सुर्खेत\ गत आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा कर्णाली प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ६.०५ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकको प्रदेशगत अर्धवार्षिक समीक्षाअनुसार आव २०७७/७८ को सोही अवधिमा यस्तो क्षेत्रफल ४.१२ प्रतिशतले बढेको थियो।
परम्परागत कृषि प्रणाली, समयमा पर्याप्त मात्रामा बीउ तथा मल उपलब्ध नहुनु, सिँचाइको उपलब्धता नहुनुजस्ता कारणहरुबाट कृषि व्यवसायमा आकर्षण घटेको देखिन्छ।
कर्णाली प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल २ लाख ६७ हजार ४४९ हेक्टर छ। गत आवको ६ महिनामा प्रमुख बालीमध्ये धान बालीले ढाकेको क्षेत्रफल ११.४८ प्रतिशतले घटेको छ। आव २०७७/७८ को सोही अवधिमा भने धान बालीले ढाकेको क्षेत्रफल ०.२६ प्रतिशतले बढेको थियो।
त्यस्तै, मकै, गहुँ र जौ बालीले ढाकेको क्षेत्रफल समीक्षा अवधिमा क्रमशः ८.६५ प्रतिशत, ५.७८ प्रतिशत र ०.३६ प्रतिशतले घटेको छ भने कोदो बाली ५.८१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष सोही अवधिमा मकै बालीले ढाकेको क्षेत्रफल ०.१६ प्रतिशतले घटेको थियो भने धान, गहुँ, कोदो र जौ बालीले ढाकेको क्षेत्रफल क्रमशः ०.२६ प्रतिशत, ७.८० प्रतिशत, ६.३८ प्रतिशत र ३.८५ प्रतिशतले बढेको थियो।
गत पुसमा भट्मासले ढाकेको क्षेत्रफल १.३१ प्रतिशतले वृद्धि भएको छ भने आव २०७७/७८ मा यो बाली १४.२७ प्रतिशतले घटेको थियो। आव २०७७/७८ को पुस मसान्तमा ३०.९१ प्रतिशतले बढेको आलु बालीले ढाकेको क्षेत्रफल गत पुससम्म भने २४.११ प्रतिशतले घटेको छ।
कर्णालीको कृषि निर्वाहमुखी मात्रै भएको र कतिपय अवस्थामा जिविकोपार्जन गर्नसमेत गाह्रो हुने भएकोले श्रमशक्ति वैदेशिक रोजगार तथा स्वदेशमा स–सानो व्यापार, व्यवसाय र ज्याला मजदुरीको क्षेत्रमा आकर्षित भएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ। साथै बढ्दो सहरी बसाइँसराइका कारणले कर्णाली प्रदेशका पहाडी जिल्लामा कृषि उत्पादन घट्दै गएको छ।