२७ आश्विन २०८१, आईतवार

भैँसीपालनले फस्टाएको सामूहिक जीवन
  • न्युज मानसराेवर

सुर्खेत\पाँचवटा भैँसी पालेर व्यवसाय थाल्दा सञ्जीवनी भैँसी फार्मका सञ्चालक निकै उत्साहित थिए। तर उनीहरूमा समूहको लगानी कहिलेसम्म हो भन्ने अन्योल थियो। अनि लगानी विस्तारको स्रोत पनि जुटिसकेको थिएन। लगानीकर्ताबीच फाटो उत्पन्न हुने हो कि भन्ने चिन्ता त थियो नै।  अहिले व्यवसाय फस्टाएको मात्रै छैन, कर्णाली प्रदेशमै सामूहिक लगानीको नमुना बनेको छ। सञ्जीवनी भैँसी फार्म।

फार्ममा अहिले १४० वटा भैँसी र तिनका पाडपाडी छन्। लगानीकर्ताको एकताले व्यवसाय वृद्धि हुँदै गएको फार्मका सञ्चालक बलबहादुर रोकाय बताउँछन्।वीरेन्द्रनगर–२ मा सञ्जीवनीले २०७६ असारमा भारतको पञ्जाबबाट मुर्रा जातका भैँसी आयात गरी व्यावसायिक भैँसी पालन सुरु गरेको हो। रोकाय भन्छन्, ‘समूहगत व्यवसायले लगानी जुटाउन धेरै सजिलो भयो। व्यवसाय फाइदामा छ।’

सहलगानीमा सुरु भएका व्यवसायमा सबैको उत्तिकै सहभागिता आवश्यक पर्ने उनको अनुभव छ। अनि जिम्मेवारी विभाजन र प्रभावकारी कार्यान्वयनले धेरै सहयोग मिलेको रोकाय बताउँछन्।

फार्मका लागि कर्णाली प्रदेश सरकारले समेत सहयोग गरेको थियो। कर्णालीको पशुपक्षी विकास निर्देशनालयले फार्मलाई एक करोड दुई लाख रुपैयाँ अनुदानसमेत दिएको रोकायले जानकारी दिए। यसैगरी समूहले बैंकबाट समेत लगानीका लागि ऋण लिएको छ।

एनएमबी बैंकबाट एक करोड र सहकारीबाट थप एक करोड रुपैयाँ ऋण लिएर लगानी गरेको रोकायले बताए। फार्मको कुल पुँजी पाँच करोड रुपैयाँ पुगेको छ।फार्ममा लगानी गर्नेमा रोकायसहित गजबहादुर बुढा, दीर्घबहादुर बोगटी, सीता बुढा, लक्षु बुढा, खड्कबहादुर बोगटी, कम्मबहादुर अधिकारी, डिलाराम गिरी र ओमदत्त रेग्मी छन्।

फार्ममा दैनिक २५ हजार रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ। ३५ वटा भैँसीले साँझबिहान दूध दिइरहेका छन् भने थप ३० वटा भैँसी चाँडै ब्याउनेछन्। सञ्जीवनी कर्णालीको सबैभन्दा ठूलो भैँसी पालन फार्म हो? भन्ने प्रश्नमा फर्मका सञ्चालक बलबहादुर रोकायले भने ‘सबैले त्यसै भन्छन्। कर्णालीमा हाम्रो भन्दा ठूलो फार्म हामीले पनि भेटेका छैनौँ।’

भैँसीको गोठ, पाडापाडी स्याहारगृह, मलखादको व्यवस्थालगायतका पूर्वाधारसहित हाल सञ्चालनको केही वर्षमै फर्मले कृषि उत्पादन क्षेत्रमा फड्को मारेको देखिन्छ। वीरेन्द्रनगरमै सञ्जीवनी कृषि तथा पशुपालन सहकारी संस्था सञ्चालनमा छ। संस्थामा थुप्रै नागरिक आबद्ध छन्।

यसरी सुरु भयो व्यवसाय

समूह गठन २०७५ चैतमा भएको हो। सामूहिक लगानीमा पशुपालन व्यवसाय गर्ने योजना बन्यो। सोही योजनाअनुरुप नौ जना सदस्य १०–१० लाख रुपैयाँ लगानी गर्न तयार भए।सञ्चालक रोकाय भन्छन्, ‘हामी नौ जना मिलेर ९० लाख संकलन गर्‍यौँ। वार्षिक सात लाख रुपैयाँ भाडा बुझाउने गरी सात बिघा जग्गा लिजमा लियौँ। अनि भैँसीपालन सुरु गर्‍यौँ।’फार्ममा १४ जना जनशक्तिले रोजगारी पाएका छन्। उनीहरु सबै तलबी जनशक्ति हुन्। उनीहरूको जिम्मेवारी दूध दुहुने, आहारा दिने, सरसफाइ गर्ने, स्वास्थ्य उपचार गर्ने, बजार व्यवस्थापन लगायत छन्।

सय रुपैयाँमा एक लिटर दूध

फार्मले प्रतिलिटर एक सय रुपैयाँमा दूध बिक्री गरिरहेको छ। घर तथा ठेगानामै पुर्‍याउनुपरे प्रतिलिटर थप १० रुपैयाँ शुल्क लिइने रोकाय बताउँछन्। उनी भन्छन्, ‘घरमै पुर्‍याउने गरी हाम्रा नियमित ग्राहक पनि छन्। उहाँहरूलाई हामी एक सय १० रुपैयाँ लिटरमा दूध बिक्री गरिरहेका छौँ। मागका आधारमा हामीले दूध पुर्‍याउन सकेका छैनौँ।’

सञ्जीवनीको तुलनामा बजारमा दूधको मूल्य सस्तो छ। ‘हामी दूधमा केही मिसावट गर्दैनौँ। महँगोमा बेच्छौँ, राम्रो बेच्छौँ। दूध दुहुने बाल्टी पखालेर पनि फ्याँक्दिन्छौँ’, रोकायले भने, ‘भैँसीले जस्तो दूध दिन्छ, ग्राहककहाँ त्यस्तै पुग्छ।’

लगानीमैत्री छैनन् वित्तीय संस्था

कृषि क्षेत्रमा लगानी बढिरहेको समयमा किसान भने सरकारले उपलब्ध गराउने अनुदान तथा बैंक र वित्तीय संस्थाले प्रदान गर्ने कृषि ऋण लगानी नभएको बताउँदै आएका छन्। किसान बलबहादर रोकाय पनि यसमा सहमत छन्।

उनले भने, ‘हाम्रो फार्ममा ऋण तथा अनुदान अलि लगानीमैत्री नभएको जस्तो महसुस भएको छ। उत्पादनमा समय लाग्ने तर ऋणको किस्ता भने पहिलो महिनाबाटै सुरु हुने हुँदा समस्या उत्पन्न हुन्छ।’

कृषि ऋण लिने किसानलाई उत्पादन समयसम्मका लागि विशेष प्याकेजमा ऋण उपलब्ध गराउनुपर्ने उनको सुझाव छ। यसैगरी कर्णालीमा उत्पादन खरिदका लागि प्रदेश सरकारले समेत समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको उनको अनुभव छ। उनले भने, ‘अनुदान दिँदा पनि उत्पादनमैत्री हुनुपर्छ। सो उत्पादन कर्णालीले नै खरिद गर्ने वातावरणको निर्माण गरिनुपर्छ।’

भैँसी पालनसँगै लगानीकर्ताहरू ‘इन्टरडिपेन्डेन्ट’ आयोजनातर्फ केन्द्रित हुन थालेका छन्। गँड्यौले मल, जैविक विषादी, समुदायका लागि ग्यास उत्पादनलगायतका भैँसीपालनसँग सम्बन्धित आयोजना सञ्चालन गर्ने योजना रहेको सञ्चालक रोकायले बताए।

उनले भने, ‘सुरुमा गोबर व्यवस्थापन गर्दै जैविक मल तयार गर्ने योजनामा छौँ। भैँसीको पिसाब प्रयोग गर्दै जैविक विषादीसमेत तयार पार्ने योजना छ। यसका लागि हामी केही संघसंस्थासँग मिलेर काम गर्दैछौँ।’ फार्मले प्रतिकेजी दुई रुपैयाँमा गोबर मल बिक्री गरिरहेको  छ।

  • २२ आश्विन २०७९, शनिबार प्रकाशित

  • Nabintech