२६ आश्विन २०८१, शनिबार

वामपन्थी एकताका लागि घनश्यामको ५ बुँदे ‘रोडम्याप’
  • न्युज मानसराेवर

काठमाडौँ\ नेपालका वामपन्थी घटकहरूको एकताका लागि नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पाँच बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् । बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘कम्युनिष्ट आन्दोलनः संकट र अबको बाटो’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले कम्युनिष्ट एकता अपरिहार्य रहेको बताएका छन् ।

युवा वाम बहसले आयोजना गरेको कार्यक्रममा भुसालले स्थानीय तह निर्वाचनको परिणामले पनि नेपालका कम्युनिष्टहरू नै बहुमतमा रहेको प्रमाणित गरिदिएको र संसदीय चुनावमा वामपन्थीहरू मिलेर जानुपर्ने प्रस्ताव गरेका हुन् ।

वामपन्थी एकताका लागि भुसालले अघि सार्दै भने, ‘नेताहरूको गोप्य सम्झौताबाट गरिएको एकता गलत थियो भन्ने स्वीकार्ने, संसद विघटन गल्ती थियो भनेर स्वीकार्ने, असल कम्युनिष्ट पार्टीको कार्यक्रम र सिद्धान्त बनाउँछौं भन्ने प्रतिबद्धता व्यक्त गर्ने, तत्काल वाममोर्चा बनाउँछौं भन्ने र माफी सप्ताह आयोजना गर्नुपर्छ ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भागबण्डा गर्ने भनेर गरेको गोप्य सम्झौताका कारण संसद विघटन भएको र त्यसले पार्टी विभाजन गराएको भुसालले बताए ।

‘अर्का नेतासँग रिस उठेपछि रिस फेर्नका लागि संसद विघटन गरियो । गौँथलीले गुँड लगायो भनेर अगुल्टाले झोस्दा घर जल्यो । अनि, मादल बजाएर कहाँ बस्छस् गौँथली अब हेरौँला भनेर नाचेको जस्तो भयो,’ भुसालले भने । संसद विघटन गल्ती थियो भनेर स्वीकार्दा कम्युनिष्ट पार्टीहरू फेरि मिल्ने अवस्था बन्ने उनले बताए ।

निर्वाचनपछि महाधिवेशन गरेर कम्युनिष्ट आचरणको कार्यक्रम र सिद्धान्त बनाउने भनेर तल्काल वामपन्थी मोर्चा बनाउने घोषणा हुनुपर्ने उनले बताए । त्यसपछि, मतदाताको घरघरमा यसअघिको चुनावमा दिएको मतको संरक्षण गर्न नसकेकोमा माफी माग्न जानुपर्ने भुसालले बताए । उनले यसलाई ‘माफी सप्ताह कार्यक्रम’को संज्ञा दिएका छन् ।

अहिले कम्युनिष्ट पार्टीहरूलाई एकता वा सत्यानाश गरी दुई वटा बाटो मात्रै रहेको उनको भनाइ थियो । एमाले, माओवादी र एकीकृत समाजवादीको विचार, सिद्धान्त र कार्यक्रममा कुनै फरक नभएकाले एकताबद्ध भएर जान सकिने उनले बताए । ‘यी तीन पार्टीको विचार, सिद्धान्त र कार्यक्रममा कसैले एउटा पनि भिन्नता देखाउन सक्दैन । ती पार्टीका मुख्य नेतालाई सोध्यो भने पनि भन्न सक्दैनन्,’ भुसालले भने । अहिले नेताहरूको अहंकारले मात्रै बिग्रिएको उनले बताए ।

नेताहरूले जनतासँग कुरा लुकाइरहेको र त्यसले बर्बादी निम्त्याएको भुसालको तर्क छ । पार्टी एकताको कुरा गर्दा एमाले अध्यक्ष ओलीको विरोधीको रुपमा चित्रित गरेको भन्दै भुसालले भने, ‘क्रान्तिकारी पार्टीको दिशा र कार्यक्रम मागेको हो । किचलो निम्त्याउन खोजेको होइन ।’

  • १ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech