७ बैशाख २०८१, शुक्रबार

पक्की पुलले जोड्यो बिनौना र कचनापुर
  • रासस

बाँके\ बाँकेको राप्तीसोनारी गाउँपालिकाको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि आवागमनमा सहजता भएको छ । राप्ती सोनारी गाउँपालिका–२ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा पाँच सय ५० मिटर लामो पक्की पुल निर्माण भएपछि वडा नं ५ बिनौना र वडा नं २ कचनापुरवासीको सीधा सम्बन्ध र सम्पर्क जोडिएको छ ।

पुल नहुँदा वर्षाद्को समयमा आवागमन ठप्प हुने र हिउँदका महीनामा जोखिम मोलेर डुंगामार्फत नदी वारपार गर्नुपर्ने बाध्यताको अब अन्त्य भएको बिनौनास्थित भुवर भवानी माध्यमिक विद्यालयका शिक्षक रुद्र डाँगीले बताए । राप्ती नदीवारी कचनापुर निवासी शिक्षक डाँगीलाई नदीपारी बिनौनास्थित विद्यालय पुग्न वर्षाद्को समयमा कठिन हुने गर्दथ्यो । अहिले पुल बनेपछि बिनौना र कचनापुरवासीलाई आवागमनमा सहज भएको उनको भनाइ छ ।

पुल नहुँदा कचनापुर र बिनौनावासीलाई सवारी साधनमार्फत नदी वारपार गर्न करीब २५ किलोमिटर टाढा अगैया पुग्नुपर्ने बाध्यता रहेको थियो । पुलको निर्माणकार्य सम्पन्न भएर सवारीसाधन चल्न थालेपछि कचनापुर र बिनौना क्षेत्रका हजारौं सर्वसाधारणले राहात महसुस गरेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरका वडाध्यक्ष ज्ञानेन्द्र वलीले बताए । विसं २०७४ बाट निर्माण शुरू भएको उक्त पक्की पुल ५ वर्षभित्र गत असार मसान्तमा निर्माण सम्पन्न गर्ने सम्झौता अनुरूप कम्पनीले पुलको निर्माण सम्पन्न गरेको छ ।

तुँदी रसुवा कुमार श्रेष्ठ जेभीले रू. ७३ करोडको लागतमा सो पुलको निर्माणको ठेक्का पाएको थियो । ११ ओटा पिल्लर रहेको उक्त पक्की पुल ७ दशमलव ५ मिटर चौडाइको गाडी हिँड्ने लिक र पैदल यात्रुका लागि पुलको दुवै साइडमा १ दशमलव ७५ मिटरका बाटो गरी पुल ११ मिटर फराकिलो छ । पुलको निर्माण समयमै पूरा भई सञ्चालनमा आएपछि आवागमनमा जनतालाई निकै सहज भएको राप्तीसोनारीका नागरिक अगुवा रामदास थारूले बताए ।

  • २७ श्रावण २०७९, शुक्रबार प्रकाशित

  • Nabintech