बाँके\काठमाडौं लगायत देशका विभिन्न भागमा शनिबार बिहानैबाट वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी र वाग्मती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। विभागले आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ।
सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेकाले वर्षा हुने पहाडी भूभागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।