नेपाल गौतम बुद्धको जन्मभूमि हो । उनको जन्म कहिले भयो र मृत्यु कहिले भन्नेबारेमा इतिहासकारहरूले नै यकीन गर्न सकेका छैनन् । जेहोस् नेपालको मध्यपश्चिममा पर्ने लुम्बिनीमा उनको जन्म आजभन्दा ५ सय ६३ ईसापूर्व भएको थियो भन्ने भनाइ पाइन्छ । उनको बाल्यकाल नेपालको कपिलवस्तुको तिलौराकोटमा व्यतीत भएको थियो । गौतम बुद्ध वास्तवमा बुद्धधर्मका प्रणेता हुन् ।त्यही कारणले अन्तरराष्ट्रिय जगत्का मानिसले गौतम बुद्धलाई ईश्वर मान्छन् । गौतम बुद्धको जन्मस्थल भएकाले अन्तरराष्ट्रिय जगत्मा नेपाल परिचित हुन पुगेको छ । भनाइ छ, उनले बुद्धत्वको प्राप्ति भने भारतको गया क्षेत्रमा बसेर गरेका थिए ।
गौतम बुद्धका धेरै महान् भनाइ छन् । लक्ष्यमा पुग्नुभन्दा पहिला राम्रोसँग यात्रा गर्नु, शरीरलाई स्वस्थ राख्नु, शान्ति मनभित्रैबाट आउँछ बाहिर नखोज्नु, अरूलाई चोट नदिनु, खुशी बाँड्नु, ईष्र्या नगर्नु, एक जग पानी एक एक थोपाको सम्मिश्रण हो, अरूको बाटोलाई उज्यालो बनाउनु, बोलेको, सिकेको र पढेको वाक्य प्रयोगमा ल्याउनु, रिस नगर्नु, हिजो बित्यो भोलि अनिश्चित छ, जिउनका लागि आजको एक क्षण मात्र हो, उद्देश्य प्राप्तिका लागि बाटो परिवर्तन नगर्नु, मानिसले आफ्नो रोग र स्वास्थ्यको रचना आफै गर्छ, अरूलाई जित्नुभन्दा आफैलाई जित्नु आदि गौतम बुद्धका मुख्य भनाइ हुन् । यिनै वाणीले गौतम बुद्धलाई विश्वका मानिसले भगवान् मानिरहेका छन् ।
विश्वका धेरै देशका मानिस बुद्धधर्मका अनुयायी छन्, विशेषगरेर पूर्वी एशियाका देशहरूका नागरिक । जापान, चीनलगायत अन्य धेरै देशका नागरिक बौद्धधर्म मान्छन् । आज विश्वका धनाढ्य मुलुकहरूका मानिस बुद्ध धर्मावलम्बी छन् ।
दक्षिण, पूर्वी, मध्यपूर्व एशियाका उदीयमान देशहरूका नागरिकको मुख्य धर्म बौद्ध रहेको तथ्य प्रस्तुत तालिकाले स्पष्ट पारेको छ । कुल जनसंख्यामा बुद्धिष्ट जनसंख्याको अनुपात तालिकामा प्रस्तुत गरिएको छ । कुल जनसंख्यामा बढी बुद्धिष्ट जनसंख्याको अनुपात हुने देशहरूमा कम्बोडिया (९६ दशमलव ८ प्रतिशत), थाइल्याण्ड (९२ दशमलव ६ प्रतिशत), म्यानमार (७९ दशमलव ८ प्रतिशत), भूटान (७४ दशमलव ७ प्रतिशत), श्रीलंका (६८ दशमलव ६ प्रतिशत), लाओस (६४ दशमलव शून्य प्रतिशत), मंगोलिया (५४ दशमलव ४ प्रतिशत), जापान (३३ दशमलव २ प्रतिशत) प्रमुख रहेका छन् । केही अपवाद छोडेर यी देशहरूमा बसोवास गर्ने मानिसको जीवनस्तरमा सुधार भइरहेको छ । थाइल्याण्ड, जापान, सिङ्गापुर, दक्षिण कोरिया, ताइवान, चीन, मकाउ, भियतनाम, मलेशिया र हङकङका धनाढ्य नागरिक बुद्धप्रति विशेष आस्था राख्छन् । यी देशमा बसोवास गर्ने केही मानिसको धर्म बुद्धिजम रहेको तथ्य उल्लेख गरिसकिएको छ ।
नेपालले उल्लिखित देशहरूसँग गौतम बुद्धको जन्मस्थललाई विकास गर्न सहकार्य पनि गरिरहेको छ । यसैको परिणाम स्वरूप विभिन्न बौद्धधर्म मान्ने मुलुकको सहयोगमा बुद्धको जन्मस्थल लुम्बिनीमा गुम्बाहरूको निर्माण भएको छ र निर्माण कार्य धमाधम भइरहेको पनि छ । बुद्ध जन्मिएको घर र ठाउँलाई संरक्षण गरिएको छ । बुद्ध दर्शनको पठनपाठनका लागि लुम्बिनी विश्वविद्यालयको स्थापना गरी सञ्चालनमा ल्याइएको छ । त्यस्तै गरी भैरहवामा गौतम बुद्ध अन्तरराष्ट्रिय हवाई मैदानको निर्माण गरी सञ्चालनमा ल्याइएको छ । बुद्धिष्ट पर्यटकलाई आकर्षित गर्न भएका यी कार्यले निश्चय पनि नेपालको विकासमा सहयोग पुग्न सक्ने अपेक्षा राख्न सकिन्छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भएको विकासले निश्चय पनि बुद्धिष्ट पर्यटकको नेपाल आगमनमा ऊर्जा थपेको छ । बुद्धिष्ट पर्यटकको आगमनमा वृद्धिले त्यसक्षेत्रमा ठूलठूला पाँचतारे होटेलको विकास गराउँछ । रोजगारीका अवसर सृजना हुन्छ । मानिसको जीवनस्तरमा सुधार आउँछ ।
लुम्बिनी क्षेत्रमा भएको विकासले बुद्धिष्ट पर्यटकको आगमनमा वृद्धि हुने तथ्यलाई नकार्न सकिँदैन । तर, यस क्षेत्रमा आउने पर्यटकको नेपाल बसाइ लम्ब्याउन अन्य क्षेत्रमा रहेको विविधताको पनि विकास गर्न जरुरी छ । पोखरा, काठमाडौं उपत्यका, सगरमाथा हिमाल क्षेत्रको विकास, पूर्वको लिम्बुवान र मध्यपहाडीमा रहेका तामाङ बस्तीमा रहेका गुम्बाहरूको मर्मत र सुधारका साथै तिनीहरूको संरक्षण, प्रचारप्रसार गर्न जरुरी हुन्छ । र्याफ्टिङ, प्याराग्लाइडिङ आदिको सहजता र उपलब्धताले पर्यटकलाई आकर्षित गराउँछ । यी क्षेत्रको विकास गरी लुम्बिनी क्षेत्रमा आउने पर्यटकलाई प्याकेजिङको व्यवस्था गर्नाले उनीहरूको नेपाल बसाइ लम्बिन सक्छ । जति पर्यटकको नेपाल बसाइ लम्बिन सक्यो त्यति नेपाललाई फाइदा पुग्छ । विदेशी मुद्राको आर्जनमा वृद्धि हुन्छ । नेपाली वस्तुको व्यापारमा वृद्धि हुन्छ । नेपालमा रहेका पर्यटकीय सम्पदाको विदेशी मुलुकहरूमा प्रचारप्रसारमा व्यापकता आउँछ । फलस्वरूप नेपालमा आउने पर्यटकको संख्यामा वृद्धि हुन्छ भने उनीहरूको नेपाल बसाइको अवधि थप हुन सक्छ ।
अन्त्यमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भएको विकासले विदेशी बुद्धधर्मावलम्बीहरूको नेपाल आगमनलाई टेवा पुर्याएको छ । यसैको अनुसरण गरी नेपालभरका धार्मिक स्थल र पर्यटकलाई मनोरञ्जन दिने विभिन्न स्थानको विकासले नेपाललाई समृद्ध बनाउन सक्छ । यसका निमित्त त्याग, तपस्या, परिश्रम र इमानदारीको आवश्यता पर्छ । कुनै पनि देशको विकास विनापरिश्रम र इमानदारी भएको हुँदैन । जसरी बुद्धिष्ट देशहरूले इमानदारी साथ लुम्बिनी क्षेत्रको विकासमा योगदान पुर्याएका छन् त्यसरी नै नेपालले पर्यटन क्षेत्रको विकासका लागि योगदान गर्न सक्नुपर्छ ।
नेपालमा थालनी गरिएका विकास कार्य बीचैमा गन्तव्यहीन हुन पुग्छन् । यसले के दर्शाउँछ भने कुनै पनि विकास कार्यको थालनी योजनाविना नै हुने गर्छ । सीमित स्रोतसाधनको सदुपयोगभन्दा दुरुपयोग हुन पुग्छ । यसप्रकारको दुस्साहसको अन्त्य हुन जरुरी भइसकेको छ । बेइमानीले पराकाष्ठा नाघेको छ । सीमित स्रोतसाधनको राम्रोसँग परिचालन भएको हुँदैन । पर्यटन क्षेत्रको विकासमा पनि मनपरीतन्त्र छ । प्राकृतिक हिमालका तस्वीर बनाउँदैमा पर्यटन क्षेत्रको विकासको बजेट खर्च भएको हुन्छ । पर्यटन क्षेत्रको विकासमा पोस्टर र पम्प्लेटको प्रकाशन मात्र पर्याप्त हुँदैन । त्यसकारण अन्तरराष्ट्रिय जगत्को सहकार्यमा भएको लुम्बिनी क्षेत्रको विकास अन्य पर्यटकीय क्षेत्रको विकासका निमित्त अनुसरण गर्न आवश्यक देखिन्छ । लेखक अर्थशास्त्री हुन् ।