१३ बैशाख २०८१, बिहीबार

जनता आवासअन्तर्गत बाँके र बर्दियामा ६८० घर निर्माण हुने
  • न्युज मानसराेवर

बाँके\बाँके र बर्दियामा जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष २०७९–०८० मा ६८० घर निर्माण गरिने भएको छ ।लुम्बिनी प्रदेशको पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय नेपालगञ्जले बाँकेमा ३४७ र बर्दियामा २८४ नयाँ घर निर्माण गरिने जानकारी दिएको छ ।

बाँके र बर्दियामा लक्षित दलित तथा विपन्न समुदायका लागि घर निर्माण गर्न प्रक्रिया सुरु गरिएको सहरी विकास तथा भवन कार्यालय नेपालगञ्जका निमित्त प्रमुख रामआश्रय शाहले जानकारी दिए । विपन्न घर निर्माण गर्ने परिवारको छनोटका लागि सम्बद्ध प्रदेशको निर्वाचित प्रदेश सांसदको नेतृत्वमा समिति रहने व्यवस्था छ । ‘लक्षित समुदायको घर निर्माणका लागि निवेदन माग गरेका छौँ,’ निमित्त प्रमुख शाहले भने ।

उनले कार्यक्रम अन्तरगत पहिलो चरणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । पहिलो चरणमा बाँके र बर्दियामा तीन हजार १०० घर निर्माण गर्ने कार्यक्रम रहेकोमा हालसम्म दुई हजार ८४७ घर निर्माणका लागि कायम भइसकेका छन् ।

तीमध्ये दुई हजार १४४ घर निर्माण भई हस्तान्तरण गरिएको छ । ७०३ घर निर्माणका लागि कार्यान्वयनका क्रममा छन् भने २५३ घर मात्रै निर्माण गर्नुपर्नेछ । प्रदेश सरकारको २०७५ मङ्सिर १८ देखि यो कार्यक्रम सुरु भएको हो ।

यसअघि सङ्घीय सरकारले जनता आवास कार्यक्रम सञ्चालन गर्दै आएको थियो । अनुदान पाउने परिवारले घर निर्माणका लागि भइपरिसहित तीन लाख ५० हजार रुपयाँ पाउने निमित्त प्रमुख शाहले जानकारी दिएका छन् ।अहिलेको मूल्यवृद्धिको अवस्थामा एक परिवारलाई बस्नका लागि तीन लाख ५० हजार एकदमै न्यून रकम भएको सम्बद्ध व्यक्तिहरूले गुनासो गर्ने गरेको सहरी विकास तथा भवन कार्यालयका कर्मचारीहरूले जनाएका छन् ।

  • १० आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech