१३ बैशाख २०८१, बिहीबार

आयआर्जनको माध्यम बन्दै ‘होमस्टे’
  • रासस

बाँके\बाँकेको कोहलपुर नगरपालिका–१३ खड्कवार निवासी यज्ञबहादुर रानाको परिवारलाई हिजोआज पाहुना रेखदेख गर्न  भ्याइनभ्याइ हुन थालेको छ । घरमा सञ्चालित खड्कवार नमूना छाडा घरबास ‘होमस्टे’मा आउने पाहुनालाई स्वागत सत्कारदेखि खुवाउने बसाउने कार्यमा उहाँका  परिवारको दिन बित्ने गरेको छ । ‘होमस्टे सञ्चालन भएपछि घरको सबै परिवार यसैमा व्यस्त हुने गरेका छौं,’ घरबास सञ्चालक रानाले भने, ‘घरका सबै परिवारलाई काम पुग्ने गरेको छ, अलिअलि कमाइ पनि हुन थालेको छ ।’

रानाको परिवार जस्तै अहिले जिल्लाका ग्रामीण क्षेत्रमा खुलेका घरबास स्वरोजगारीसँगै आयआर्जनका माध्यम बनेको छ । बाँकेका पाँच छाडा होमस्टेमा ५० घरपरिवार आबद्ध छन् । आफ्नो ठाउँ, परिवेश र माटो सुहाउँदो र आफ्नै मौलिक, भूगोलअनुसार पूर्वाधार तयार गरेर होमस्टे सञ्चालन हुँदै आएको होमस्टे महासंघका केन्द्रीय महासचिव एवं बाँकेको गाभर भ्याली छाडा होमस्टेका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए ।

उनका अनुसार पहिलो होमस्टे सञ्चालन गर्दै आएका  परिवार स्वरोजगार हुनाका साथै गाउँमा रोजगार पनि सिर्र्जना भएको छ । गाउँमा उत्पादन हुने स्थानीय जातका मासु र दूधसँग सम्बन्धित पदार्थको खपत पनि गाउँमै हुन थालेकाले गाउँका युवाले पनि गाउँमै काम पाउने वातावरण सिर्जना भएको छ ।काम गर्न चाहने युवा गाउँमै रोजगारमा संलग्न हुने वातावरण बन्दै गएको छ । जिल्लाभरिका होमस्टेमा वार्षिक रू. एक करोडभन्दा बढी आम्दानी हुने गरेको महसचिव चौधरीको भनाइ थियो ।

‘हामीले जीविकोपार्जनमा मात्रै नभई आयआर्जन, संस्कृति प्रवर्द्धन, प्रकृति संरक्षण र पर्यटनको अवधारणा अघि सारेका छौँ,’ खड्कवार नमूना छाडा होमस्टेका अध्यक्ष लालबहादुर रानाले भने, ‘गाउँमा होमस्टे स्थापनापछि गाउँलेको बोलीचालीमा परिवर्तन हुनाका साथै रहनसहनदेखि आर्थिक स्रोतमा पनि उल्लेख्य वृद्धि भएको छ ।’

बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको खड्कवारमा ‘संस्कृति र प्रकृति’ को संरक्षण, संवर्द्धन र विकासका लागि घरबासले अभियान सञ्चालन गरेको उनको भनाइ थियो । तीनओटा घरबाट करीब पाँच वर्षअघि शुरू गरिएको होमस्टे अहिले सात घरमा सञ्चालन भएको छ ।

थारु, जनजाति, बाहुन र क्षेत्रीको मिश्रित बस्ती रहेको खड्कवारमा आउने पाहुनालाई थारु संस्कृति र परम्परागत राप्ती भेगमा गाइने टप्पा गीत तथा नाच देखाइने गरिएको अध्यक्ष रानाले बताए । स्थानीय उत्पादन भएको तरकारी, खाद्यान्न र लोकल कुखुरा तथा खसीको मासु मात्रै प्रयोग गरिनु खड्कवार होमस्टेको विशेषता हो ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट सहजै पुग्न सकिने भएकाले बाँकेका छाडा होमस्टेमा आन्तरिक पाहुनाको चहलपहल बढ्दो छ । यहाँ लगानीसँगै होमस्टे र ठूलो लगानीका आरामदायी होटलसमेत थपिएको महासचिव चौधरीले बताए ।

  • ७ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech