१६ चैत्र २०८०, शुक्रबार

बाँकेमा निर्वाचन सरगर्मी एक बहस
  • न्युज मानसराेवर

बाँके\साउने झरीको मौसममा अत्यधिक गर्मीले तात्ने गरेको बाँकेमा यतिबेला चुनावी सरगर्मी बढेको छ। सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेपछि बाँकेमा राजनीतिक जोडघटाउ सुरु भइसकेको छ।

ठूला राजनीतिक दलसहित अन्य साना दलहरूले समेत बेलाबेला वर्चस्व देखाउन सक्ने र देखाउँदै आएको नेपालगञ्जसहितको बाँके प्रत्येक निर्वाचनमा चासोको केन्द्र बन्ने गरेको छ। त्यो चासो अहिलेको निर्वाचनमा थप बढेको देखिन्छ। पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जको सहरी क्षेत्र बाँकेको क्षेत्र नम्बर २ मा पर्छ।

३ निर्वाचन क्षेत्र भएको बाँकेमा अन्यको तुलनामा क्षेत्र नम्बर २ सधैं चर्चामा आउने गरेको  छ। नेपालगञ्ज उपमहानगर रहेको बाँकेको क्षेत्र नम्बर २ नेपाली कांग्रेसका पूर्वसभापति तथा तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाको क्षेत्र मानिन्छ। कोइरालाले तीन पटक निर्वाचन जितेको स्थानलाई कांग्रेसले आफ्नो सुरक्षित क्षेत्रको रूपमा अथ्र्याउने गरेको छ। राप्रपाले समेत क्षेत्र नम्बर २ लाई आफ्नो उर्बर क्षेत्र भन्ने गरेको छ। यही क्षेत्रबाटै राप्रपा महामन्त्री डा. धबलशमशेर राणा नेपालगञ्ज उपमहानगरको नगर प्रमुखमा निर्वाचित भएर पाँच वर्षे कार्यकाल पूरा गरिसकेका छन्।

कांग्रेसका पूर्वसभापति स्व. सुशील कोइराला र राप्रपा महामन्त्री राणाको निर्वाचन क्षेत्र रहेको यहाँ दुई दशकदेखि यिनै दुई नेताबीच प्रतिस्पर्धा हुँदै आएको छ।  बाँके क्षेत्र नम्बर २ जनता समाजवादी पार्टी जसपाको पकडमा छ भन्नेहरू पनि कम छैनन्। हालका बहालवाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका मोहम्मद इस्तियाक राई गत निर्वाचनमा यही क्षेत्रबाट राम्रो मतसहित निर्वाचित भएका हुन्। उनले आफ्नो पक्षमा जनमत निर्माणमा निकै मिहिनेत गरेको राजनीतिक वृत्तमा चर्चा हुँदै आएको छ।

कार्यकर्ता परिचालनमा पहिलेदेखि नै चासो राख्दै आएका इस्तियाक जिल्ला आएको समय कार्यकर्तालाई भेट्ने, स्थानीय विकासमा छलफल गर्नेदेखि विभिन्न अवस्थामा राहतका सामग्री लिएर मतदाताकै आँगनमा पुग्ने भएकाले उनको चर्चा बेग्लै प्रकारको छ। यसबाहेक तुलनात्मक रूपमा कमजोर देखिएका नेकपा एमाले र नेकपा माओवादीको चुनावी अभियान पनि यस पटक कमजोर आकलन गर्न मिल्ने खाले नभएको स्थानीय जानकार बताउँछन्।

पूर्वसभापति स्व. कोइरालाले तीन पटक निर्वाचन जितेको क्षेत्र यस पटकको निर्वाचनमा कांग्रेस नछाड्ने पक्षमा देखिएको छ। यसअघिको निर्वाचनमा वाम गठबन्धनविरुद्ध राप्रपालाई समर्थन गरेर निर्वाचनमा होमिएको कांग्रेसले यो क्षेत्रबाट हात धुनुपरेको थियो। यसलाई कतिपयले बाँकेमा कांग्रेस कमजोर देखिएको समेत विश्लेषण गरेका थिए।

तर कांग्रेस बाँकेका सभापति नारायण गौडेल क्षेत्र नम्बर २ मात्र नभई बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको पकड रहेको बताउँछन्। सत्ता सम्हालिरहेको पार्टीले बाँके छाड्नु घातक हुने गौडेलको अनुमान छ। क्षेत्र नम्बर २ मा दाबी गर्नुका पछाडि भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा धेरै मत आएको उक्त पार्टीका नेताहरू बताउँछन्।

स्थानीय तह निर्वाचनमा नेपालगञ्जमा गठबन्धन गरेर जितेको कांग्रेसले क्षेत्र नम्बर २ मा पर्ने डुडुवा गाउँपालिकामा गठबन्धनबिनै जित हात पारेको थियो।  कांग्रेस बाँकेकी नेतृ तथा नेपालगञ्ज उपमहानगरकी निवर्तमान उपमेयर उमा थापा सामाजिक सञ्जालमा कांग्रेसले विरासत जोगाउँदै आएको क्षेत्र छाड्न नहुने उल्लेख गरेकी छन्। केन्द्रीय स्तरमा दलहरूबीच हुने गरेको सिट बाँडफाँटले गएको निर्वाचनमा कांग्रेस कमजोर देखिएको पार्टीभित्रकै नेताहरूको ठहर छ।

दशकौंदेखि खाइपाई आएको क्षेत्र अहिलेको निर्वाचनमा समेत छाड्नुपर्ने हो कि भन्ने कांग्रेसमा त्रास छ। त्रासकै बीच कांग्रेसका नेताहरू टिकट प्राप्त गर्ने लाइनमा छन्। त्यो लाइन जिल्ला पार्टीका पूर्वसभापति किरण कोइराला, सुरेन्द्र हमाल, गजेन्द्र हमालदेखि निरञ्जनसिंह सिजापतिसम्मका नेताहरू देखिएका छन्।

जसपा नेता तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईलाई पन्छाएर गठबन्धनभित्रकै लडाइँ जित्न कांग्रेसलाई कठिन हुने देखिएको छ। यसको कारणचाहिँ जसपाका लागि इस्तियाक राईले गरेको लामो समयदेखिको लगानी उठाउने प्रमुख क्षेत्रमध्ये बाँके क्षेत्र नम्बर २ पनि हो। राई वर्तमान समय बाँकेमा प्रभावशाली र लोकप्रिय नेताको रूपमा गनिन थालेका छन्।

सोही कारण जसपा इस्तियाक राईलाई समातेर यो क्षेत्र कुनै पनि हालतमा छाड्ने मनस्थितिमा छैन।  मन्त्री इस्तियाक राईको प्रतिस्पर्धी नै नभएको पार्टीका सचिव राजेन्द्र विश्वकर्मा दाबी गर्छन्। यदि कांग्रेसलाई विकल्प दिएर राईले टिकट पाए उनको असली प्रतिस्पर्धा राप्रपा महामन्त्री तथा निवर्तमान नगरप्रमुख राणासँग हुनेछ। राप्रपा महामन्त्री राणाले आफ्नो जीवनकालभर मिहिनेत गरेको बाँके क्षेत्र नम्बर २ को  यो निर्वाचनमा अन्य दललाई कठिन हुने देखिन्छ।

बाँके क्षेत्र नम्बर १ मा कांग्रेसबाट पार्टी सभापति नारायण गौडेलदेखि क्षेत्रीय सभापति पोषण केसीले समेत इच्छा देखाएका छन्। नेकपा माओवादीबाट वर्तमान सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र प्रदेशसभा सदस्य कृष्णा केसीको दाबी रहेको बुझिएको छ। नेकपा एमालेबाट सूर्य ढकाल र देवराज भारको नाम चर्चामा छ।

बाँके क्षेत्र नम्बर ३ का लागि कांग्रेसबाट बादशाह कुर्मी, लक्ष्मीनारायण शाह र मेघराज ओली आकांक्षीको रूपमा देखिएका छन् भने एमालेबाट जिल्ला पार्टी अध्यक्ष किस्मतकुमार कक्षपति, रत्न खत्री र भीम ओलीको नाम बाहिर आएको छ।

  • २५ श्रावण २०७९, बुधबार प्रकाशित

  • Nabintech