बुटवल \ स्वास्थ्य उपचारमा विपन्नको पहुँच पुर्याउन भन्दै लुम्बिनी प्रदेश सरकारले प्रादेशिक अस्पतालहरुमा निःशुल्क बेड तथा निःशुल्क टिकटको व्यवस्था आइतबारदेखि लागू भएको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा ओपीडी र इमर्जेन्सी टिकट तथा बेड निःशुल्क हुने भएको हो ।लुम्बिनी अस्पतालमा दैनिक करिब १ हजार र राप्तीमा ४ सय बिरामी आउने गरेका छन् ।
नि:शुल्क सेवाको आइतबार लुम्बिनी प्रादेशिक अस्पतालमा एक कार्यक्रमबीच मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरे । कार्यक्रममा सम्बोधन गर्दै उनले स्वास्थ्य मौलिक हक भएको र विपन्न बिरामीले पनि सहजरुपमा उपचार गर्नु सकुन् भन्ने उद्देश्यले नि:शुल्क सेवा सुरु गरेको बताए ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत लुम्बिनी र राप्तीमा आउने बिरामीहरुलाई ओपीडी र इमर्जेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो । त्यसका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । अब बिरामीहरुले टिकट काउन्टरबाट नि:शुल्क कार्ड लिए पुग्ने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले बताए ।
यस्तै, प्रदेशका सरकारी अस्पतालमा अब रगत पनि निःशुल्क हुने भएको छ । यसअघि रगत नि:शुल्क भए पनि पोका र व्यवस्थापनका बिरामीले करिब ८ सय रुपैयाँ तिर्नु पर्थ्यो । अबदेखि प्रदेशका कुनै पनि सरकारी अस्पतालमा आएका बिरामीले चिकित्सकहरुको सिफारिस लिएर रक्तसंचार सेवा केन्द्रमा गएपछि पूर्णरुपमा निःशुल्क रगत पाउने स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले बताए ।
प्रदेश सरकारले निःशुल्क रगतका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नि:शुल्क रगत उपलब्ध गराउन अस्पतालका तर्फबाट मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकाल र रक्तसंचार केन्द्रका तर्फबाट प्रदेश महासचिव कृष्ण पंगेनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
लुम्बिनी प्रदेशमा वार्षिक ६० हजार युनिट रगत खपत हुने गरेको छ । बढ्दो दुर्घटनाले बर्सेनि रगतको माग बढ्दै गएको रक्तसंचार केन्द्रका महासचिव पंगेनीले बताए ।