१३ बैशाख २०८१, बिहीबार

पर्यटकको रोजाइमा मेघौलीका थारु ‘होमस्टे’
  •  रासस

बाँके\ थारु घरबास ‘होमस्टे’ चितवनको गोलाघाट घुम्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । राप्ती र नारायणी नदीको संगम भरतपुर–२८ स्थित गोलाघाटमा आउने पर्यटकले परम्परागत संस्कृति, रहनसहन र मौलिक खानाको परिकारका कारण होमस्टे रोजाइमा पर्ने गरेको हो । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले प्राकृतिक र मनमोहक सौन्दर्यको भरपुर आनन्द उठाउन सक्छन् ।

भरतपुर–२७ मा रहेको थारु होमस्टेममा पर्यटकले सस्तोमा पारिवारिक वातावरणमा बस्न र विशेष प्रकारको घरकै खाना उपभोग गर्न पाउँछन् । यहाँ आउने पर्यटक बस्नका लागि आठओटा होमस्टे सञ्चालन गरिएको छ । ६० जनासम्म अटाउन सक्ने ती होमस्टेको क्षमता छ ।

पश्चिम चितवनको आकर्षक पर्यटकीय गन्तव्य गोलाघाटमा अहिले पर्यटकको चहलपहल कम छ । तर होमस्टेमा फाट्टफुट्ट पर्यटक आइरहेका छन् । होमस्टे सञ्चालक देवी महतो भन्छन्, ‘तीज र जितियामा खासै पर्यटक आएनन् । दशैं लागेपछि पर्यटक आउन थालेका छन् ।’ होमस्टे सञ्चालक सेमी महतो शुक्रवार र शनिवार यहाँ आउने पर्यटकको सँख्या सन्तोषजनक रहेको बताउँछन् । यी दुई दिन धेरै पर्यटक बस्ने गरी आउने उनको भनाइ छ ।

मेघौली थारु होमस्टेका अध्यक्ष सोमबहादुर महतो पर्यटकका लागि यहाँको गन्तव्य चाडपर्व केन्द्रित हुने बताउँछन् । यसवर्ष पनि चाडपर्वमा हामेस्टेमा आउनेको सँख्या बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ  ।

मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिश्चन्द्र महतो वर्षाका कारण पर्यटकीय गतिविधिमा केही अवरोध आएको बताउँछन् । पानी परिरहेकाले राष्ट्रिय निकुञ्जले डुंगा चलाउन दिएको छैन । जीप सफारी, हात्ती सफारीमा पनि रोक लगाइएको छ । ‘जुन कुरा हेर्न र अनुभव गर्न पर्यटन यहाँ आउँछन् त्यो नै नभएपछि सँख्या घट्ने नै भयो’ उनी भन्छन् ।

अध्यक्ष महतो चाडपर्वसँगै पर्यटकको सँख्या बढ्ने अपेक्षा रहेको बताउँछन् । गोलाघाटमा विशेष गरेर वन्यजन्तु हेर्नका लागि पर्यटक आउने गर्छन् । निकुञ्जको जङ्ल र दुई नदीको संगम भएको अत्यन्त सुन्दर र रमणीय गोलाघाटमा नारायणी नदी र राप्तीखोला मिसिन्छ । यहाँ सूर्यास्तको दृश्य नियाल्न स्थानीय तथा बाह्य पर्यटक आउने गर्छन् ।

फराकिलो भएर बगेको नदी र परपरसम्म कुनै मानवीय बस्ती एवं भौतिक संरचना नभएका कारण यहाँबाट सूर्यास्त देखिन्छ । पश्चिम चितवनको अन्तिम बिन्दु रहेको हुनाले गोलाघाटभन्दा तल कुनै बस्ती छैन । सूर्यास्तसँगै बाघ, एकसिंगे गैँडा, मृग, चित्तल, गोही यहाँको आकर्षणको केन्द्रबिन्दु हुन् । एकान्तमा रमाउन चाहने पर्यटक पश्चिम चितवनमा केन्द्रित हुने गरेको यहाँका व्यवसायी बताउँछन् ।

मेघौलीमा थारू जातिको पुराना संस्कृतिलाई जोगाउने भन्दै संग्रहालय पनि बनाइएको छ । गोलाघाट स्थानीय संस्कृतिको पनि धनी क्षेत्र हो । यहाँ कुमाल, थारू, तामाङ समुदायको बाहुल्यता छ । अहिले कुमाल र थारू समुदायका सांस्कृतिक टोलीले रातको समयमा आफ्नो समुदायको नृत्य तथा गीत प्रस्तुत गरी पर्यटकलाई मनोरञ्जन दिने गर्छन् ।

यहाँको स्थानीय परिकार चिचर, लोकल हास, कुखुरा, घुँगीले पनि पर्यटकलाई आकर्षण गरिरहेको छ । यस क्षेत्रमा सानाठूला गरेर २५ ओटा होटल तथा रिसोर्ट सञ्चालनमा छन् । यहाँ स्तरीय होटलसँगै होमस्टेलाई पनि स्तरीकरण गरिएको छ । यहाँ कुमाल होमस्टे पनि सञ्चालनका क्रममा रहेको स्थानीय रामसिंह कुमाल बताउँछन् ।

  • २१ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech