१९ आश्विन २०८१, शनिबार

बढ्दो वायुप्रदूषण र जलविद्युत् विकास
  • न्युज मानसराेवर

पेट्रोलियम पदार्थ र कोइलाको उपभोगबाट आजको विश्व प्रदूषणयुक्त बनेको छ । यसको अधिक प्रयोगले हावापानीमा परिवर्तन गराइरहेको
छ । वैज्ञानिकहरूको अनुसन्धानले के पुष्टि गरेको छ भने पेट्रोलियम पदार्थ र कोइलाको अधिक प्रयोग नै वायुप्रदूषणको मुख्यकारक तत्त्व हो । यी दुवै ऊर्जाका साधनहरूको प्रयोग विश्वभरि नै भइरहेको छ । यसै कारण विश्वका अधिकांश मुलुक वायुप्रदूषणले आक्रान्त बनेका छन् ।

यस परिप्रेक्ष्यमा सारा विश्व नै वायुप्रदूषणबाट मुक्त हुन खोजिरहेको छ । यसको निराकरणका निमित्त विश्वभरिका उत्कृष्ट दिमागहरू खोजमा परिचालन भइरहेका छन् । विश्वभरका वैज्ञानिकहरू वायुप्रदूषणलार्ई कम गराउने विकल्पहरूको खोजी र आविष्कारमा संलग्न भइरहेका छन् । उनीहरूको खोजको निष्कर्षले के पुष्टि गरेको छ भने पेट्रोलियम पदार्थ र कोइलाको अधिक प्रयोगमा कमी ल्याउन नवीकरणीय ऊर्जाको आवश्यकता पर्छ । नवीकरणीय ऊर्जाको प्रयोगले पेट्रोलियम पदार्थ र कोइलाको अधिक प्रयोगलार्ई घटाउन मद्दत गर्छ अर्थात् प्रतिस्थापन गर्न सक्छ । फलस्वरूप, हावापानीलाई स्वस्थ बनाउन मद्दत गर्छ ।  जलविद्युत् नवीकरणीय ऊर्जाको स्रोतका रूपमा रहेको छ, जसको विकासका निमित्त सम्पूर्ण विश्वका धनाढ्य र निर्धन मुलुकहरू एकजुट हुन अपरिहार्य छ ।

दक्षिण एशियामा वायुप्रदूषण
बंगलादेश, भारत, नेपाल र पाकिस्तान संसारका अतिप्रदूषित देश हुन् । संसारका अति प्रदूषणयुक्त १० शहरहरूमध्ये पाँच ठूलठूला शहरहरू दक्षिण एशियामा पर्छन् । उपलब्ध तथ्यांकअनुसार सन् १९२१ मा अति प्रदूषित शहरहरूमध्ये पाकिस्तानको लाहोर शहर पहिलो स्थानमा रहेको छ भने नेपालको काठमाडौं उपत्यका नवौं स्थानमा पर्छ । भारतका दुई शहरहरू दिल्ली र मुम्बई क्रमशः दोस्रो र सातांै स्थानमा रहेका छन् भने बंगलादेशको राजधानी ढाका शहर पाँचौं स्थानमा रहेको छ । यसबाट के स्पष्ट हुन्छ भने नेपाल, भारत, पाकिस्तान र बंगलादेशका यी शहरहरूमा बसोवास गर्ने मानिसहरूको स्वास्थ्य उच्च वायुप्रदूषणका कारण जोखिममा परिरहेको छ । अर्थात् यी शहरहरूमा बसोवास गरिरहेका मानिसहरूले विभिन्न रोगको सामना गर्नु परिरहेको छ । यी सबै देश वायुप्रदूषणले पीडित भइरहेका कारण यी देशहरूमा वायुप्रदूषण कम गराउन आवश्यकता मात्र होइन कि अपरिहार्य नै भइसकेको छ । दक्षिण एशियाका सबै देश वायुप्रदूषणबाट हुने जोखिमबाट मुक्त हुन चाहिरहेका छन् । कोइला र पेट्रोलियम पदार्थको उपभोग घटाउने विकल्पको खोजीमा यी सबै मुलुक लागिपरेका छन् । यसको निराकरणका निमित्त नवीकरणीय ऊर्जाको खोज गरी त्यसको विकास गर्न जरुरी भइसकेको छ । दक्षिण एशियाका मुलुकहरू नवीकरणीय ऊर्जाको स्रोतमा धनी छन्, विशेष गरेर जलविद्युत््मा । यी देशमा नवीकरणीय ऊर्जा (जलविद्युत्) को उत्पादन क्षमताको सम्भावना पर्याप्त रहेको तथ्य खोजकर्ताहरूले बताइरहेका छन् । नेपाल र भूटानमा जलविद्युत् विकासको सम्भावना बढी छ । उपलब्ध जलविद्युत् भण्डारको विकासले यी मुलुकमा नवीकरणीय ऊर्जाको पूर्ति भई कोइला र पेट्रोलियम पदार्थको प्रयोगमा कमी ल्याउन सक्छ । यसको विकासका निमित्त माथि उल्लिखित देशहरूले जलविद्युत् विकासका निमित्त पहल गर्न आवश्यक पर्छ ।

नेपालको जलविद्युत्
भनिन्छ, नेपाल जलविद्युत्मा धनी छ । हो, आर्थिक र प्राविधिक दुवै खोजले के पुष्टि गरेको छ भने नेपालका नदीनालाबाट ४० हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सकिन्छ । हालसम्म यो सम्भावनाको २ प्रतिशत पनि दोहन हुन सकेको छैन ।

पहाडी र हिमाली क्षेत्रको भूबनोवट गहन खेतीको निमित्त उपयुक्त छैन । फलफूल, पशुपालन र तरकारीका निमित्त केही हदमा उपयुक्त छ । बिजुली उत्पादनका निमित्त अविरल रूपले पानीको बहाव हुने पर्याप्त नदीनाला तथा छागाछहरा हिमाली र पहाडी क्षेत्रमा उपलब्ध छन् । यी नदीनालाका उपयोग नेपालले गर्न सकेको छैन । नेपालमा उपलब्ध जलविद्युत् विकासको थालनी धेरै अगाडिदेखि भएको कुरा घामजस्तै छर्लङ्ङ छ । यस क्षेत्रको विकासका निमित्त पहिलो पाइला सन् १९११ फर्पिङ जलविद्युत् आयोजनाबाट शुरू भएको थियो । यस क्षेत्रको विकासको थालनीले ११ दशकभन्दा बढी पार गरिसकेको भए पनि यसको विकासले गति लिन सकेको छैन । माथि नै उल्लेख भइसकेको छ कि जलविद्युत्को विकास आजको अपरिहार्यता नै हो ।

खाद्यान्न, लत्ताकपडा, सवारीसाधन, निर्माण सामग्री सबै नेपालमा आयात गरिन्छ । तेलको आयात नेपालले मात्र होइन, विश्वका अधिकांश देशले गरिरहेका छन् । फरक यत्ति हो, नेपालले तेललगायत सबै वस्तु आयात गर्छ भने विश्वका अन्य मुलुकले आफूसँग रहेको स्रोतसाधनको दोहन गरी निर्यात पनि गर्छन् ।

निर्यात प्रवर्द्धन
नेपालले पनि जलविद्युत्को विकास गरी निर्यात गर्न सक्ने सम्भावना बढी छ । आजभोलि नेपालको बिजुली भारततर्फ निर्यात भइरहेको पनि छ । यस कारण नेपालले आफूसँग रहेको जलस्रोतको भण्डारलाई उपयोग गरेर बिजुली उत्पादन गर्न सक्ने हो भने उत्पादित बिजुलीको आपूर्तिले स्वतस्फूर्त बजारको माग सृजना हुन सक्छ । नेपालले जलविद्युत्को विकास गरी बिजुली उत्पादन गर्नसके बजारको कमी हुँदैन । दक्षिण एशियाका ठूलाठूला शहरू अति प्रदूषित छन् । यी शहरलाई प्रदूषणमुक्त गर्न नवीकरणीय ऊर्जा (जलविद्युत्) को आवश्यकता पर्छ, जसको सम्भाव्यता पर्याप्त मात्रामा रहेको छ । नेपालमा उत्पादित जलविद्युत्को माग भारत, बंगलादेश र पाकिस्तानमा हुन सक्ने सम्भावना अत्यन्तै बढी छ । खाना पकाउने ग्यासदेखि सवारीसाधनसम्मको सञ्चालनका निमित्त प्रयोग हुने पेट्रोलियम पदार्थको प्रतिस्थापन जलविद्युत्ले गर्न सक्छ । यसकारण पनि दक्षिण एशियाका ठूलाठूला मुलुकमा नवीकरणीय ऊर्जाका लागि हुने सम्भावित मागको आपूर्तिका निमित्त नेपालले जलविद्युत्को विकास गर्न जरुरी छ, जसको निर्यातबाट हुने आम्दानीले अरू सबै आवश्यक वस्तुको आयात गर्न पुग्छ ।

जलविद्युत्को नेपाली बजार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आकाश छोइरहेको छ । यसको आयातले नेपालको भुक्तानी सन्तुलनमा प्रतिकूलता आइरहेको छ । विदेशी मुद्राको सञ्चितिमा दिन प्रतिदिन कमी आइरहेको छ । नेपालको अर्थतन्त्र धराशयी हुने बाटोमा अग्रसर भइरहेको छ । नेपालीहरू महँगीको मारले पिल्सिरहेका छन् । जहाँसम्म नेपालको बजारको कुरा छ, नेपालले बिजुलीको खपतमा वृद्धि गराउन जरुरी छ । पेट्रोलियम पदार्थको आयातले एकातिर व्यापार घाटा बढाइरहेको छ भने अर्कोतिर वायुप्रदूषणमा वृद्धि भइरहेको छ । नेपालका शहरहरूमा मात्र होइन, ग्रामीण भेगमा रहेका घरघरका चूल्हाहरूमा खाना पकाउन आयातित ग्यासको प्रयोग भइरहेको छ । आजको आधुनिक विश्वले धेरै कुरामा फड्को मारिसकेको छ । नयाँनयाँ वैज्ञानिक आविष्कारहरूले विश्व नै बदली दिएको छ । विद्युतीय चूल्होको आविष्कारले घरघरका चूल्हाहरूको मुहार नै फेरिदिएको छ । यसै गरेर विद्युतीय सवारीसाधनको विकासले पेट्रालियमको खपतमा कमी ल्याउन सफल भएको छ ।

नेपालले जलविद्युत्को विकास गरी भरपर्दो बिजुली आपूर्ति गर्न जरुरी छ । विद्युतीय सवारीसाधनका निमित्त भौतिक पूर्वाधारको विकास गर्नुपर्छ । ठाउँठाउँमा रिचार्ज केन्द्रहरूको निर्माण हुन जरुरी छ । यो कार्यको निर्माणका निमित्त सम्भव भएसम्म निजी र सरकारी दुवै निकायको संलग्नता जरुरी छ । यो कदमले घरभित्र उत्पादित बिजुलीको खपत घरभित्रै गराउन मद्दत पुर्‍याउँछ । यसका अतिरिक्त पेट्रोलियम पदार्थको खपतलाई बिजुलीले प्रतिस्थापन गर्छ । जलविद्युत्को विकासले नेपाललाई तीन तरीकाले फाइदा पुर्‍याउन सक्छ । पहिलो, पेट्रोलियम पदार्थको आयातलाई प्रतिस्थापन गर्छ र थामी नसक्नु गरी मौलाउँदो वायुप्रदूषण नियन्त्रण गर्न मद्दत गर्छ । दोस्रो, नेपालले बिजुलीको निर्यात गरी हाल भइरहेको प्रतिकूल भुक्तानी सन्तुलनलाई अनुकूल बनाउन मद्दत गर्छ । तेस्रो, नेपालमा उद्योग व्यवसायहरूको विकास भई रोजगारीका अवसरहरूको सृजना हुन्छ ।

लेखक अर्थशास्त्री हुन्  ।

  • २१ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech