८ बैशाख २०८१, शनिबार

विप्रेषण र अर्थतन्त्रको सम्बन्ध
  • न्युज मानसराेवर

हाम्रो देशको सन्दर्भमा विप्रेषण अर्थतन्त्रको महत्त्वपूर्ण आधार बनिरहेको छ । कुनै पनि देशका नागरिक अर्को देशमा गई आर्जन गरी बैंक तथा वित्तीय संस्था वा मौद्रिक कारोबार गर्न अनुमतिप्राप्त निकायबाट पठाएको रकमलाई विप्रेषण भनिन्छ । सरकारी तथ्यांकअनुसार विप्रेषण आय आर्थिक वर्ष (आव) २०७८/८९ मा रू. १० खर्ब ७ अर्ब रहेको छ । जुन रकम कुल गार्हस्थ्य उत्पादनको करीब २१ प्रतिशत हुन आउँछ ।

विप्रेषण र जीवनस्तर सुधारको सम्बन्ध घनिष्ट रहेको हुन्छ । हरेक विप्रेषण प्राप्त गर्ने परिवारका सदस्यले उच्च शिक्षा, तालीम, गुणस्तरीय स्वास्थ्य उपचार, अध्ययन अवलोकन, भ्रमणजस्ता अवसर प्राप्त गर्छन् । यस्ता अवसरबाट उच्च आय भएको रोजगारी एवम् मर्यादित काम प्राप्त हुन गई मानवको जीवनस्तर माथि ल्याउन महत्त्वपूर्ण सहयोग पुग्छ । यसै गरी विप्रेषणको आप्रवाहले न्यून र मध्यम आय भएका परिवारको आय वृद्धि गरी गरीबी निवारण तथा आर्थिक सामाजिक विकासमा सहयोग गरेको तथ्य स्वतन्त्र अध्ययन एवम् सरकारी प्रतिवेदनबाट पुष्टि भएको छ ।

विप्रेषणसँगै नेपाल भित्रिने शीप र विकसित देशको अनुभवबाट गार्हस्थ्य अर्थतन्त्रले लाभ प्राप्त गर्न सक्छ । विप्रेषणले रोजगारी सृजना गर्न पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । आयातमा भएको वृद्धिसँगै मुलुकमा व्यापार व्यवसायजन्य रोजगारीका अवसर पनि सृजना भएका हुन्छन् । विप्रेषणसँगै भित्रिने शीप, प्रविधि र अनुभवको उपयोग गरी स्वरोजगार बन्ने र रोजगारी सृजना गर्ने वातावरण बनाउन सकेमा उत्पादनमूलक रोजगारीका अवसर प्राप्त हुन्छन् । यी अवसर दीर्घकालसम्म रहन सक्छन् । विप्रेषण आयलाई बचत गरी बैंक तथा वित्तीय संस्थामार्फत ठूला पूर्वाधार परियोजनामा लगानी गरेर आर्थिक वृद्धिको दर बढाउन सकिन्छ ।

विप्रेषणका कारण नागरिकको क्रयशक्ति बढ्न गई माग बढ्छ । यसबाट आर्थिक वृद्धिमा मद्दत पुग्छ । विप्रेषणले सार्वजनिक वित्त पनि बलियो बनाउँछ । विप्रेषण सेवाप्रदायक बैंक तथा वित्तीय सस्था र मुद्रा कारोबार गर्ने संस्थाहरूको आम्दानी बढेसँगै सरकारी राजस्वमा वृद्धि हुन्छ । उपभोगमा भएको वृद्धिसँगै आयातजन्य राजस्वमा समेत वृद्धि हुन्छ ।

विप्रेषणबाट बाह्य क्षेत्रमा सुधार ल्याउन पनि थप सहयोग गर्छ । नेपालमा व्यापारघाटा उच्च रहेको छ । यस्तो उच्च व्यापारघाटाका कारण बाह्य क्षेत्रमाथि परेको दबाब कम गर्न विप्रेषण वरदान सावित भएको छ । विदेशी मुद्राको आपूर्ति गरी मुलुकमा विदेशी विनिमय सञ्चितिसँगै बाह्य क्षेत्रको स्थितिमा सुधार गर्न विप्रेषणको भूमिका महत्त्वपूर्ण रहन्छ । विप्रेषणले अर्थतन्त्रमा पार्ने प्रभाव यसको उपयोग प्रवृत्तिमा निर्भर रहन्छ । विप्रेषणसँगै नकारात्मक पक्षहरू पनि जोडिएर आउने गर्छ । विप्रेषण प्राप्त गर्ने परिवारमा विलासिताका सामानको उपयोगमा वृद्धि हुँदै गएको अवस्था छ । यसैका कारण हाल नेपालमा विभिन्न समानको आयातमा रोक लगाउनु परेको अवस्था छ ।

विप्रेषणको सदुपयोग र उत्पादनमुखी कार्यमा उपयोग गर्न राज्य तथा वैदेशिक रोजगारीमा जाने सबैले केही जटिल पक्षमा ध्यान दिनु आवश्यक देखिन्छ । औपचारिक माध्यमबाट विप्रेषण ल्याउन विप्रेषण कारोबार र लागतलाई पारदर्शी बनाउनुपर्छ । यसका लागि केके शुल्क लाग्ने, विनिमय दर कति हुने भन्ने सूचना सार्वजनिक गरिनुपर्छ । यसको कार्यक्षेत्र विस्तार एवम् विप्रेषणको सुरक्षाको ग्यारेन्टी गरिनुपर्छ ।

वैदेशिक रोजगारीमा जान चाहने युवालाई अभिमुखीकरण तालीम अनिवार्य शर्तका रूपमा राखी त्यसका माध्यमबाट सुरक्षा, भाषाको सामान्य ज्ञान, रकम कसरी पठाउने र कसरी उक्त रकम उत्पादनमुखी कार्यमा लगाउन सकिन्छ भन्ने निश्चित गर्न सक्नुपर्छ । वैदेशिक रोजगारमा गएकाहरूले पठाएको रकमलाई राज्यले लगानीका लागि उचित वातावरण निर्माण गर्न सक्नुपर्छ । यसका लागि आन्तरिक ऋणपत्रहरूमा विप्रेषण लगानी आकर्षण गर्न उनीहरूलाई लक्षित गरी विभिन्न ऋणपत्रहरू जारी गरिनुपर्छ । यसबाट लगानीका लागि पूँजी सकलन गर्न सहज हुन्छ । वैदेशिक रोजगारमा रहेका नागरिकका सेवा र सुरक्षाका लागि वैदेशिक नियोगहरूको भूमिकालाई थप विस्तार एवम् प्रभावकारी बनाउनुपर्छ ।

कतिपय वैदेशिक रोजगार कम्पनीले कादारलाई ठगी गरी ज्यादा रकम लिने गरेका दर्जनौं घटनालाई दृष्टिगत गरी त्यस्तो कार्य हुन नदिन प्रभावकारी अनुगमनको व्यवस्था मिलाउनुपर्छ । विप्रेषणको कारोबार गर्ने कम्पनीहरूलाई स्वदेशमा प्रतिस्पर्धाको वातावरण बनाउनुका साथै विदेशमा शाखा खोल्ने र विदेशी मुद्रा सटही गर्ने सुविधा सरल रूपमा प्रदान गरिनुपर्छ । विप्रेषणको लागत वा शुल्क घटाउन र शीघ्ररूपमा विप्रेषण सेवा उपलब्ध गराउन ग्रामीण क्षेत्रमा पनि बैंक तथा वित्तीय संस्थाहरूको स्थापनामा जोड दिनुपर्छ ।

धेरैजसो नेपाली कामदार अदक्ष वा अर्धदक्ष श्रमिकका रूपमा विदेश गई कठोर एवम् जोखिमयुक्त काम गर्न बाध्य छन् । तसर्थ स्वदेशमा नै कुनै एउटा शीपसम्बन्धी आधारभूत ज्ञान दिएर मात्र विदेशमा पठाउन सकियो भने यसबाट श्रमको शोषण पनि कम हुन्छ र उचित पारिश्रमिकसमेत प्राप्त गर्न सक्छन् । वैदेशिक रोजगारीमा गएका कामदारको विभिन्न कारणले त्यही मृत्यु हुँदा सम्बद्ध परिवार थप पीडामा परेको तीतो यथार्थ पनि नभएको होइन । यो समस्या कम गर्न कामदारको सुरक्षामा विशेष ध्यान दिनुपर्छ जसका लागि राज्यले प्रभावकारी संयन्त्र निर्माण गरी अगाडि बढ्नुपर्छ । विदेशमा अहिले दैनिक सरदर तीनओटा शव नेपालमा आउने गरेको विवरण वैदेशिक रोजगार विभागबाट प्राप्त हुने गरेको छ ।

विदेशमा मृत्यु भएका कामदारको शव महीनौंसम्म पनि स्वदेशमा ल्याउन नसकेका घटना थुप्रै छन् । यसमा पनि राज्यले विशेष पहल गर्नु जरुरी देखिन्छ । नेपालको सन्दर्भमा वैदेशिक रोजगारी एउटा अनिवार्य र महत्त्वको विषय पनि भएको छ । तसर्थ यसलाई हरेक तरीकाबाट व्यवस्थित, भरपर्दो र सुरक्षित बनाउनुपर्छ ।

लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

  • १३ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech