६ चैत्र २०८०, मंगलवार

चुनाव लडेका चार दाजुभाइको कथाः तीन विजयी, एक पराजित
  • न्युज मानसराेवर

बाँके\ रुम्दाली परिवार स्थानीय तहको निर्वाचन छाएको छ। ओखलढुंगादेखि धनकुटासम्म जित निकालेपछि रुम्दाली परिवारको चर्चा बढेको हो। एकै परिवारका चार दाजुभाई यसपटक उम्मेदवार बनेका थिए। जसमध्ये तीन जना निर्वाचित हुँदा एक जना पराजित भएका छन्।

रुम्दाली परिवारका जेठा दाइ राजकुमार वडाध्यक्ष, काँइला ज्ञानेन्द्र गाउँपालिका अध्यक्ष र साँइला जितेन्द्र गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए। तर, कान्छा भाइ भने पराजित हुन पुगेका छन्। रुम्दाली परिवारका पाँच दाजुभाइमध्ये माइला भने चुनावी प्रतिस्पर्धामा थिएनन्। रोचक त के छ भने चारमध्ये तीन दाजुभाइ एकै गाउँपालिकामा उम्मेदवार थिए।

रुम्दाली दाजुभाइ मध्ये जेठा राजकुमार मानेभञ्ज्याङ गाउँपालिका–१ को वडाध्यक्षमा निर्वाचित भए। उनी नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए। उनी यसअघि पनि वडाध्यक्षमा निर्वाचित भएका थिए। सोही गाउँपालिकाको अध्यक्षमा रुम्दाली परिवारका काइँला सदस्य ज्ञानेन्द्र निर्वाचित भए। उनी कांग्रेसको समर्थनमा धारा चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा थिए।

अझ रोचक त मानेभञ्ज्याङ गाउँपालिकाको उपाध्यक्षमा रुम्दाली परिवारका कान्छा सदस्य दिपेन्द्र पराजित भएका छन्। उनी जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए।

रुम्दाली परिवारको प्रतिस्पर्धा ओखलढुंगामा मात्रै सीमित रहेन। धनकुटामा समेत रुम्दाली परिवार प्रतिस्पर्धामा उत्रिएको थियो। रुम्दाली परिवारका साइँला सदस्य जितेन्द्र धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्। उनी कांग्रेसबाट विजयी भएका हुन्। जितेन्द्र कांग्रेसका क्षेत्रीय सभापति समेत हुन्।

०७० सालमा संविधान सभाको निर्वाचनमा रुम्दाली परिवारका माइदा सदस्य धिरेन्द्र जसपाबाट उठेका थिए। तर, यसपटक भने उनी उठेनन्।

कसको मत कति?

मानेभञ्ज्याङको अध्यक्षमा ५० हजार २१ मत प्राप्त गरेर ज्ञानेन्द्र निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका रुपलाल तामाङले ३ हजार ८१५ मत प्राप्त गरेका थिए। सोही गाँपालिकाको उपाध्यक्षमा पराजित दिपेन्द्रले २ हजार ७७७ मत प्राप्त गरे। उनलाई पराजित गरेका कांग्रेसका आश्राचन राईले ४ हजार ७५० मत प्राप्त गरेका थिए।

राजकुमारले मानेभन्ज्याङ–मा माओवादीकासुजन रुम्दालीलाई पराजित गर्दै निर्वाचित भए। धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा निर्वाचित जितेन्द्रले ५ हजार ३९९ मत प्राप्त गरे। उनको निकटतम प्रतिस्पर्धी एमालेका कुमारजंग याखाले ४ हजार ८२८ मत प्राप्त गरेका थिए।

धनकुटामा विजयउत्सव, ओखलढुंगामा आधा खुसी, आधा गम

कम्युनिस्ट किल्ला धनकुटाको साँगुरी गढीमा जितेन्द्रले पहिलो प्रयासमै अध्यक्ष जितेका भने होइनन्। २०७४ सालको निर्वाचनमा उनी पराजित भएका थिए। दोस्रो प्रयासमा जित निकालेपछि जितेन्द्र धनकुटामा विजय उत्सव बनाइरहेका छन्। यता ओखलढुंगामा भने रुम्दाली परिवारमा विजयको उत्सव पनि छ, पराजयको दुःखमा पनि छ।

मानेभञ्याङको अध्यक्षमा निर्वाचित ज्ञानेन्द्र भन्छन्, ‘एउटै जिल्ला, एउटै पालिका र एउटै पार्टीको समर्थन पाएका दुई दाजुभाई हामीसँगै हुने भयौं। विजय उत्सव मनाइरहेका छौं। धनकुटामा विजयी हुनुभएका दाइसँग फोनबाटै खुसी साटिरहेका छौं।’

तर, रुम्दाली परिवार कताकता खिन्‍न पनि देखिन्छ। किनकी कान्छा भाइ दिपेन्द्रको पराजय पनि सँगै जोडिएको छ। ‘फरक पार्टीबाट उठेको र मतपरिणामका कारणले पनि सँगै हुन पाइएन। उ निस्किसक्यो, कुरै हुन पाएन,’ ज्ञानेन्द्रले असहज लबजमा वाक्य टुंगाए।

केही समय सुनसरी प्रदेश धरानमा व्यापार व्यवसायका लागि पुगेका राई परिवारबाट साईलो भार्ई जीतेन्द्र धनकुटासम्म पुगे। धनकुटामै होटल व्यवसायमा रमाएका उनले त्यहाबाट स्थानीय राजनीतिमा जोडिए र उम्मेदवारी दिए। ज्ञानेन्द्रले निजी विद्यालय सञ्चालनसँगै फोहोर व्यवस्थापनको अभियान चलाइरहेका छन्। भाइ दीपेन्द्रले होटल व्यवसाय र मोटरसाईकलको सोरुम चलाएका छन्। जेठो दाइ वडाध्यक्ष कृषि पेशामा आबद्ध छन्। स्‍नातक अध्ययन गरेका ज्ञानेन्द्रका सबै दाजुभाइले इन्टरदेखि स्‍नातकसम्म औपचारिक अध्ययन पूरा गरेका छन्। पाँच दाजुभाइ क्रमश: ४६, ४२, ४१ र ३९ वर्षका छन्।

राजनीतिप्रति रुम्दाली परिवारको मोह र चार दाजुभाइ नै एकपटक किन प्रतिस्पर्धामा? यसको जवाफमा ज्ञानेन्द्र भन्छन्, ‘बुबा विना हुर्कँदा हामीलाई हेयको दृष्टिले हेरिन्थ्यो। किनकी हामी सामाजिक, आर्थिक समस्याले जेलिएका थियौं। त्यही कारण पनि हाममा समाज सुधार र विकासको सोच पलायो। र त्यही सोचका कारण दाजुभाई राजनीतिमा अग्रसर छौ।’

उनीहरु ५ भाइ दुई आमाका सन्तान हुन्। पाँच मध्ये तीन नेपाली कांग्रेसमा आवद्ध छन् र २ जना जसपामा।

राजनीतिमा ज्ञानेन्द्र अग्रसर हुनुका दुई कारण छन्। पहिलो आफ्नै जीवनका भोगाइ र अनुभूती। दोस्रो ओखलढुङ्गाका कांग्रेसका प्रसिद्ध नेता बल बहादुर राईको  गाथा। ज्ञानेन्द्र विद्यार्थी जीवनबाटै राजनीतीमा सक्रिय भए। परिवारको सल्लाह अनुसार दाजुभाईले उनलाई सघाउने सल्लाह भयो।  तर, कालान्तरमा परिस्थीति बदलियो। दाजुभाइबीच राजनीतिक विचारधारामा भिन्नता आयो। सोही कारण रुम्दाली परिवारका पाँचै भाइ राजनीतिमा होमिए।

एकैपटक पाँच मध्ये चार उम्मेदवार बन्दाको अनुभव मिठो भने नरहेको ज्ञानेन्द्र सुनाउँछन्।

‘एकै परिवारका सवै दाजुभाइले एकै पटक उम्मेदवारी दिँदा बडो ग्राहो हुँदो रहेछ,’ ज्ञानेन्द्रले सुनाए, ‘स्रोत साधनदेखि आफन्त र छरछिमेकबाट सहयोग पाउन पनि अत्यन्तै ग्राहो हुने रहेछ।’

कांग्रेसको समर्थन, धारा चुनाव चिह्न

मानेभञ्याङमा ज्ञानेन्द्र लोकप्रिय मानिन्छन्। सोही कारण कांग्रेसले उनैलाई समर्थन गर्‍यो। उनले धारा चिह्नबाट किन चुनाव लडे त? यसको पछाडिको कारण हो, उनी माथि पार्टीले गरेको कारबाही। २०७४ सालको निर्वाचनमा ज्ञानेन्द्रले प्रदेशसभा (ख)बाट बाट बागी उम्मेदवारी दिएका थिए।

बागी उम्मेदवारी दिएपछि उनलाई पार्टीले ६ वर्षका लागि कारबाही गरेको थियो। तर, कांग्रेसको १४औं महाधिवेशनपछि उनको कारबाही फुकुवा गर्न सिफारिस पनि भएको थियो। तर पार्टीको अनुशासन विभाग गठन भएन। सोही कारण उनको कारबाही फुकुवा हुन सकेन र उनी कांग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका थिए।

‘यहाँ अन्य उम्मेदवारले नजित्ने अवस्था आएपछि मलाई उठ्न जनदबाब आएको थियो। कांग्रेस पार्टीको समर्थनमा स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएको छु,’ उनले भने।

ज्ञानेन्द्रले नेविसंघको ०६४ सालमा जिल्ला अध्यक्ष चुनिएका थिए। ०६६ सालमा उनले तरुण दलको अध्यक्षको जिम्मेवारी समेत सम्हाले। ओखलढुंगामा उनी सँधैका विद्रोहीकारुपमा चिनिन्छन्। कांग्रेस राजनीतिमा उनको परिचय पनि त्यही नै हो।

‘पार्टीको विधि विधान र आन्तिरक शुद्धिकरणमा लामो समय मैले संघर्ष गरेको छु,’ उनी भन्छन्।

उनले २०६४ सालको संविधानसभा निर्वाचनमा समेत कांग्रेसमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। भलै उनी पराजित भए। तर, उनको विद्रोहको बेग रोकिएन। ७४ सालमा पनि विद्रोह गरेर प्रदेशसभामा उम्मेदवारी दिएका थिए।

  • ३ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech