गर्ने गरेको देखिन्छ ।

कान्तिपुर, अन्नपूर्ण पोष्ट, गोरखापत्र, राइजिङ नेपाल (अंग्रेजी), हिमालयन टाइम्स (अंग्रेजी) आदिले आर्थिक विषयलाई समेत पत्रकारिताको क्षेत्र बनाउँदै आएका देखिन्छन् । आंशिक नै सही आर्थिक पत्रकारितालाई उजागर गर्ने क्रममा यी पत्रिकाहरूको योगदानको पनि प्रशंसा गर्नुपर्छ । दैनिक रूपले प्रकाशन हुँदै आएका माथिका दुई पत्रिका, समग्रमा भन्नु पर्दा, नेपालको आर्थिक पत्रकारितालाई प्रतिनिधित्व गर्ने अभियानमा अगाडि छन् । तथापि तिनले खोजपरक पत्रकारितालाई भने बढाउन सकेका देखिन्नन् । तिनका सामग्रीमध्ध्ये लेख रचना वा फिचर आर्टिकल र शेयर बजारका गतिविधि सम्बन्धित सामग्रीहरू भने उल्लेखनीय छन् ।

केही वर्ष पहिलेसम्म यस क्षेत्रमा दैनिक पत्रिका सञ्चालन हुन सक्ने अवस्थाको परिकल्पना पनि थिएन । अर्थात् आर्थिक पत्रकारिताको पनि भविष्य होला र ? भन्ने थियो । तर, अहिले यो क्षेत्रमा कमसेकम दुईवटा दैनिक पत्रिका प्रकाशन भइरहेका छन् ।  केही साप्ताहिक पनि छन् । त्यसका अतिरिक्त प्राय: सबै दैनिक पत्रिकाले आर्थिक पत्रकारितालाई केही पृष्ठ खर्चिएका छन् ।

यो भनेको आर्थिक पत्रकारिताले महत्त्व पाउँदै जानु हो । यो क्षेत्रमा अहिले पत्रकारहरूको जमातका साथै तिनका थुप्रै संस्थाहरू पनि स्थापना भइसकेका छन् । यस कोणबाट हेर्दा आर्थिक पत्रकारिताको जग बसेको भन्न सकिन्छ । आर्थिक तथा वित्तीय क्षेत्रहरू चलायमान हुँदै जाँदा आमनागरिकमा पनि ती ती क्षेत्रको सरोकार बढ्दै जाने हुन्छ । अन्य समाचारहरूमा जस्तै आर्थिक गतिविधिसित पनि नागरिकको चासो बढ्नु आर्थिक पत्रकारिताकै उज्ज्वल भविष्यको संकेत पनि हो ।

आर्थिक पत्रकारिताले आर्थिक गतिविधिका कारोबार तथा घटनाहरू, आर्थिक र वित्तीय क्षेत्रका चलखेल, घोटाला, वित्तीय अपराध, बैंकिङ कसूर लगायतका क्षेत्रमा जरैसम्म्म पसेर सार्वजनिक जानकारीमा ल्याउने र त्यसलाई बढी तथ्यपरक खोजमा आधारित रहेर  अनुसन्धानमूलक बनाउने सके यो क्षेत्रको ओज अरू बढ्न सक्ने सम्भावना छ । अब त्यस्तो जोखिम लिन सक्ने आँट भने यो क्षेत्रमा लाग्ने पत्रकारहरूकै हो ।प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

  • २० बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech