१९ आश्विन २०७९, बुधबार

आज जितिया पर्वको मुख्य दिन ‘उपवास’ बसिँदै
  • रासस

बाँके\थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।

यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ ९दर खाने०, अष्टमीको दिनलाई ‘उपवास’ (व्रत) र नवमीको दिनलाई ‘पारन’ (व्रत समाप्त) भनिन्छ । सप्तमीको दिन शनिबार महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू झाम्टा र गीत गाउँदै यो पर्व मनाएका छन् ।

उनीहरुले भाद्र कृष्ण अष्टमी (आज)को दिनमा जितिया मनाउँछन् । थारू अगुवा शिखाराम थनेतले जितियामा सामूहिक नाचगान र पूजाआजा हुने बताए। उनले अविवाहिताले राम्रो वर पाउन र विवाहिताले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको उनले जानकारी दिए।

हिन्दू नेपाली महिलाले मनाउने तीज पर्वजस्तै थारू समुदायको जितिया पर्व रहेको उनको भनाइ छ । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन रहेको छ । यस्तै जितियामा कोसेली (पहुरा) पु¥याउने चलन पनि छ ।

सप्तमीको दिनमा दर खाएपछि अष्टमीको दिनमा महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ दिनभर पानी पनि नखाइ ९निराहर० ‘उपास’ व्रत बस्ने मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले बताउनुभयो । बर्तालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन् । त्यसपछि साँझपख सबै बर्तालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहँदै आएको उनको भनाइ छ ।

भाद्र अष्टमी अर्थात् जितियाको मुख्य दिनमा रुखको चारैतिर बर्तालु महिला फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्ने उपप्रमुख चौधरीको भनाइ छ । विगतका वर्षमा गाउँको कुनै एक भद्र पुरुषले जीतवाहनको कथा (जितिया व्रत कथा) घण्टौँ लगाएर सुनाउने गर्ने प्रचलन रहेको भए पनि विस्तारै त्यो परम्परा हराउँदै गएको जनाइएको छ । कथा सकिएपछि सबै जना घर गएर फराहर (फलफूल तथा मिठो चोखो खाने) गर्थे ।

जितियाको तेस्रो तथा अन्तिम दिन नवमीमा सबेरै सबै बर्तालु महिला खोलामा नुहाएर निराकार प्रतिमूर्ति ( ‘गरग्वाङ’ ) बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि बर्तालुले दही चिउरा, केरालगायतका खानेकुरा खान बस्छन् । तर खानुभन्दा अगाडि गुइँठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ ।

यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ । हिन्दू धर्मावलम्बी नेपाली महिलाले मनाउने तीजजस्तै थारू समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका नगरउपप्रमुख चौधरीले बताए। पछिल्लो समय जितिया पर्वको रौनकता हराउँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

सार्वजनिक बिदा

जितियाका अवसरमा नवलपरासी (बर्दघाट–सुस्तापूर्का) चारवटा पालिकामा आज सार्वजनिक बिदा हुने भएको छ ।मध्यविन्दु , कावासोती र देवचुली नगरपालिका सहित विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइने भएको हो ।

ती पालिकाले छुट्टछुट्टै सूचना जारी गर्दै आज पालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था र सार्वजनिक संस्थामा बिदा दिइएको जनाएका छन् । नवलपुरको त राई क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेको छ ।थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो–मसिनो खाएर पर्व मनाउने गर्दछन् । जितियामा खासगरी महिलाहरू झाम्टा नृत्य गर्ने गर्दछन् ।

  • २ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech