६ बैशाख २०८१, बिहीबार

३७ जनाको भान्सा एउटै
  • न्युज मानसराेवर

बाँके\एकल परिवारमा बाँडिइरहेको हाम्रो समाजमा संयुक्त परिवार देख्न विरलै पाइन्छ । धेरै दाजुभाइ छुट्टिएर एकल परिवार बनाएर बसेका हुन्छन् । तर नरैनापुर गाउँपालिका–५, जमुनाह गाउँमा ३७ जनाको परिवारका लागि एउटै भान्सामा खाना पाक्छ । सबै जना जुट्दा घरमा रौनक थपिन्छ । बिहे अनि चाडपर्वको माहोल बन्छ । कहिलेकाहीं पाहुना आउँदा घरमा अटाउन पनि मुस्किल पर्छ ।

जमुर्ता खाँ परिवारमा ३७ जना सबै एउटै छानामुनि बस्दै आएका छन् । एक आमासहित ६ भाइका पत्नी, छोराछोरी गरी ३७ जना एउटै घरमा बसिरहेका हुन् । केटाकेटीदेखि किशोरकिशोरी र वृद्धसम्म एउटै छानामुनि रमाइरहेका छन् । सबैको आ–आफ्नो कोठा नभए पनि घरवरिपरि र छतमा उनीहरू सुत्ने गर्छन् । ६ दाजुभाइका २४ जना छोराछोरी एकै घरमा मिलेर बसेका छन् ।

एकैपटक ३७ जनालाई खाना पकाउन नसक्दा भान्सामा बिहान अनि साँझ दुई–दुईपटक खाना बनाउनु पर्छ । ‘बिहान बच्चाहरू खाना खाएर स्कुल जान्छन्, त्यसपछि हामीहरूले आफ्ना लागि खाना पकाउँछौं,’ साइला छोरा समशुल खाँले भने, ‘एकै ठाउँमा कोचाकोच गरेर भए पनि बसेका छौं । ठूलो परिवारमा बस्ने बानी परेकाले छुट्टिएर बस्नै मन मान्दैन ।’

जग्गा–जमिन अहिलेसम्म भागबण्डा गरिएको छैन । एउटै भान्सा भएकाले घरखर्चको हिसाबकिताब पनि छैन । ६ दाजुभाइमा माइला र कान्छा वैदेशिक रोजगारीका लागि विदेश जाने आउने गर्छन् । अन्यले खेतीपाती गरेर घरपरिवार धानिरहेका छन् । ‘सबैले आ–आफ्नो हिसाबले कमाए पनि घर व्यवस्थापनको जिम्मा मेरो हातमा परेको छ,’ परिवारका साइला छोरा समशुल खाँले भने, ‘खर्च र बचत संयुक्त रूपमै गरेका छौं ।’

भान्सादेखि घरको सरसफाइ ६ जना बुहारीको हातमा हुन्छ । पालैपालो आफ्नो पालोमा उनीहरूले खाना पकाउँछन् । अचम्म त के भने ३७ जनाको परिवारमा कहिल्यै पनि झगडा भएको थाहा नभएको बुहारीहरूले सुनाए । पालैपालो आफ्नो जिम्मेवारी पूरा गर्ने गरेकाले कुनै मनमुटाव अहिलेसम्म नभएको घरकी साइली बुहारी चन्दा बेबी खाँले सुनाइन् । ‘लडाभाँती र झगडा केका लागि गर्ने ? घरमा जे पाक्छ, सबैले त्यही खान्छौं,’ उनले भनिन्, ‘सबैका लागि एकै प्रकारका कपडा ल्याइन्छ । विभेद नै नभएपछि झगडाको बहाना पनि भेटिंदैन ।’

यो परिवारलाई एउटै डोरीले बाँध्ने मुखिया हुन्, ८२ वर्षीया आमा जमुर्ता खाँ । उनी अझै टाठै छिन् । घरको बागडोर उनकै हातमा छ । ‘छोरा–बुहारी र नाति–नातिनाहरू एउटै आँगनमा खेलेको देख्दा बडो आनन्द आउँछ,’ उनले भनिन्, ‘मान्छे एक दिन मरेर जाने हो, बाचुन्जेल हाँसीखुसी बाँचौं । मरेर के नै लैजानु छ र ∕’ मुस्लिम समुदायको बाहुल्य रहेको नरैनापुरमा अहिले ६ वडा छन् । कुनै बेला सिंगो नरैनापुर संयुक्त परिवारको बस्तीका रूपमा चिनिंदै आएको स्थानीय जीयावन तमौलीले बताए । ‘तर, अहिले बिस्तारै मानिसहरू छुट्टिएर बस्न थालेका छन् । पहिला–पहिला ५०–६० जनाको एउटै परिवार हुन्थ्यो,’ उनले भने, ‘संयुक्त परिवार संख्याका हिसाबले मात्रै होइन– भावना, प्रेम र समर्पणका हिसाबले पनि ठूलो र बलियो हुन्थ्यो ।’

  • ४ आश्विन २०७९, मंगलवार प्रकाशित

  • Nabintech