६ जेष्ठ २०८१, आईतवार

आत्मनिर्भरतामा परनिर्भरता
  • न्युज मानसराेवर

नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात ४ प्रतिशत यसै हप्ताबाट लागू हुने गरी निर्देशन बनाएपछि बैंकहरूको लगानीयोग्य ५० अर्ब फेरी खुम्चिएको छ । ४ प्रतिशत बनाउनुको पछाडिको मुख्य कारण भनेको बैंकहरूले लगानी गर्न नसकून् भन्ने हो । यसकै लागि नेपाल राष्ट्र बैंकले पटकपटक बैंकहरूलाई ब्याजदर बढाउन दबाब दिइरहेको छ । प्रतीतपत्रमा गरिएको कडाइले एउटा हदसम्म भए पनि आयात नियन्त्रण गरेको छ । विषय यहाँ घुमी फिरी आत्मनिर्भरता हो भन्ने देखिन्छ । हाम्रो अर्थनीतिले हाल हाम्रो परनिर्भतालाई कम गरी आत्मनिर्भरतालाई प्रोत्साहन गर्दै गरेको बुझ्न सकिन्छ, जुन शायद धेरै हदसम्म ठीक पनि हो ।

तिहारमा खपत हुने फूल, तीजमा प्रयोग हुने लुगा वा गहना वा चामल हामी खासमा केहीमा पनि आत्मनिर्भर छैनौं । कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने सिद्धान्त मात्र हो, त्यसका लागि कुनै प्रकारको कार्य गर्न सकेका छैनौं । कृषिमा हामी तब मात्र आत्मनिर्भर हुन सक्छौं जब हामी उत्पादनको सम्पूर्ण वस्तु यहीँ निर्माण गर्न सक्छौं । अहिले बीउदेखि मलसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । ब्रोइलर कुखुरामा आत्मनिर्भर भनिरहँदा त्यसको दाना आयात गर्नुपर्ने अवस्था छ ।

आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७८/७९ को फागुनसम्ममा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, सुनलगायत वस्तुको आयात बढेको छ । आत्मनिर्भर भन्ने बहानामा नेपालले धागो, कच्चा उनहरू विगतभन्दा धेरै नै आयात गरिरहेको देखिन्छ । तर, त्यसको पृष्ठभूमि हेर्न पनि आवश्यक छ । सुती कपडा आयात वार्षिक रूपमा वृद्धि भइरहेको छ । कृषिमा आत्मनिर्भरता भनिरहँदा रासायनिक मलको आयात वार्षिक बढ्दै गएको देखिन्छ । हामी आफैलाई चाउचाउमा आत्मनिर्भर ठान्छौं तर त्यसका लागि चाहिने पाउडर मात्र गत आर्थिक वर्षको ८ महीनामा ११.८ करोडको आयात भएको छ । आत्मनिर्भर हुने बहानामा हामी पेट्रोलियम पदार्थ घटाउने र वैकल्पिक ऊर्जाको प्रयोग गरेभैंm गर्छौं । तर, पृष्ठभूमिमा सोलार प्यानल र स्टोरेज ब्याट्री आयातमा कमी ल्याउन सक्दैनौं ।

पूर्वाधार निर्माणलाई आत्मनिर्भरताको एउटा बलियो मेरूदण्ड भनी सोच्छौं । तर, उक्त निर्माण कार्यमा प्रयोग हुने सिमेन्ट, छडदेखि कामदारसम्म आयात गर्नुपर्ने बाध्यता छ । कागजदेखि एल्मुनियम, स्टील पाता, स्टील रड तथा सीट सबै आयात भएको छ । गोरखकाली टायर उद्योग बन्द गरेर अहिले ६३ करोड बराबरको टायर, ट्युब र फ्लेप आयात गरिन्छ । आफ्नै जंगलको काठको उत्पादकत्व वृद्धि गर्न नसकेर प्लाइउड तथा पार्टिकल बोर्ड मात्र वार्षिक ३७.४ करोड बराबरको आयात गर्छौं ।

आत्मनिर्भर रातारात हुने होइन । यो एउटा चरणबद्ध रूपमा आफ्नै गतिमा हुने काम हो । आत्मनिर्भरताका लागि एउटा बलियो र दिगो तयारी चाहिन्छ, जुन परामर्शबाट शुरू हुन्छ । हतारमा आयात रोकेर यदि हामी आत्मनिर्भर हुन खोज्दै छौं भने त्यसले भोलि परनिर्भरताको अर्को ढोका खोलिन थाल्छ । हामीले सोच्दै नसोची भित्री रूपमा अर्को तर्फबाट निर्भर हुन थालिसकेका हुन्छौं । गुणस्तरीय उत्पादन स्वदेशमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउन सकेमा मात्र हाम्रो आत्मनिर्भरताको प्रयास सार्थक हुन्छ । तर, अहिले ठीक उल्टो समय छ, एकातर्फ हामीले गुणस्तरीय उत्पादन गर्न सकेका छैनौं । अर्कोतर्फ हामी उत्पादन गर्न सक्ने दक्ष जनशक्ति दैनिक निर्यात गर्नेतर्फ व्यस्त छौं । हाम्रो निर्यात क्षमता पनि हालै भएको अलैंचीको मूल्यमा भारतीय शक्तिले पुष्टि गर्छ । घरको छतमा खोर्सानीमा आत्मनिर्भर भयौं भनिरहँदा त्यहाँ प्रयोग हुने मल हामीले कम्पोस्टबाट बनाएका हुँदैनौं बरु किनेर ल्याएका हुन्छौं ।

यदि ब्रोइलर कुखुरामा हामी दानामा निर्भर हुनुपर्ने अवस्था छ भने किन अस्ट्रिचलाई प्राथमिकतामा नराख्ने ? स्वदेशी उत्पादनको आपूर्ति शृंखलालाई नै हामीले बुझेर निर्भरताको सम्भावना टुंग्याउनुपर्छ । चाउचाउमा प्रयोग हुने मैदा यदि आयातित हो भने हामी चाउचाउमा आत्मनिर्भर छौं भनेर कसरी भन्न सक्छौं ? स्वदेशमै हामी चिनी उत्पादनलाई प्राथमिकतामा राख्न सक्छौं । हामी यहीभित्र नै रहेर उच्च खपत हुने वस्तुहरू उत्पादनमा जोड दिन सक्छौं । किन अहिले पनि चामल आयात गर्नुपर्ने अवस्था छ, हाम्रो उत्पादनले किन धान्न सकिरहेको छैन ? खेतीयोग्य जग्गा नपुगेर हो या हाम्रो खेती गर्ने शैली फरक भएर हो भन्नेबारे विस्तृत अध्ययन आवश्यक छ । हाल रोकिएको आयात केही समयलाई मात्र हो । त्यसपश्चात् फेरि बजारमा स्वदेशी उत्पादन रहेको चिप्सभन्दा भारतीय चिप्स नै प्राथमिकतामा पर्न जान्छ, गुणस्तरको कारण । बजारले फेरि त्यही पुरानै गति समात्छ अनि हाम्रो आत्मनिर्भर हुने चाह त्यहीँ सकिन्छ । आखिर हामीलाई मलेशियाको तेल, इटालीको जुत्ता र सुटको कपडा, स्वीट्जरल्यान्डको कफीको बानी परिसकेको छ ।

नेपाल भूपरिवेष्टित मुलुक हो । हामीले कसैको सहायता नलिई यहाँसम्म आइपुग्यौं भनेर दम्भ गरिरहँदा अहिले हामी विदेशी ऋणबाट परिचालित छौं । हो, आत्मनिर्भर हुन खोज्नु एउटा राम्रो पक्ष हो, राम्रो संकेत पनि हो ।  तर, आत्मनिर्भरताका लागि एउटा समय हुन्छ । एउटा तयारी चाहिन्छ । लहडमा आत्मनिर्भरतालाई एजेन्डा बनाउन खोज्दा झन् परनिर्भरतालाई प्रोत्साहन मिलिरहेको हुन सक्छ ।

अहिलेको समयमा अर्थतन्त्रलाई एउटा गति चाहिएको छ । चलायमान बनाउन आवश्यक छ । यस समयमा हामी आत्मनिर्भर हुन खोज्नेभन्दा पनि कसरी चल्ने हो, त्यसमा बढी केन्द्रित हुन आवश्यक छ । समग्र क्षेत्र ठप्प भइरहेको अवस्थामा हामीले परनिर्भर, आत्मनिर्भरभन्दा पनि चलायमान हुन बढी आवश्यक छ । रेग्मी बैंकर हुन् ।

  • १४ भाद्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech