२७ आश्विन २०८१, आईतवार

कुस्ती बाजको तेल मालिस
  • न्युज मानसराेवर

बाँके\ एक समय थियो, इन्तिहाज अलि बेहना कुस्तीका अखडाहरूमा बराबर भेटिन्थे । नेपालगन्ज–५ बेहना टोलका उनले पहलमानको अदब राम्रैसँग राखेका थिए । उनी व्यावसायिक खेलाडी त थिएनन् तर कुस्तीका अखडामा कौशल देखाउँथे । अनि हेर्नेहरूले खुसी भएर दिएको इनाम थापेर मक्ख पर्थे । ६५ वर्षीय इन्तिहाज सम्झन्छन्, ३५ वर्षअघि जीवनको बाटो अर्कै मोडमा थियो ।

कुस्तीका स्थानीय खेलाडी भारतको नयाँदिल्लीमा कुस्ती खेल्न पुगेका थिए । रैथानेलाई आफ्नो ठाउँको अखडामा धक फुकाएर खेल्ने मौका थियो । त्यो दिन कुस्ती खेल्दा उनले लगालग दुई जित हासिल गरे । पाँच हजार पुरस्कार पनि हात पारे । तर त्यही खेल उनको जीवनको अन्तिम बन्यो । किनकि खेलका क्रममा निधारमा चोट लागेको थियो । चोट छिटो निको भएन । बरु त्यसको असर उनको एउटा आँखामा देखियो । सुरुमा त एउटा आँखाको दृष्टि मात्रै कम भएको थियो, तर बिस्तारै अर्को आँखामा पनि चोटको असर देखिँदै गयो । समयक्रममा उनी दुवै आँखा नदेख्ने भए । उनी भन्छन्, ‘देख्न छाडेपछि संसार नै लुटियो । खेल मात्र होइन मेरो संसार नै अन्धकार बन्यो ।’

कुस्तीका अखडाहरूमा बलियो ज्यान लिएर उभिने, कुस्तीका अनेकन दाउपेच प्रयोग गर्दै प्रतिस्पर्धीलाई हायलकायल पार्ने इन्तिहाज आफैंसँग हारेजस्तो भए । पाँच छोरा र चार छोरीका पिता उनी केही समय त निरुपाय भए । उनलाई कुस्तीका दाउपेच सिकाउने एक जना भारतीय गुरु थिए । नाम त उनलाई सम्झना छैन, तर घरेलु उपचार पद्धतिअनुसार उनी तेल मालिसको अनौठो सीपमा पोख्त थिए । तिनै गुरुले इन्तिहाजलाई तेल मालिसको सीप सिकाए । कुन नसामा छुँदा के हुन्छ, शरीरको कुन भागमा कति बल प्रयोग गर्नुपर्छ, हातको लचकता देखाउँदै कसरी मालिस गर्न सकिन्छ भन्ने सबै कुरा उनले तिनै गुरुबाट सिके ।

त्यसपछि इन्तिहाज बिस्तारै गाउँघरतिर तेल मालिसको काम गर्न थाले । सुरुसुरुमा त उनको सीपलाई धेरैले पत्याएनन् । तर बलिया ज्यानका उनले गर्ने मालिसको आनन्द लिनेहरूबाट खुबीको चर्चा फैलियो । उनले भने, ‘हिजोआज त कुनै दिनमा पाँच हजारसम्म कमाइ हुन्छ ।’ इन्तिहाज धोती र कुर्तामा ठाँटिएर दैनिक घरबाट निस्कन्छन् । आफ्ना ग्राहकको घर–घर पुग्छन् । अनि हातको जादू देखाउँछन् । तेल मालिसमा जम्दै गए पनि इन्तहाजलाई चिन्नेहरूले पहलमानकै नामले चिन्छन् । उनले सन्तुष्टिको भावमा सुनाए, ‘मागेर खानुपरेको छैन, कसैको अगाडि हात थाप्नुपरेको छैन । आफ्नै परिश्रममा बाँचेको छु त्यसैमा खुसी छु ।’

टाढा–टाढाबाट नेपालगन्ज आएर होटलमा बसेकाहरूले पनि उनलाई मालिस गरिदिन बोलाउँछन् । पहलमान सधैं तोरीकै तेल मालिसमा प्रयोग गर्छन् । कहिलेकाहीं भने ग्राहकले भनेअनुसार उनी आयुर्वेदिक वा अन्य तेलको पनि प्रयोग गर्छन् । यसरी तेल मालिस गरेबापत उनी एक हजार रुपैयाँ लिन्छन् । टाढाका सेवाग्राहीको घर पुगेका बेला भने उनी गाडीभाडा छुट्टै लिन्छन् ।

पूर्वनगरप्रमुख धवलशमशेर राणादेखि अहिलेका प्रमुख प्रशान्त बिष्ट उनका नियमित ग्राहक हुन् । इन्तिहाज पर–परसम्म पुग्न सक्दैनन् किनकि सेतो छडी लिएर नेपालगन्जका गल्ली–गल्ली हिँड्नु उनलाई सजिलो छैन । उनको यात्रा सीमित छ । बेला–बेला उनलाई छोरा सराफतले साइकलमा राखेर ग्राहकका घर पुर्‍याउँछन् । कहिलेकाहीं त उनी गाडी चढेर छिमेकी जिल्लासम्मै पुग्छन् । उनले भने, ‘कुस्तीले आँखा लगे पनि यही पेसाले मालिस गर्ने बल पनि दिएको छ ।’ इकान्तिपुर मा प्रकाशित

  • ७ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech