२७ श्रावण २०७९, शुक्रबार

नेपालमा भारतीय धार्मिक पर्यटनको सम्भावना
  • न्युज मानसराेवर

नेपालमा धार्मिक पर्यटनको सम्भावना अत्यन्त धेरै छ । धार्मिक पर्यटकलाई नेपालमा आकर्षित गर्ने मठ तथा मन्दिर र धार्मिक स्थलहरू नेपाल अधिराज्यभर छरिएर रहेका छन् । धार्मिक स्थानहरूबाट नेपालले जति फाइदा लिन सक्थ्यो त्यो हुन सकिरहेको छैन । पर्यटकलाई आकर्षण गर्ने प्राकृतिक स्थलहरू मात्र होइनन्, नेपालमा धार्मिक स्थलहरू पनि छन् । छिमेकी मुलुक भारतका १ अर्ब ४० करोड मानिसको संस्कृति, भाषा, धार्मिक परम्परा एकैनासको रहेको छ । करीब ७९ प्रतिशत जनता हिन्दू धर्मावलम्बी छन् ।

नेपाल र भारतबीच खुला सिमाना रहेको छ । नेपालीहरू भारतमा विनारोकटोक आवतजावत गर्न पाउँछन् । त्यस्तै गरेर भारतीयहरू पनि विनारोकटोक नेपालमा आवतजावत गर्न पाउँछन् । भारतमा धार्मिक पर्यटकका लागि चारधामको व्यवस्था गरिएको छ, जसमा जाने धर्मावलम्बीहरूले भारत भरको यात्रा गर्छन्, करीब महीना दिनको यात्रा । आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि असंख्य नेपाली वर्षेनि भारतमा तीर्थयात्रा गर्छन् । त्यस्तै भारतीयहरूले पनि नेपालमा तीर्थयात्रा गर्छन् । तर, नेपालमा उनीहरूको बसाइ छोटो हुने गर्छ ।

हिन्दू धर्मावलम्बीहरूका लागि नेपालमा असंख्य धार्मिक स्थल छन् । तर, विकास हुन नसकेका कारण ती सबै छायामा परेका छन् । तिनीहरूको उचित विकास र संरक्षण हुन सकेको छैन । विश्वका विभिन्न मुलुकमा हिन्दूहरू छरिएर रहेका छन् । उनीहरू तीर्थयात्राका लागि नेपालमा पनि आउने गर्छन् । तिनीहरूको नेपालमा बसाइ १/२ दिनका लागि मात्र हुने गर्छ । हिन्दू धर्मावलम्बीहरूको नेपालमा बसाइ लम्ब्याउन नेपालका विभिन्न धार्मिक स्थलहरूको पहिचान गरी विकास गर्नुपर्छ । हाल चर्चामा रहेका धार्मिक स्थलहरूमा वराहक्षेत्र, खोटाङमा रहेको हलेसी महादेव, जानकी मन्दिर, दोलखाको दोलखा भीमसेन र कालिन्चोकको कालीमाई, नवलपरासीको बाबाधाम, मुस्ताङको मुक्तिनाथ, प्युठानको स्वर्गद्वारी, गोरखाको मनकामना, चितवनको देवघाट र काठमाडांै उपत्यकाका पशुपतिनाथ, तलेजु र कृष्णमन्दिर आदि छन् । यसप्रकारका धार्मिक स्थल नेपालका अन्य विभिन्न ठाउँमा पनि रहेका छन्, तिनको खोज, पहिचान र विकास गर्नाले बाह्य र आन्तरिक पर्यटकको लर्को लाग्न सक्छ । विश्वका विभिन्न देशमा हिन्दू धर्मावलम्बीहरू रहेका छन् ।

प्रस्तुत तालिकाबाट स्पष्ट हुन्छ कि नेपाल (८० प्रतिशत), भारत (७९ प्रतिशत), मौरिसस (४८ प्रतिशत), फिजी (२८ प्रतिशत), गायना (२३ प्रतिशत), भूटान (२२ प्रतिशत), ट्रिनिडाड (२२ प्रतिशत), सुरिनाम (१९ प्रतिशत), कतार (१६ प्रतिशत), श्रीलंका (१४ प्रतिशत) र बहराइन (१० प्रतिशत) मा कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बीहरूको बसोवास रहेको छ । यीबाहेक अन्य देशमा पनि हिन्दूहरूको बसोवास रहेको छ जसको विवरण तालिकामा दिइएको छ । नेपालले हिन्दू धर्मावलम्बीहरूलाई धार्मिक स्थलहरूको विकास गरी नेपाल भित्र्याउने प्रयत्न गर्नुपर्छ । माथि उल्लिखित धार्मिक स्थलहरूको उचित विकास गरी विश्वका हिन्दू धर्मावलम्बीको आकर्षण र आस्थाको केन्द्र बनाउन आवश्यक छ ।

विश्वका हिन्दू धर्मावलम्बीहरूलाई नेपालमा आउने वातावरण सृजना गर्नुका अतिरिक्त भारतमा रहेका हिन्दू धर्मावलम्बीहरूलाई आकर्षित गर्न नयाँ धार्मिक स्थलहरूको पहिचान गर्नुपर्छ । भइरहेका धार्मिक स्थलहरू मर्मत सम्भार र सुविधायुक्त बनाउनुपर्छ भने पहिचान भएका नयाँ धार्मिक स्थलहरूको विकास गरी प्रचारप्रसार गर्नुपर्छ । नेपाल र भारतको भाषा, संस्कृति, धर्म र परम्परा एकनासको छ । नेपाल र भारत दुवै देशमा रहेका मठमन्दिर दुवै देशका नागरिकका लागि साझा छन् अर्थात् यी मठमन्दिर दुवै देशका नागरिकको साझा सम्पत्तिका रूपमा रहेका छन् । नेपालीहरू भारतमा तीर्थ जाने गर्छन् भने भारतीयहरू नेपालमा ।

भारत जनसंख्याको हिसाबले विश्वको दोस्रो ठूलो देश हो । भारतको आर्थिक अवस्था सुधारोन्मुख छ । भारतीयहरू धनी त छँदै छन् त्यहाँ तीव्र आर्थिक विकास भइरहेकाले पनि भारतीयहरू अझ धनी बनिरहेका छन् । मानिस जति सम्पन्न भयो त्यति नयाँनयाँ ठाउँमा गएर मनोरञ्जन लिने, धर्म गर्ने, नयाँनयाँ ठाउँहरूको भ्रमण गर्ने गर्छन् । धार्मिक उद्देश्य लिने भारतीयहरूलाई नेपाल उर्वर भूमि हो । मधेशमा रहेको जानकी मन्दिरदेखि हिमालयपारि रहेको मुस्ताङको मुक्तिनाथ अनि दोलखा र खोटाङ जिल्लामा रहेको भीमेश्वर मन्दिर, कालिन्चोक र हलेसी महादेवको ओडार जस्ता धार्मिक स्थल नेपालमा अनगिन्ती छन् । तिनीहरूको पहिचान गरी विकास गर्न नेपालले पहल गर्नुपर्छ ।

भारतबाहिर रहेका भारतीय भारत भ्रमणमा आउने गर्छन् । उनीहरूको भ्रमणको उद्देश्य पारिवारिक जमघटका साथै तीर्थव्रत गर्ने पनि हुन्छ । नेपालमा विविध प्रकारका मनोरञ्जन स्थलहरू भएका कारण भारतीय तीर्थालुहरू नेपाल आउने प्रबल सम्भावना हुन्छ । यसलाई नेपालले सजीव बनाउन नयाँनयाँ धार्मिक स्थलहरूको पहिचान र विकास गरी आकर्षक र आस्थाको केन्द्र बनाउन जरुरी छ ।

प्रत्येक वर्ष नेपालको कुल व्यापारघाटाको ६० प्रतिशत अंश भारतसँग रहने गरेको छ । नेपालसँग भारतमा निर्यात गर्ने वस्तु अत्यन्त कम रहेको छ भने नेपालले दैनिक आवश्यकताका वस्तुहरूदेखि निर्माण सामग्रीसम्म भारतबाट आयात गर्छ । सन् २०१९ मा नेपालले भारतबाट ७७८ करोड अमेरिकी डलर बराबर रकमको आयात गरेको थियो भने जम्मा ६६ करोड अमेरिकी डलर बराबर रकमको निर्यात गरेको थियो । यसरी बढ्दो आयात र न्यून निर्यातका कारण भारतसँग हुने व्यापारको असन्तुलन वर्षेनि बढ्दै गएको छ ।

भारतबाट मौसमी रूपमा केही वा नगण्य मात्रामा विप्रेषण आउने गरेको छ । स्थायी रूपमा आउने पेन्सन हो तर यो अत्यन्त कम छ । यसले भारतबाट आयात गरिने तरकारीलाई पनि धान्दैन । एकातिर भारततर्फ निर्यात गरिने वस्तु न्यून हुनु र अर्कोतिर भारतबाट आउने पेन्सन र विप्रेषण पनि कम हुने भएकाले नेपालमा आवश्यक हुने भारतीय मुद्राको यथेष्ट आम्दानी हुन सकेको छैन ।

निरन्तर बढिरहने व्यापारघाटा कम गराउन नेपालले भारतीय पर्यटक भित्र्याउने प्रयत्न गर्नुपर्छ । मनोरञ्जनका स्थलहरूको विकास गरी भारतीयहरूको नेपाल बसाइ लम्ब्याउन आवश्यक छ । धार्मिक स्थलहरूको भ्रमणका लागि हवाई र सडक मार्गका लागि प्याकेजको व्यवस्था हुन जरुरी छ । यसो गर्नाले भारतीय धार्मिक पर्यटकको नेपाल बसाइ लम्बिन्छ भने नेपालीहरूका होटेल तथा लज व्यवसाय फस्टाउन थाल्छ ।

यसको विकासले नेपालीहरूलाई घरभित्रै रोजगारीको सृजना हुन्छ । नेपालीहरूको आयस्तर वृद्धि भई जीवनस्तरमा सुधार हुन्छ । कहालीलाग्दो व्यापारघाटामा पनि कमी आउँछ । भारतसँग भइरहेको अत्यधिक व्यापारघाटा घटाउन धार्मिक स्थलहरूको विकास र संरक्षण गरी भारतीय धार्मिक पर्यटक नेपालमा आकर्षित गर्न सक्नुपर्छ । भारतमा रहेका विशाल हिन्दू धर्मावलम्बीहरूलाई आकर्षित गर्न नेपालले धार्मिक स्थलहरूको पहिचान र विकास गरेमा भारतीय पर्यटकका लागि नेपाल सदाको धार्मिक स्थल बनिरहन सक्नेछ । यसबाट नेपालले निरन्तर रूपमा विदेशी मुद्रा आर्जन गरी अहिले भइरहेको व्यापारघाटामा कमी ल्याउन सक्छ । लेखक अर्थशास्त्री हुन् ।

  • १९ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech