१४ बैशाख २०८१, शुक्रबार

बुटवल उपमहानगरले नदीजन्य पदार्थ आफैं उत्खनन गरी बिक्री गर्ने
  • न्युज मानसराेवर

बुटवल- बुटवल उपमहानगरले आन्तरिक स्रोत वृद्धि गर्न लागि नदीजन्य पदार्थको उत्खनन आफैंले गर्ने नीति अगाडि सारेको छ। बुधबार नगरप्रमुख खेलराज पाण्डेले आर्थिक वर्ष ०७९-८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आफैंले उत्खनन गरी भण्डार गर्ने र आवश्यकता अनुसार बिक्री गर्ने व्यवस्था मिलाउने घोषणा गरेका हुन्।

नदीजन्य पदार्थको अनावश्यक उत्खनन र दोहन रोकेर स्रोत वृद्धि गर्न उपमहानगर आफैंले उत्खनन गर्ने नीति अगाडि सारेको नगरप्रमुख पाण्डेद्वारा प्रस्तुत नीति कार्यक्रममा उल्लेख छ।

नदीजन्य पदार्थ, माटो, वनजन्यलगायतका प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्ने नीतिसमेत लिएको छ। आवश्यकता अनुसार वातावरणीय प्रभाव-परीक्षण गर्ने समेत पाण्डेले बताए। बुटवल उपमहानगरले तिनाउ, सुखौरा खोला र दानव नदी क्षेत्रबाट नदीजन्य पदार्थको उत्खनन गर्दै आएको छ।

आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

‘एक वडा एक पहिचान’, नगर अस्पताल निर्माण, स्पोर्टस् जोन निर्माणजस्ता नीति अघि सार्दै सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकासमार्फत नगरबासीको जीवनस्तर माथि उकास्‍न संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई जोड दिने भनेको छ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पाण्डेले बेरोजगारी घटाउने, स्वरोजगारमा वृद्धि गर्ने, सिप सिकाउने र उद्यम विकास गर्न गृहणी महिलालाई उत्पादनसँग जोड्ने गरी सिप विकास कार्यक्रम सञ्चालन गर्ने, श्रम बैंक र श्रम डेस्क सञ्‍चाल गरी श्रमिकहरुलाई रोजगारी र सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीति लिएको बताए।

बुटवललाई देशकै प्रमुख आर्थिक केन्द्र निर्माण गर्नका लागि लगानी सम्मेलन गरी बुटवलमा लगानीकर्तालाई आकर्षण गर्ने प्रमुख पाण्डेले बताए। बुटवल उपमहानगरले सबै किसिमका भुक्तानीहरु अनलाइन प्रणालीबाट गर्ने नीति लिएको छ।

ज्योतिनगर पहिरोको अल्पकालीन र दीर्घकालीन व्यवस्थापन गरी पहिरो क्षेत्रलाई आगामी दिनमा लुम्बिनी प्रदेश सरकारसँग समन्वय गरी गौरवको योजना लागु गर्ने नीति कार्यक्रममा उल्लेख छ। कृषि विकासमा के पाइन्छ होइन के चाहिन्छ नीति अवलम्बन गर्ने उपमहानगरको योजना छ।

यस्तै, पत्रकारिता अनुसन्धान केन्द्र तथा सञ्‍चारग्राम स्थापनाको पहल, मिडिया हाउस सञ्चालनका लागि सहयोग, उपकरण खरिदमा अनुदान, स्वास्थ्य बीमा कार्यक्रम, स्व. सूर्य प्रसाद प्रधानको स्मृतिमा विकास पत्रकारिता पुरस्कार स्थापना, आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोला र बेलबास-बेथरी सडक यथाशीघ्र निर्माण र मर्मत गर्न पहल गर्ने, बुटवल वडा नं १४ देखि १९ (मोतिपुर सेमलार क्षेत्र) सम्मलाई कृषि, पशुपालन, आधुनिक बसोबासको क्षेत्रका रुपमा विकास गर्दै ग्रिनसिटीमा रुपान्तरण गर्ने उल्लेख छ।

यस्तै पुरानो बुटवललाई पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय सहरको क्षेत्रका रुपमा विकास गर्ने, बुटवल मण्डपलाई गिरिजाप्रसाद कोइराला बुटवल मण्डप नामाकरण गरिने र मेयर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्‍चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

बुटवल १५ मा २ अर्ब लागतको अत्याधुनिक थोक कृषि बजार, बुटवल ७ मा प्रादेशिक बसपार्क निर्माण, बुटवल-१६ कर्साघाटमा शवदाह स्थल, बुटवल १ देखि नुवाकोटसम्म पैदलमार्ग निर्माण, नगरमा भएका स्वास्थ्य संस्थाको स्तरोन्‍नति, सबै वडामा स्वास्थ्य संस्था स्थापना र १५ बेडको सुविधा सम्पन्‍न नगर अस्पताल सञ्‍चालन गर्न प्रक्रिया अघि बढाइने उल्लेख छ।

बुटवलमा लामो समयदेखि समस्याको रुपमा रहेको सुकुम्बासी तथा अव्यवस्थित समस्या समाधानका लागि अल्पकालीन व्यवस्थाका रुपमा बसोबासको प्रमाणपत्र वितरण गर्ने र राष्ट्रिय भूमि आयोगसँग समन्वय गरी जग्गा नापजाँच गरी लालपुर्जा वितरणको काम अगाडि बढाउने नगरप्रमुख पाण्डेले बताए।

बुटवल मण्डपलाई राष्ट्रकै गौरवको क्षेत्रको रुपमा विकास गर्दै गिरिजा प्रसाद कोइराला बुटवल मण्डप नामाकरण गरिने नीति कार्यक्रममा उल्लेख छ। बुटवल-७ मा प्रादेशिक बसपार्क निर्माण, बुटवल-१६ कर्साघाटमा धार्मिक संघसंस्था समेतसँगको सहकार्यमा शवदाह स्थल सिनर्माण, बुटवल-१ देखि नुवाकोटसम्म पैदलमार्ग निर्माण गरिने उल्लेख छ। लैंगिक, जातीय, क्षेत्रिय, धार्मिक, भाषिक साँस्कृतिक आर्थिक जस्ता विेभद निषेध गर्ने नीति उपमहानगरले लिएको छ।

  • ८ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech