६ जेष्ठ २०८१, आईतवार

सरकारी नीतिले प्याकेजिङ उद्योग सकसमा
  • न्युज मानसराेवर

नेपालमा प्रिन्टिङ र प्याकेजिङ उद्योगको राम्रो सम्भावना भएर पनि सरकारी नीति उद्योगमैत्री नहुँदा यो अवसर उपयोग हुन पाएको छैन । आज पनि नेपालको प्रिन्टिङ र प्याकेजिङको बजारमा स्वदेशी उद्योगहरू २५ प्रतिशतबराबरको बजार अंशमा सीमित हुनु परेको छ । नेपालमा केही वर्षदेखि उद्योगधन्दा बढेका छन् । ती उद्योगमा प्याकेजिङ मेटेरियलको माग पनि बढेको छ । सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति नलिएकै कारण यस्ता उद्योगले बाहिरी देशबाट प्याकेजिङ मेटेरियल आयात गरिरहेका छन् ।

स्वदेशमा प्याकेजिङ उद्योगले कच्चा पदार्थको आयातमा उच्च दरको भन्सार तिर्नु परेको छ । तर, नेपाली बजारमा सबैभन्दा ठूलो सम्भाव्यता मानिएका औषधि र चियाका उद्योगले आज पनि धमाधम भारतबाट प्याकेजिङ सामग्री आयात गरिरहेका छन् । यसमा सरकारी नीति पूर्णतः दोषी छ ।

स्वदेशमा सञ्चालित प्रिन्टिङ र प्याकेजिङ उद्योगले भारतबाट कच्चा पदार्थ ल्याउनुपर्छ । कच्चा पदार्थका रूपमा आउने कागज, बीओपीपी पेपर, मसी लगायतमा १५ प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्यअभिवृद्धि कर तिर्नु परेको छ । तर, औषधी र चिया उद्योगले १ प्रतिशत भन्सार महसुलमात्रै तिरेर प्याकेजिङ सामग्री ल्याइरहेका छन् । प्रिन्टिङ र प्याकेजिङ उद्योगलाई केही समयअघिसम्म दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) को सुविधामा आयात हुन्थ्यो, अहिले यो सहुलियत पनि हटिसकेको छ । हामीले जहाँबाट कच्चा पदार्थ भित्र्याउँछौं, त्यहीँबाट कम राजस्वमा तयारी वस्तु नै आयात भइरहेको छ ।

हामीले भारत र चीनको भन्दा राम्रो गुणस्तरको उत्पादन बनाउँछौं । तर, बाहिरबाट मगाएकै सामग्री सस्तो हुने भएपछि यहाँका उद्योगलाई दिन सकेका छैनौं । औषधि र चिया उद्योग यहाँका प्रिन्टिङ र प्याकेजिङ उद्योगका ग्राहक भए पनि यी उद्योगले बाहिरबाटै आयात गरिरहेका छन् । भारतबाट आयात हुने प्याकेजिङ मेटेरियलका उत्पादकले नेपालको बजारलाई हेरेर नै आफ्नो उत्पादनको मूल्य राखेर मनग्य नाफा कमाइरहेका छन् । यता स्वदेशका उद्योग समस्यामा छन् ।

औषधि र चिया उद्योगले १ प्रतिशत भन्सार महसुलमात्र तिरेर प्याकेजिङ मेटेरियल झिकाएका छन् भने हामीले त्यस्ता उद्योगलाई गर्ने बिक्रीमा पनि मूल्यअभिवृद्धि कर मिनाहा हुनुपर्छ भनेको वर्षौं बितिसक्यो । हामीले २० वर्षदेखि प्रत्येक पटकको बजेटबारे अन्तरक्रियामा सरकारलाई यो सुझाव दिएका छौं । मूल्यअभिवृद्धि कर हटाउनुपर्‍यो कि त आयातमा पनि लगाउनुपर्छ भन्ने हाम्रो आग्रह रहँदै आएको छ । तर, सरकारले यसको उचित तरीकाले सम्बोधन गर्न सकेको छैन ।

डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा बजेट वक्तव्यमा औषधि र चिया उद्योगले स्थानीय उद्योगबाट किनेको प्याकेजिङ मेटेरियलमा तिरेको मूल्यअभिवृद्धि कर २ महीनाभित्र फिर्ता दिने घोषणा गरेका थिए । तर, त्यो कार्यान्वयन भएन । जब औषधि र चियाका उद्योगीले १ प्रतिशत भन्सार महसुलमात्र तिरेर प्याकेजिङ मेटेरियल भित्र्याउन पाइरहेका छन् भने १३ प्रतिशत मूल्यअभिवृद्धि तिरेर फिर्ता माग्ने झन्झट किन लिन्थे ? सरकारले कति समयमा दिन्छ ? दिन्छ कि दिँदैन ? यो पनि आशंका छ । प्राप्तिको प्रक्रियागत झन्झट र त्यसको लागत बेग्लै छ । मूल्यअभिवृद्धि कर तिरेर फिर्ताका लागि प्रक्रिया अघि बढाएकाहरूले अहिलेसम्म पाएका छैनन् । आन्तरिक राजस्व कार्यालयका कर्मचारीले अर्थमन्त्रीको भाषण आए पनि त्यसको पत्र नआएसम्म दिन नमिल्ने बताइरहेका छन् । यस्तो कार्यान्वयन हुनै नसक्ने अव्यावहारिक र झन्झटपूर्ण नीतिका कारण उद्योग फस्टाउन सक्दैनन् ।

औषधि र चिया उद्योगले खरीद गरेको प्याकेजिङ मेटेरियलमा मूल्यअभिवृद्धि कर मिनाहा गर्दा यसको दुरुपयोग हुन सक्ने आशंका सरकारलाई भएजस्तो देखिन्छ । तर, सम्पूर्ण प्रक्रिया र कारोबार अब अनलाइनमार्फत हुन थालेपछि पनि यस्तो आशंका पालेर बस्नुको अर्थ छैन । बिलबीजक सबै अनलाइनमा गइसक्यो । क्रेता र विक्रेता अनलाइनमा भइसकेपछि छल्ने ठाउँ नै छैन । अब त १० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्नेलाई अनलाइनमा अनिवार्य जानै पर्ने भयो । कुनै पनि प्रिन्टिङ प्याकेजिङ उद्योगको वार्षिक कारोबार अब २०/२५ करोड रुपैयाँभन्दा कम छैन भने सरकारले कर चोरीको आशंका पालेर बसिरहनु आवश्यक छैन ।

सरकारले कच्चा पदार्थ तयारी उत्पादनमा लाग्ने भन्सार महसुलमा कम्तीमा एक तहको फरक हुने भने पनि प्रिन्टिङ र प्याकेजिङ उद्योगले यो सहुलियत पाएका छैनन् । यस्तोमा स्थानीय उद्योग कसरी अघि बढ्न सक्छ ? अहिले सरकारले लिएका यस्तै विरोधाभासपूर्ण नीतिको विरोधमा उद्योगी व्यापारी प्रदर्शनमा उत्रिएका छन्, भोलिका दिनमा यस्तो प्रदर्शन देशभरि हुन सक्छ । प्याकेजिङ र प्रिन्टिङको कच्चा पदार्थको तुलनामा तयारी वस्तुको भन्सार महसुलमा कम्तीमा १० प्रतिशत फरक हुनुपर्छ । औषधि र चिया उद्योगलाई हामीले गर्ने विक्रीमै मूल्यअभिवृद्धि कर शून्य हुनुपर्छ । यसो भयो भने औषधि र चिया उद्योगले प्याकेजिङ मेटेरियल मौज्दातमा राख्नु पर्दैन । त्यस्ता उद्योगको पूँजीको लागत कम हुन्छ । अहिले नेपालमा प्रिन्टिङ र प्याकेजिङमा चारओटा उद्योग छन्, भोलिका दिनमा यो क्षेत्रमा थप लगानी आउन सक्छ ।

अहिले नेपालका उद्योगको मूल्यलाई हेरेर भारतीय उत्पादकले मूल्य राखेका छन् । यताको उत्पादन सस्तो हुनेबित्तिकै भारतीय उद्योग आफ्नै देशको बजारमा केन्द्रित हुन्छन् । अहिले अधिक नाफा कमाउन पाएकैले नेपाली बजारलाई लक्षित गरेका हुन् । अहिले नेपालमा प्रिन्टिङ र प्याकेजिङ उद्योगमा साढे २ अर्ब रुपैयाँजति लगानी पुगिसकेको छ । कम्तीमा ५ अर्बको बजारमा औषधि र चियाका उद्योगले मात्रै वर्षेनि १ अर्ब रुपैयाँभन्दा बढीको यस्ता वस्तु आयात गर्छन् । भारतबाट आयात नहुने हो भने यहाँ लगानी बढ्छ । स्वदेशी बजारमा स्वदेशी उत्पादनको पकड बलियो भएपछि त्यसबाट रोजगारी र आय आर्जन हुँदै देशको अर्थतन्त्रमा सकारात्मक चक्रीय असर पार्छ । यसका लागि सरकारको नीति स्वदेशी उद्योगमैत्री हुनु आवश्यक छ ।

प्रिन्टिङ र प्याकेजिङ उद्यममा लामो अनुभव भएका रवि ग्रूप अफ कम्पनीका अध्यक्ष बरनवालसित गरिएको कुराकानीमा आधारित ।

  • २४ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech