१९ आश्विन २०८१, शनिबार

बिरामीलाई नाकामा सास्ती
  • न्युज मानसराेवर

बाँके\बाँकेको खजुरा गाउँपालिका–४ एक नम्बरका तिलकवीर सुनार भारतको लखनउबाट छोरीको उपचार गरेर बुधबार घर फर्किने क्रममा नेपाल–भारत सीमामा आइपुग्दा रातिको ११ बजेको थियो ।भारतीय सीमा सुरक्षा बल (एसएसबी)लाई छोरी बिरामी भएको कागज देखाएपछि उनले सहजै दशगजा पार गर्न पाए । तर, जमुनाह नाकामा नेपाली सुरक्षाकर्मीले रोके । राति १० बजे सीमा बन्द भइसक्ने भन्दै सुरक्षाकर्मीले उनलाई नेपालगन्ज आउनै दिएनन् । उनले छोरी बिरामी भएकाले घर फर्किन पाउनुपर्ने आग्रह गरिरहे । तर, उनको केही सीप चलेन ।

भन्सारका कर्मचारीले राति ८ बजे सीमाको गेटमा ताला लगाएर चाबी आफैंसँग राखेर जाने भएकाले प्रवेश गर्न दिन असमर्थ भएको सुरक्षाकर्मीले बताए । अन्तिममा उनी अर्को बाटो भएर घर फर्किए । ‘छोरीको उपचारका क्रममा ढिलो भयो । ११ बजे राति जमुनाह नाका आइपुगेको थिएँ । एसएसबीले त छोड्यो तर नेपाली सुरक्षाकर्मीले छोड्न मानेनन्,’ खजुरा–४ का निवर्तमान वडाध्यक्षसमेत रहेका सुनारले भने, ‘भारतमा भन्दा असहज त आफ्नै भूमिमा रहेछ । कताकता विदेशी भूमिमा भएको भान पनि भो ।’

नेपालगन्ज उपमहानगरपालिका–११ का पवन शर्माले पनि यसै गरी सीमामा सास्ती व्यहोरेको घटना सुनाए । केही दिनअघि उनी पनि उपचारका लागि भारतको लखनउ पुगेका थिए । घर फर्किने क्रममा जमुनाह नाका आइपुग्दा रातिको ११ बज्यो । भारतीय सुरक्षा बल एसएसबीले दशगजा पार गर्न दिए । तर, नेपाली सुरक्षाकर्मीले भने गेट बन्द भइसकेको भन्दै नेपालगन्ज आउन दिएनन् । ‘दशगजामा बस्ने ठाउँ नै छैन । रातभरि खुला आकाशमुनि बस्ने कुरा पनि भएन,’ शर्माले भने, ‘एक त बिरामी, अर्कोतिर आफ्नै भूमिमा प्रवेश गर्न नपाउँदा मन रोयो ।’

बाँकेलगायत पश्चिमी क्षेत्रका बासिन्दाहरू दैनिकजसो भारतको लखउन जाने गर्छन् । स्वास्थ्य परीक्षण, अनेकखाले जाँच, चिकित्सकसँग परामर्श र औषधि खरिदले ढिलो हुने गर्छ, जसका कारण फर्किंदा रात पर्छ । राति सुरक्षाकर्मीले नेपाल प्रवेश गर्न नदिएपछि उनीहरूलाई सास्ती खेप्नु परेको हो । ‘भन्सारले रातिका बेला तस्करी हुन नदिन गेट बन्द गर्नु ठिकै होला । तर, बिरामीलाई फर्किन नदिनु त अति नै हो,’ अर्का भुक्तभोगी नेपालगन्ज–१० का कौशल गुप्ताले भने, ‘राति सीमामा अपराधीलाई जस्तो व्यवहार गरिन्छ ।’

राति १० बजेपछि जमुनाह नाकामा सुरक्षाकर्मीले बिरामी बोक्न सवारी साधन लैजान दिंदैनन् । ई–रिक्सा, अटोसमेत चल्न नदिंदा भारतबाट उपचार गरी फर्किनेले सास्ती झेल्नु परेको छ । इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सई माधव रिजालले मूल गेट र भन्सारअगाडिको गेटमा भन्सारका कर्मचारीले ताला लगाएर चाबी आफूसँगै लिएर जाने गरेको बताए । ‘मेरो सम्पर्कमा आएका बिरामीलाई राति पनि आउन दिएका छौं,’ उनले भने, ‘इमर्जेन्सी हेरेर आफूहरूले भारतबाट आउन दिए पनि गेटमा ताला लगाइएका कारण समस्या हुने गरेको छ ।’

नेपालगन्ज भन्सार प्रमुख नरबहादुर थापाले राति कार्यालय बन्द हुने भएकाले मालबाहक गाडी रोक्न गेट बन्द गरिंदै आएको बताए । अत्यावश्यकबाहेक राति गेट खोल्न नदिने गरेको उनको भनाइ छ । ‘वास्तवमै कोही बिरामी छ भने एम्बुलेन्सका लागि गेट खुल्छ । तर, जोकोहीलाई गेट खोल्ने कुरा भएन,’ उनले भने । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले राति भारतबाट फर्किनेलाई पैदल आउन दिन सुरक्षाकर्मीलाई निर्देशन दिएको बताए । ठूला मालाबाहक गाडीलाई रोकिएको उनको भनाइ छ ।

‘सवारीसाधन भन्सार क्षेत्रबाट जमुनाहसम्म चल्दैनन् । तर, पैदल आउनेलाई नरोक्न निर्देशन दिएका छौं,’ उनले भने, ‘गाडी नचल्दा भारतबाट आउनेलाई समस्या हुन सक्छ । बिरामीलाई नेपाल फर्किन दिनु भनेर निर्देशन छ ।’

  • २६ भाद्र २०७९, आईतवार प्रकाशित

  • Nabintech