१३ बैशाख २०८१, बिहीबार

उद्यमशीलतासँग शिक्षालाई जोड्न आवश्यक
  • न्युज मानसराेवर

नेपालको शिक्षा व्यावहारिक ज्ञानभन्दा बढी सैद्धान्तिक भयो भन्ने कुरा वर्षौंदेखि छलफलमा रहेको विषय हो । त्यही भएर विश्वविद्यालयको डिग्री प्राप्त गरेका कैयन्लाई व्यावहारिक ज्ञानको अभाव हुने गरेको छ । तर, पछिल्ला दिनमा भने केही सुधार हुँदै गएको छ । यद्यपि शिक्षालाई जीवनोपयोगी बनाउन गर्नुपर्ने काम थुप्रै छन् । केही वर्षयता नेपालमा व्यवस्थापन विषयको अध्ययनतर्फ युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । तर, व्यवस्थापनका व्यावहारिक पक्षबारे पर्याप्त रूपमा सिकाउने व्यवस्थापन कलेजहरूको भने अझै अभाव देखिन्छ ।

मानव संसाधन र प्राकृतिक स्रोतको समेत समुचित उपयोग गर्न व्यवस्थापन शिक्षा महत्त्वपूर्ण हुन्छ । तर, सही व्यवस्थापनको अभावमै नेपालले प्रगति गर्न नसकेको मानिन्छ । त्यसैले व्यवस्थापन शिक्षाको गुणस्तर बढाउन र यसमा समसामयिक परिवर्तन ल्याउन न्यू बिजनेश एज प्रालिले सन् २०१३ देखि हरेक वर्ष उत्कृष्ट व्यवस्थापन कलेजहरूलाई पुरस्कृत गर्नुका साथै यस क्षेत्रमा अझ नवीनता ल्याउन आवश्यक पक्षहरूबारे छलफलसमेत गराउने गरेको छ जुन कलेजहरूलाई उच्च वरीयतामा लैजान प्रोत्साहन गर्न सहयोगी देखिन्छ ।

न्यू बिजनेश एज प्रालिले बुधवार छैटौं संस्करणको न्यूबीज बी–स्कूल रेटिङ्स, र्‍याङ्किङ अवार्डस्को आयोजना गर्‍यो । त्यसमा सातै प्रदेशका उत्कृष्ट बी–स्कूल पुरस्कृत भएका थिए । देशका २ हजार ३ सय शिक्षण संस्थाको विश्लेषण गरेर निश्चित मापदण्डका आधारमा उत्कृष्ट संस्था चयन गर्नु चुनौतीपूर्ण काम हो । अन्य देशमा यस्तो र्‍याङ्किङका आधारमा विश्वविद्यालय र कलेजहरूको चयन गर्ने प्रवृत्ति पाइन्छ । नेपालमा उत्कृष्ट मानिएका कलेजमा अध्ययनार्थ भर्ना पाउन मुश्किल छ । छनोटका आधारहरू तय गरी कलेजहरूको र्‍याङकिङ गरिएकाले केही कलेज प्रतिस्पर्धामा नपरेका पनि हुन सक्छन् । तैपनि यस्तो कार्यक्रमले कलेजहरूलाई उत्कृष्ट प्रदर्शनमा प्रोत्साहित गर्न सक्छ ।

प्यानेल डिस्कसनमा व्यवस्थापन शिक्षाका विज्ञहरूले शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने बताए । पछिल्लो समय व्यवस्थापन शिक्षामा उद्यमशीलता विषय नै थपिएको पनि छ तर त्यो पर्याप्त छैन । किनभने अहिले कलेजहरूले सैद्धान्तिक अध्यापन प्रणालीलाई नै जोड दिएका छन् । व्यवस्थापन विषय सैद्धान्तिकका साथै प्रायोगिक पनि हो । उद्यमशीलता पनि त्यस्तै हो ।  त्यसैले यी विषयलाई उद्योगहरूसँग जोड्न आवश्यक छ । उद्योग व्यवसायहरूले भोगिरहेका समस्याबारे शैक्षिक संस्थाले विद्यार्थीहरूलाई शोध गराउन सक्छ । त्यस्तै केस स्टडी अध्ययनको अभिन्न अंग मानिन्छ । तर, नेपालमा केस स्टडी व्यावहारिक बन्न सकेको छैन । उद्योगहरूले केस स्टडी गराउन शैक्षिक संस्थाहरूको सहयोग लिने चलन अझै बसिसकेको छैन । केस स्टडीहरू गराउन सके विद्यार्थीहरूले व्यवस्थापनभित्रका वास्तविक समस्या बुझ्ने र त्यसको समाधानको नवीन सोच निकाल्ने अवसर पाउँथे ।

अन्य देशमा कम्पनीहरूले आफूले समाधान गर्न नसकेका व्यवस्थापनका जटिल समस्यालाई केसस्टडी गर्न लगाएर समाधान गरेका उदाहरण पाइन्छन् । तर, नेपालमा त्यसो हुन सकेको छैन । हुन त उद्यमशीलता कलेजमा पढेर हुने विषय होइन । तैपनि विद्यार्थीहरूलाई उद्यमशीलताका लागि आवश्यक कुरा सिकाउने, व्यावसायिक आइडियाहरू निकाल्न लगाउने, तिनलाई कसरी व्यावसायिक बनाउन सकिन्छ भनेर सहजीकरण गरिदिने लगायतका काम शैक्षिक संस्थाहरूले गर्न सक्छन् । शैक्षिक संस्थामा इन्क्युबेशन सेन्टरहरूसमेत बनाइएका हुन्छन् । तर, नेपालको व्यवस्थापन शिक्षा अझै प्रयोगात्मक हुन सकेको छैन ।

नेपालमा व्यवस्थापन शिक्षा सस्तोमा पढ्न पाइन्छ भन्ने सोच रहेको छ । तर, विकसित देशका विश्वविद्यालयहरूले व्यवस्थापन शिक्षाका लागि महँगो शुल्क लिएका छन् । त्यहाँको उत्पादनले ठूलाठूला कम्पनीमा सहजै नेतृत्व सम्हाल्न सक्छन् भन्ने विश्वास गरिन्छ । तर, नेपालमा पढेर भन्दा पनि परेर व्यवस्थापकीय क्षमता विकास गरेको अनभुव विभिन्न संस्थाका प्रमुखहरूको भनाइबाट थाहा पाइन्छ ।

अतः उद्यमशीलता र व्यवस्थापन शिक्षालाई सँगसँगै लैजान सक्ने खालको व्यवस्थापन शिक्षा नेपालका लागि आवश्यक छ । व्यवस्थापनको उत्कृष्ट शिक्षा प्रदान गर्ने यस्ता संस्थालाई सम्मानित गर्ने संस्कृतिको विकास गर्नुपर्छ । सबै पक्ष मिलेर नेपालको व्यवस्थापन शिक्षालाई विश्वस्तरीय बनाउन आवश्यक देखिन्छ । साथै शिक्षालाई उद्यमशीलतासँग जोड्नु अहिलेको आवश्यकता पनि हो ।

  • ३ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech