१९ आश्विन २०८१, शनिबार

उद्योग प्रवर्द्धनका लागि प्राविधिक शीप विकास गरौँ
  • मधुसूदन पौड्याल

औद्योगिक संस्कार निर्माणको एउटा महत्त्वपूर्ण चरण हो– प्राविधिक शीप विकास । सम्भाव्य उद्यमीले मेड मोडेलअनुसार छनोट गरेको उद्यम सञ्चालन गर्ने क्षमता प्राप्त गर्न प्रविधिक शीपको आवश्यकता पर्छ । यस्तो क्षमता शीप विकास तालीमबाट आर्जन हुन्छ । नव प्रवेशी व्यवसायीहरूलाई उद्यम विकास तालीमकै सिलसिलामा उद्यमको छनोट गर्ने, उक्त उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको व्यवस्था तथा लेखाजोखा गर्ने, व्यावसायिक योजना निर्माण र उद्यममा लगानीका लागि चाहिने पूँजीको व्यवस्था गर्ने काम गरिसकेपछि मात्र प्राविधिक शीप विकास तालीम दिइन्छ । त्यस्तो तालीममा नतिजामूलक व्यावसायिक शीप सिकाइन्छ । फलस्वरूप उनीहरू सम्बद्ध उद्योगको यन्त्र उपकरण प्रयोग गर्न, कच्चा पदार्थ प्राप्त गर्न र दक्षतापूर्ण तरीकाले प्रयोग गर्न, गुणस्तरीय वस्तु उत्पादन गर्न तथा स्तरीय सेवा सञ्चालन गर्न र बजारको मागअनुसार वस्तुको डिजाइन तयार गर्न सक्षम हुन्छन् ।

शीप विकास परम्परागत प्रविधिमा आधारित हुन सक्छ वा आधुनिक प्रविधिमा आधारित पनि हुन सक्छ । आधुनिक प्रविधि निश्चय नै बढी दक्ष, आकर्षक र उच्च क्षमतायुक्त हुन्छ । उन्नयनकारी नवयुवाहरूको रोजाइ पनि आधुनिक प्रविधि नै हुन्छ र अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक वस्तु र सेवा उत्पादन पार्ने क्षमता पनि आधुनिक प्रविधिमै हुन्छ । तर, परम्परागत प्रविधि जीर्ण र काम नलाग्ने सम्झनु पनि गम्भीर त्रुटि हो ।

परम्परागत प्रविधिले कुनै पनि मुलुकमा गहन महत्त्व राख्छ । किनभने यो मुलुकको परम्परागत निधि हो, त्यस मुलुकको पहिचान हो, त्यस मुलुकको ऐतिहासिक र सांस्कृतिक धरोहर हो । त्यसको अनुसरण र अभ्यास गर्न अल्पशिक्षित कृषक तथा व्यवसायीहरूको लागि सहज र ग्राह्य हुन्छ, ती प्रविधिलाई आधार बनाएर तिनमा परिमार्जन र सुधार गर्दै लगेर नयाँ प्रविधि विकास गर्न सकिन्छ । त्यसै कारण विश्व बौद्धिक सम्पत्ति संगठन (विपो)ले अल्पविकसित तथा विकासोन्मुख मुलुकको पुनर्जागरण र पुन: रूपान्तरणका लागि परम्परागत ज्ञानको प्रवर्द्धन गर्दै गएको छ ।

विकसित मुलुककै कुरा गर्ने हो भने पनि कोरियाको ट्रेडिसनल भिलेजमा राखिएका परम्परागत प्रविधिमा आधारित वस्तुले पर्यटकलाई मुग्ध पारेका छन् र पर्याप्त विदेशी रकम आर्जन गर्न योगदान पुर्‍याएका छन् । हाम्रो मुलुकको भक्तपुर दरवार स्क्वायरका परम्परागत वस्तु र संरचनाले पनि पर्याप्त विदेशी मुद्रा आर्जन गर्न मद्दत गरेका छन् । के विकसित, के अल्पविकसित सबै खाले मुलुकमा परम्परागत प्रविधिहरू समाजशास्त्र र मानवशास्त्रकै संग्रहालयका रूपमा रहेका छन् र अध्ययन अनुसन्धानको महत्त्वपूर्ण निधि पनि हुन् । त्यसैले अल्पविकसित र विकासोन्मुख मुलुकले मात्र होइन, विश्वका धेरैजसो मुलुकले व्यवसाय प्रवर्द्धनमा परम्परागत प्रविधिलाई उचित स्थान दिएका छन् । नेपालमा पनि लघु उद्यम कार्यक्रमले यस्ता केही परम्परागत प्रविधिहरू जस्तो आरन तथा ढाका बुनाइलगायत हस्तकला व्यवसायको पुनरुत्थान गरेको छ ।

आधुनिक प्रविधिको शीप विकासका लागि मझौला तथा लामो अवधिको तालीम आवश्यक पर्छ नै । परम्परागत प्रविधिको लागि पनि छोटो तथा मझौला किसिमको तालीम दिइन्छ । शीप विकास तालीमको अवधि र प्रकृति उद्यम अनुसार फरकफरक हुन्छ । व्यावसायिकता विकासका लागि दिइने तालीम सबै किसिमका उद्यमीहरूका लागि झन्डै एकै प्रकारको हुन्छ तर शीप विकासका लागि दिइने तालीम भने उद्योगको किसिमअनुसार फरकफरक हुन्छ । जस्तो पशुपक्षी पालन उद्योग नै भए पनि कुखुरा पालनको लागि दिइने तालीम र बंगुर पालनका लागि दिइने तालीममा धेरै भिन्नता हुन्छ ।

लघु उद्यम कार्यक्रमले यस्तो शीप विकास तालीमका लागि चाहिने दक्ष विशेषज्ञको खाँचो सरकारी वा गैरसरकारी क्षेत्रका पदाधिकारी र स्वतन्त्र परामर्शदाताबाट पूरा गरेको थियो । अहिले मेडपा मोडेल लागू भएपछि पनि व्यवसाय प्रवर्द्धनको जिम्मेवारी पाएका संस्थानहरूले त्यही परम्परा अनुसरण गरेका छन् । सबै खाले शीप विकासका लागि चाहिने फरकफरक विशेषज्ञता भएका जनशक्ति कुनै पनि व्यवसाय प्रवर्द्धन संस्था आफैसँग मात्र हुन नसक्ने भएकाले अल्पकालीन खाँचो पूरा गर्न उपयुक्त स्रोतव्यक्ति आपूर्ति गर्ने यो भरपर्दो उपाय हो ।

लघु तथा घरेलु प्रकतिका उद्योग व्यवसायभन्दा मझौला तथा ठूला उद्योगहरूमा जटिल प्रविधि हुने र विभिन्न एकाइको कार्य विशिष्टीकरण फरकफरक पर्ने भएकाले मूल उद्यमी मात्र होइन, कामदारहरूलाई पनि धेरै प्रकारका शीप विकास तालीमको खाँचो पर्छ । साना व्यवसाय वा लघु प्रकृतिका उद्यम प्रवर्द्धन गर्न सरकारी एजेन्सीले सहयोग पुर्‍याउने भए तापनि मझौला तथा ठूला खाले उद्योगले भने या त आन्तरिक रूपमा आफैले शीप विकासको व्यवस्था गर्छन् अथवा कामदार भर्ना गर्दा नै त्यस्तो शीप विकास तालीम लिएका व्यक्तिलाई मात्र भर्ना गर्छन् ।

शीप विकासको गहिरो सम्बन्ध प्रविधिसँग हुन्छ र प्रविधिको सरोकार बौद्धिक सम्पत्तिसँग हुन्छ । आधुनिक प्रविधिको विकासको कुञ्जिका बौद्धिक सम्पत्ति नै हो । पेटेन्ट, डिजायन, ट्रेडमार्क, प्रतिलिपि अधिकार, व्यावसायिक गोपनीयताजस्ता बौद्धिक सम्पत्तिले प्रविधिको क्षेत्रमा आआफ्नो स्थानमा विशिष्ट भूमिका निर्वाह गर्छन् । त्यसैले शीप विकास तालीमका स्रोत व्यक्तिहरूमा बौद्धिक सम्पत्तिबारे यथेष्ट ज्ञान हुन आवश्यक छ । विभिन्न विषयको शीप विभिन्न पक्षसँग सम्बद्ध हुन सक्छ तर उद्योगको सन्दर्भमा चर्चा गरिने शीप भनेको उद्योग प्रविधि नै हो । उद्योग प्रविधिका शीपहरू उत्पादन विधि, कच्चा पदार्थ र उत्पादित वस्तुसँग सम्बद्ध हुन्छन् ।

उत्पादन विधि भनेको उद्योगका लागि चाहिने यन्त्रउपकरण, तिनको निर्माण तथा आपूर्ति, जडान, सञ्चालन, मर्मतसम्भार, जगेडा पार्टपुर्जा, यन्त्रउपकरण, सञ्चालनका वैकल्पिक प्रविधि र सही प्रविधिको छनोट जस्ता विषयको जानकारी हो । कच्चा पदार्थ भनेको लक्षित वस्तु उत्पादन गर्न प्रयोग गरिने मुख्य वस्तुहरू र सहायक वस्तुहरू हुन् । तिनलाई कच्चा पदार्थ र सहायक कच्चा पदार्थ पनि भनिन्छ । तिनीहरूको आपूर्ति स्थानीय रूपमा पनि हुन सक्छ र बाहिरबाट आयात गर्नुपर्ने हुन्छ ।

कच्चा पदार्थ स्थानीय रूपमा आपूर्ति गर्ने भए उपलब्ध हुन सक्ने स्रोतको मूल्याङ्कन गर्नुपर्छ । उद्योग सञ्चालनको योजना कम्तीमा पनि १०–२० वर्षका लागि हुने भएकाले उक्त अवधिलाई पुग्ने गरी कृषि पैदावर वन खनिज पदार्थ आदिको आकलन गर्नुपर्छ । त्यसका लागि कृषक, समुदाय वा पेशागत वर्गसँग पृष्ठ सम्बन्ध पनि स्थापित गर्नुपर्छ । बाहिरबाट आयात गर्ने भए वस्तु उपलब्ध हुने मुलुकहरू, सम्बद्ध बजार र कम्पनी, मूल्य, गुणस्तर आदि पक्ष विचार गरी दीर्घकालीन आपूर्तिको रणनीति तय गर्नुपर्छ । सेवा सञ्चालन गर्दा भने कच्चा पदार्थको खाँचो पर्दैन । उत्पादित वस्तुमा वस्तुको गुणस्तर, डिजाइन, उपभोक्तामा लोकप्रियता, बजारको माग, प्रयोग विधि, संरक्षण विधि, वस्तुको सञ्चित अवधि, वस्तु प्रयोग सम्बन्ध सम्बद्ध मुलुकको कानून, प्याकेजिङ सामग्री आदिबारे जानकारी हुनुपर्छ । यी सबै विषयको ज्ञान शीप विकास तालीममा दिइन्छ । अत: उद्योग प्रवर्द्धनको सफलता शीप विकासमा भर पर्छ । लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।

  • ३० आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech