८ बैशाख २०८१, शनिबार

खाद्यान्न जोहोको चिन्तामा नरैनापुरवासी
  • न्युज मानसराेवर

बाँके\ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिए पनि बाँकेको नरैनापुरवासीमा चुनावी रौनक आउन सकेको छैन । बर्षातमा धान रोप्ने बेला लामो समय खडेरी भएपछि धान रोप्न नपाएका नरैनापुरवासीको यतिबेला भकारी रित्तिएको छ । खेतबारी पनि बाँझै रहेको छ । अलि अलि रोपेको धान पनि असोजको अन्तिम साता आएको बर्षातले डुबाएको छ ।

धानको बीउ रोप्ने समय असार, साउन र भदौ तीन महिना खडेरी परेको नरैनापुरमा असोजमा आएको बेमौसमी बर्सादले अधिकांश क्षेत्र डुबान गरेको थियो । नरैनापुरवासी आम निर्वाचन भन्दा पनि खाद्यान्न जोहोको चिन्तामा छन् । “पानी पर्ने बेला नपरेर धान रोप्न पाइएन अलि अलि भएको पनि डुबान भएर स्याहार्न पाइएन”, नरैनापुर–६ निवासी सोहनलाल यादवले भने, “खडेरी र डुबानले पीडित नरैनापुरवासीलाई यतिबेला चुनाव भन्दा पनि खाद्यान्न जोहो गर्नेमा चिन्ता छ ।”

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रबाट विभिन्न पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता तथा कार्यकर्ता नरैनापुरमा जाने गरे पनि स्थानीयले चुनावप्रति त्यति धेरै चासो नदिएको उनको भनाई छ ।

नरैनापुर गाउँपालिका–१ कटकुइँया निवासी प्रमोद मिश्राले सुक्खाग्रस्त नरैनापुरमा खाद्यान्नको व्यवस्था र सिँचाई तथा डुबानमुक्त गराउने नेतालाई भोट दिने बताए । खडेरी र बाढीको डुबानमा परेका नरैनापुरवासीको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने योजनासाथ अगाडि बढेको नेकपा एमालेबाट बाँके क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले बताए ।

बाँके क्षेत्र नं १ प्रदेश (१) मा पर्ने नरैनापुरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता तथा युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराज उम्मेदवार रहेका छन् । यो गठबन्धनबाट प्रदेशसभा सदस्यमा माओवादीकी कृष्णा केसी उम्मेदवार रहेका छन् भने एमाले राप्रपा तालमेलबाट राप्रपाका नरेन्द्र पौडेल र जनता समाजवादी पार्टीबाट अमर खड्का उम्मेदवार रहेका छन् ।

समयमा पानी नपरेपछि धानबाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरवासीलाई दैनिक छाक टार्न समस्या भएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । धान रोप्ने समयमा लामो खडेरी भएका कारण धान रोप्न नपाएपछि नरैनापुर गाउँपालिकालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न गाउँपालिकाले माग गरेको छ ।

  • १५ कार्तिक २०७९, मंगलवार प्रकाशित

  • Nabintech