८ बैशाख २०८१, शनिबार

लुम्बिनी सरकारको लुट : मुख्यमन्त्री र मन्त्रीहरुको सुविधा थप
  • न्युज मानसराेवर

बुटवल\ अनावश्यक रुपमा सचिवालयमा विभिन्न व्यक्तिलाई नियुक्त गरेर राज्यकोषको दुरुपयोग गरेको आलोचना बढिरहेका बेला लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा थप विज्ञ नियुक्त गर्नका लागि मन्त्रिपरिषदबाटै निर्णय गराएर बाटो खोलेको छ ।

वुधबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७४ को अनुसूची २ मा हेरफेर गरी सम्बन्धित सूचना स्वीकृत गर्दै यसरी सहज बनाएको हो । प्रदेश निर्माण, लगानी सम्मेलन लगायतका काम गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विज्ञको आवश्यकता परेकाले यसो गरेको सरकारको दाबी छ ।

सरकारका प्रवक्ता तिलकराम शर्माले कार्यसम्पादनका लागि यसरी थप गर्नुपरेको दाबी गरेका छन् । अहिले मुख्यमन्त्री कुलप्रसाद केसीको सचिवालय सल्लाहकारसहित १८ सदस्यीय रहेको समाचार सार्वनजिक भएपछि सरकारको आलोचना भइरहेको छ ।

मन्त्रिपरिषद् बैठकले जग्गा एकीकरण सम्बन्धी नियमावली, २०७९ को नियम ४ बमोजिमको उच्चस्तरीय निर्देशक समितिमा विज्ञ सदस्यहरुको सेवा सुविधा निर्धारण गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

बैठकले आर्थिक वर्ष २०७८/७९ मा आर्थिक दायित्व सिर्जना भई भुक्तानी क्रममा सरकारी लेखा प्रणालीमा आएको समस्याको कारणले भुक्तानी दिन नसकिएको भनी लेखा उत्तरदायी अधिकृतबाट सिफारिस भएको अवस्थामा प्रदेश लेखा नियन्त्रक कार्यालय र सम्बन्धित प्रदेश लेखा इकाई कार्यालयहरुले भुक्तानी दिन बाँकी विवरण (म.ले.प.फा.न. २२१) प्रमाणित गरी दिन स्वीकृत प्रदान गर्ने,निर्णय गरेको उनले बताए ।

यसैगरी प्रदेश विपद व्यवस्थापन कार्य सञ्चालन (तेस्रो संशोधन) निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरेको र विपद व्यवस्थापनलाई छिटोछरितो बनाउन निर्देशिका बनाएको,र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले तयार गरेको हवाई उद्दार सम्बन्धी कार्यविधि, २०७९ पनि स्वीकृत भएको शर्माले बताए ।

बैठकले लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्को संगठन संरचना र दरबन्दी पनि स्वीकृत गर्ने,वन पैदावार आपूर्ति संचालन कार्यविधि २०७९ स्वीकृत गर्ने, आइसोलेसन अस्पतालहरुको सेवा निरन्तरता र अस्पतालमा कार्यरत जनशक्तिको करार म्याद यही भदौ मसान्तसम्म थप्ने र प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्षमा कपिलवस्तुका मशहुद खाँलाई नियुक्त गर्ने निर्णय गरेकोे प्रवक्ता शर्माले जानकारी दिए ।

  • १ भाद्र २०७९, बुधबार प्रकाशित

  • Nabintech