१४ बैशाख २०८१, शुक्रबार

गृहमन्त्री खाणको पराजयले देउवालाई ठूलो धक्का
  • न्युज मानसराेवर

डेक्स \गृहमन्त्री बालकृष्ण खाण प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई ठूलो धक्का लागेको छ। देउवाका दाहिने हात खाण कुशल संगठक मानिन्छन्।

खाण रुपन्देही-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरासँग पराजित भएका हुन्। गृहमन्त्रीसमेत रहेका सत्ता गठबन्धनका उम्मेदवार थिए।पार्टी केन्द्रीय सदस्य रहेका खाणले संसदीय दलको सचेतकको जिम्मेवारी पूरा गरिसकेका छन्। कुनै बेला तरुण दल र नेविसंघलाई ऊर्जा दिएर पार्टीमा स्थान बनाएकाले उनी देउवाको विश्वासपात्र बनेका हुन्।

सोही कारण देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्दा गृहमन्त्रीमा खाण नै रोजाइमा परेका थिए। उनी मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा छन्।निर्वाचनमा बोहराले ३६ हजार ६ सय ४८ मत प्राप्त गरेका छन् भने खाणले ३४ हजार ६ मत पाएका छन्। उनीहरूबीच २ हजार ६ सय ४२ मतको अन्तर छ। बोहरालाई एमालेको समर्थन थियो।

विद्यार्थीकालबाट राजनीतिमा लागेका खाण नेपाल विद्यार्थी संघका अध्यक्ष भएका थिए। यस्तै उनले नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन्। खाणले कांग्रेस विभाजन हुँदा तरुण दलसहित देउवालाई साथ दिएका थिए।

२०५९ सालमा कांग्रेस विभाजन भई देउवा नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन भएको थियो। सोही बेला खाण पार्टी केन्द्रीय सदस्य बनेका थिए। खाण त्यति बेला तरुण दलको अध्यक्ष थिए। उनी नेतृत्वको सिंगो तरुण दल कांग्रेस प्रजातान्त्रिकमा गएको थियो। कांग्रेस एक भएपछि पनि खाणले देउवालाई साथ दिँदै आएका छन्।

देउवाले आफू प्रधानमन्त्री हुन नपाएको र परिस्थिति नबनेको अवस्था अघि सार्ने एउटा पात्रका रूपमा पनि खाणलाई लिने गरिएको थियो। कांग्रेस महामन्त्री गगनकुमार थापाले आफू संसदीय दलका नेताका लागि दाबी गरिरहेका छन्। संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने प्रावधान छ। महामन्त्री थापा अघि सर्दा देउवाले दोस्रो पुस्ताका नेता भनेर खाणलाई अघि सार्ने सम्भावना अब अन्त्य भएको छ।

  • १० मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech