२६ आश्विन २०८१, शनिबार

पैसाको कारोबार नहुने टाइम बैंक
  • न्युज मानसराेवर

जगद्गुरु शंकराचार्यद्वारा रचित ‘चर्पटपञ्जरिका स्तोत्र’मा एउटा यस्तो श्लोक रहेछ– यावद्वित्तोपार्जनशक्तस्तावन्निजपरिवारो रक्तः । पश्चाज्जीवति जर्जरदेहे वार्तां कोऽपि न पृच्छति गेहे ।

(भावार्थ : जबसम्म धन सम्पत्ति कमाउने सामथ्र्य रहन्छ तबसम्म परिवारले देखभाल चासो राख्छन्, पछि वृद्ध अवस्थामा जर्जर देहका साथ यताउति भौंतारिएर बस्दा कसैले पनि हालखबरसमेत सोध्दैनन्।

यस्तै अवस्थामा साथ सहयोग पाइयोस् भनेर आफू सक्षम हुँदा अरूलाई साथ सहयोग गर्नुपर्छ भन्ने मान्यता पूर्वीय दर्शनले राखेको देखिन्छ । यसैको व्यावहारिक प्रयोग स्वरूप कतिपय नेपाली ग्रामीण समाजमा अहिले पनि पर्म प्रथा कायमै छ । खेतीपातीको कामदेखि जन्ती मलामीसम्मका लागि एकआपसमा सेवा सहयोगको आदानप्रदान नेपाली ग्रामीण समाजको विशेषता नै हो । तर, यस्तो सेवा सहयोगको आदानप्रदानको हिसाब किताब औपचारिक अभिलेखको माध्यमबाट राखिने गरिँदैन ।

पछि पश्चिमी देशहरूमा भने कसैले गरेको यस्तो प्रकारको सेवा सहयोगको औपचारिक रूपमा हिसाब किताबसहितको अभिलेख राखी भविष्यमा आफूलाई आवश्यक परेका बेलामा उपयोग गर्न सकिने व्यवस्थाको परिकल्पना गर्न थालियो । कालान्तरमा यसै परिकल्पनालाई साकार रूप दिने क्रममा ‘टाइम बैंक’को विकास भएको पाइन्छ ।

कसरी हुन्छ कारोबार ?
अहिले विश्वका धेरै देशमा टाइम बैंक कार्यान्वयनमा आइसकेका छन् । यसले मानिसलाई पैसाको होइन, समयको कारोबार गर्न मद्दत र प्रोत्साहित गर्छ ।

अन्य सामान्य बैंकहरूमा आफूले आर्जन गरेको रकम जम्मा गर्ने गरिन्छ भने टाइम बैंकमा आफूले श्रम गरेको समयलाई बचत गर्न
सकिन्छ । यस अर्थमा श्रम समयलाई कारोबारको एकाइको रूपमा टाइम बैंकमा कारोबार हुन्छ भन्न सकिन्छ । पैसाको कारोबार गर्न अन्य बैंकमा खाता खोलिएजस्तै टाइम बैंकमा पनि श्रम समयको कारोबार गर्न खाता खोल्नुपर्छ र सोही खातामार्फत आफ्नो श्रम समय बचत गर्न
सकिन्छ ।

समाजमा आफूले गर्ने श्रम वा योगदानलाई एकाइका रूपमा बचत गर्न सकिने भएकाले यसरी बचत गरिने ‘समय’ लाई ‘सामाजिक मुद्रा’ भनेर पनि सम्बोधन गर्ने गरिन्छ ।

आफूले जम्मा गरेको ‘समय’ भविष्यमा आफूलाई आवश्यक परेका बेलामा उपयोग गर्नका लागि त्यतिखेर त्यस्तो समय दिन सक्ने व्यक्तिको आवश्यकता पर्ने भएकाले यस्तो बैंकमा आबद्ध सदस्यहरू बीच मात्र यस प्रकारको बचत तथा खर्चसम्बन्धी कारोबार गर्न सम्भव हुन्छ ।

दुई भिन्न प्रकृतिका बीप भएका व्यक्तिका बीच एकअर्काको शीप तथा समय आदानप्रदान गरी दुवै पक्षले पारस्परिक लाभ लिन सक्ने उपयुक्त माध्यमका रूपमा पनि टाइम बैंकलाई प्रयोग गर्न सकिन्छ ।

विकासक्रम
हुन त अठारौं शताब्दीदेखि नै टाइम बैंकको अवधारणामा आधारित विभिन्न प्रकारका संस्थागत अभ्यासहरू नभएका होइनन् तापनि जापानमा तेरुको मिजुसिमा नाम गरेकी एक महिलाले सन् १९७३ मा स्थापना गरेको ‘भोलिन्तियर लेवर बैंक’ लाई आधुनिक टाइम बैंकको आदिम स्वरूप मान्न सकिन्छ ।

अहिले विश्वका विभिन्न देशमा सञ्चालनमा रहेका टाइम बैंकको अवधारणा विकास गर्नुको श्रेय भने कानून विषयका एक अमेरिकी प्राध्यापक एड्गर स्टुअर्ट काहनलाई जान्छ । तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको प्रशासनले सामाजिक कल्याणका कार्यक्रमहरूमा कटौती गरेको परिप्रेक्ष्यमा न्यायका लागि आवश्यक पर्ने विनयशीलता, परोपकार तथा करूणाजस्ता विषय खाँचो पर्नेहरूका लागि उपलब्ध गराउनुपर्ने सन्दर्भ जोडेर उनले सन् १९८० मा टाइम बैंकको अवधारणा सार्वजनिक गरेका थिए ।
आफ्नो प्रसिद्ध पुस्तक ‘नो मोर थ्रो अवे पिपल’ मा उनले टाइम बैंक अवधारणाका पाँचओटा आधारभूत सिद्धान्तको चर्चा गरेका छन् । उनको पहिलो सिद्धान्तअनुसार प्रत्येक व्यक्ति वैभवशाली हुन्छ र परोपकारका लागि ऊसँग उक्त वैभवको केही न केही अंश सधैं उपलब्ध हुन्छ ।

दोस्रो सिद्धान्तका रूपमा उनले कर्मको पुनर्परिभाषा गरेका छन् र मौद्रिक आर्जन गर्ने वा नगर्ने सबै प्रकारका कर्महरूको आफ्नै मूल्य हुन्छ र तिनलाई उचित तरीकाले पुरस्कृत गरिनुपर्छ ।

टाइम बैंक अवधारणाको अर्को कडीका रूपमा उनले व्यक्तिहरू बीचको पारस्परिकतालाई लिएका छन् । यो सिद्धान्तअनुसार समाजमा गरिने पारस्परिक मद्दतले एकआपसमा बलियो सम्बन्धका साथै समाजमा आपसी विश्वास र भरोसाको वातावरण सृजना गर्छ ।

समाजसँगको आबद्धताले र सामाजिक सम्बन्धहरूले जीवनलाई थप अर्थपूर्ण बनाउने भएकाले उनले सामाजिक आबद्धतालाई टाइम बैंकको अर्को महत्त्वपूर्ण तत्त्वका रूपमा ग्रहण गरेका छन् ।

एकअर्काप्रति दर्शाइने आदरभाव तथा सम्मानले स्वस्थ तथा प्रेमपूर्ण समाजको प्रतिनिधित्व गर्ने दर्शनमा आधारित भएर आपसी आदर सम्मानलाई पनि उनले यस्तो बैंकको अर्को एक महत्त्वपूर्ण आधारभूत सिद्धान्त मानेका छन् ।

यसरी माथि उल्लिखित पाँच सिद्धान्तका आधारमा टाइम बैंकको अवधारणा विकास गरेका उनैले अमेरिकामा सन् १९९५ मा ‘टाइम बैंकस् यूएसए’ को स्थापना पनि गरेका थिए । अहिले अमेरिकामा मात्र ५०० भन्दा बढी यस्ता टाइम बैंकहरू सञ्चालनमा रहेका छन् ।

विश्वका ३० भन्दा बढी देशमा विभिन्न स्वरूपमा संस्थागत टाइम बैंकहरू सञ्चालनमा रहेकोमा स्वीट्जरल्यान्डमा भने सरकारी तहबाट नै ‘टाइम बैंक’लाई औपचारिकता प्रदान गरिएको पाइन्छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले अघि सारेको योजनाअन्तर्गत कुनै व्यक्तिले परोपकारका लागि खर्चेको समय उसको सामाजिक सुरक्षा खातामा जम्मा हुन्छ र पछि आवश्यक परेका बेला त्यसलाई अरूमार्फत उपयोग गर्न सक्छ । त्यहाँ यसका लागि यस्ता बैंकहरूले सेवा उपलब्ध गराउन ‘स्वयंसेवी’हरूको व्यवस्था गरेको हुन्छ । बेलायत तथा सिंगापुरमा पनि सरकारले नै यस्ता बैंक सञ्चालन गर्ने योजना बनाएका छन् ।

भारतमा पनि विशेष गरी मध्यप्रदेशमा सरकारी प्रयासमा नै यस्ता बैंकहरू खोलिएका छन् । नेपालमा पनि समाज सेवीहरूको अग्रसरतामा गैरसरकारी संस्थाका रूपमा ‘टाइम बैंक नेपाल’ भन्ने संस्था खोलिएको जस्तो देखिए पनि यसको क्रियाकालापका बारेमा आम रूपमा जानकारी उपलब्ध छैन ।

जसरी पर्म प्रथामा सेवा वा समय आदानप्रदानको लागि दुई पक्षको सहमति आवश्यक पर्छ त्यसै गरी टाइम बैंकका लागि पनि सेवा दिने र लिने सोही बैंकका सदस्यबीच त्यस प्रकारको सहमति हुनु जरुरी देखिन्छ । टाइम बैंकमा आफ्नो खातामा जम्मा भएको श्रम एकाइका रूपमा रहेको बचतलाई सोही बैंकभन्दा बाहिरका सदस्यहरूले स्वीकार नगर्ने भएकाले पनि यसको दायरा सीमित हुन्छ । यस कारण टाइम बैंक एउटा सानो समूहका रूपमा सञ्चालन गर्न जति सहज र व्यावहारिक देखिन्छ । त्यसको दायरा फराकिलो भएपछि प्रभावकारितामा असर पर्ने स्पष्ट छ ।

वास्तवमा आफूले बचत गरेको श्रम समयको आधारमा अर्को व्यक्तिले आफूलाई सेवा गर्ने वा समय उपलब्ध गराउने भएकाले टाइम बैंकको कारोबारको प्रकृति हाम्रो गाउँघरतिर प्रचलित ‘पर्म प्रथा’ सँग मिल्दोजुल्दो देखिन आउँछ । लेखक बैंकर हुन् ।

  • ९ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech