२९ कार्तिक २०८१, बिहीबार

विश्वकप, अर्थतन्त्र र हामी नेपाली
  • न्युज मानसराेवर

संसदीय निर्वाचनका कारण नेपालमा विश्वकप केही भए पनि ओझेलमा पर्न गयो । निर्वाचनको नतिजा प्रकाशन अन्तिम चरणतर्फ पुग्दै जाँदा बिस्तारै यसतर्फ मानिसहरूको आकर्षण बढ्दै गएको छ ।

फिफाले टिकट विक्री र टेलिभिजन प्रसारणको अधिकार बेचेर ठूलो आम्दानी गरेको छ । आयोजक मुलुकले त्यहाँ हुने पर्यटनसम्बन्धी गतिविधिबाट मनग्य आम्दानी गर्ने गर्छ । बेलायती पत्रिका द गार्जियनले उल्लेख गरे अनुसार गत संस्करणको विश्वकपले ६ दशमलव ४ खर्ब डलर बराबरको आम्दानी प्राप्त गरेको थियो ।

यस संस्करणबाट ७ दशमलव ५ खर्ब डलर अपेक्षित गरिएको छ । यसले पर्यटन, यातायात क्षेत्रको माग वृद्धि गरेर आयोजक मुलुकलाई ठूलो फाइदा दिलाउँछ । फोर्ब्सका अनुसार यस संस्करणको विश्वकप आजसम्म सबैभन्दा महँगो रहेको छ । करीब १० खर्ब अमेरिकी डलर त रंगशाला निर्माणमा मात्रै खर्च गरिएको छ ।

विश्वकप २०२२ क प्रमुख प्रायोजक – एडीडास, कोकाकोला, ह्युन्डे, कतार एयरवेज आदिबाट अर्बौं रकम कारोबार भएको छ । वर्षैपिच्छे आउने दशैं जस्तो विश्वकप भएको भए कति रमाइलो हुन्थ्यो होला भन्ने पनि छन् । ४ वर्षपश्चात् आउने विश्वकप खेलमा आयोजकले बेहोर्नुपर्ने आर्थिक भार भने लगभग उत्तिकै हुन्छ ।

नेपालमा खेलकुदप्रति धेरै लगाव नभए पनि विभिन्न विश्वव्यापी प्रतियोगिताहरू खसगरी क्रिकेट र फुटबलप्रतिको आकर्षण व्यापक रहेको छ । विभिन्न लिगका साथै विश्व कपको अवधिमा नेपालीहरूको चासो निकै बढ्ने गरेको पाइन्छ । तर, समग्रमा हेर्दा, पर्दामा देखिने खेलको पछाडि विभिन्न गतिविधि भइरहेको हुन्छ । गोल, चिच्याउने कर्नर किकहरूको पछाडि करोडौं रुपैयाँको गतिविधिसमेत भइरहेको हुन्छ । त्यहाँ हुने हरेक गतिविधिले अर्थतन्त्रमा एउटा भूमिका निर्वाह गरिरहेको हुन्छ ।

विश्वकपको निहुँमा थाहा नै नपाई ठूलो रकम फेसबुकमार्फत विदेशिइरहेको छ । हाल हाम्रो फेसबुकलगायत सामाजिक सञ्जालको टाइम लाइनमा आउने विश्वकप आबद्ध ‘स्पोन्सर्ड’ विज्ञापनहरूले नेपालबाट ठूलो रकम बाहिर लगिरहेको अनुमान गर्न सकिन्छ । अनुमान गरेर विजेता बन्नुहोस् भनेर ठूला नाम चलेका संस्था आफै संलग्न भएको देख्न सकिन्छ । उत्साहजनक सहभागिता अर्को एउटा ठूलो रौनक हो । तर, त्यस रौनक प्रवर्द्धन गर्न करोडौं रकम नेपाल बाहिरिइरहेको तथ्यलाई नकार्न मिल्दैन ।

नेपालबाट रकम बाहिरिने भनेको जर्सी र झन्डाका लागि हो आज रेस्टुराँले जुन सजावट गरिरहेको छ वा सामाजिक सञ्जालमा जुन रूपमा आफ्नो समर्थन रहेको मुलुकको फोटोको बिगबिगी भइरहेको छ, त्यसका पछाडि आर्थिक पाटो पनि रहेको हुन्छ । चाहे उक्त जर्सी नेपालमै निर्मित होस्, कपडा पक्कै पनि आयातित हुन्छ । उक्त जर्सी पूर्ण रूपमा बाहिर नै निर्माण भएको हो भने पनि रकम बाहिर नै पुग्ने हुन्छ । खेलप्रेमीले आफ्नो समर्थन रहेको मुलुकको जर्सी लगाउनु सामान्य हो, तर जति नै रकम परे पनि उक्त रकम बाहिरिने हुन्छ । भाग्यवश, यसपालिको विश्वकप जाडो महीनामा भएको हुँदा जर्सीको विक्री अनुमानित वा विगतझैं पक्कै भएको भने छैन । शायद त्यही कारणले गर्दा, बजारमा पहेलो, हारियो, नीलो, रातोलगायत रंगीबिरंगी जर्सी प्रयोग भएको जस्तो पनि देखिएको छैन जसले गर्दा एउटा ठूलो रकम स्वदेशमै थन्किएको छ ।

नेपालबाट विश्वकप प्रत्यक्ष हेर्न जानेको संख्या पनि छ । यहाँबाट कतार गएर हेर्ने जमात एकातिर छ भने कतारमै रहेका नेपालीले विप्रेषणमार्फत नेपाल पठाउने रकम कतारमै खर्च गर्ने आकलन छ । त्यसमा पनि विभिन्न कम्पनीहरूले विश्वकप हेर्न लैजान अफर ल्याएकाले त्यसबाट पनि विदेशी मुद्रा खर्च हुने गर्छ । त्यसैले कतारमा भइरहेको विश्वकपले कतै न कतैबाट नेपाली अर्थतन्त्रलाई प्रभाव पारी नै रहेको छ ।

अर्को महत्त्वपूर्ण पाटो भनेको यस अवधिमा हुने टिभी खरीद पनि हो । विक्रीवितरण बढ्छ । नेपालीहरूले टिभी खरीद गर्ने बहाना यसै विश्वकपलाई बनाउने भएकाले टिभी विक्रेताहरूले विज्ञापनमा पनि खर्च गरिरहेका छन् । विज्ञापनमा खर्चिएको रकम केही स्वदेशभित्र नै बस्छ भने सामाजिक सञ्जाल आदिमा गरिएको विज्ञापनबाट पैसा बाहिरिएको पनि पाइन्छ ।

मिडिया हबले विश्वकप प्रदर्शनको अधिकार लिइरहँदा, उसले कति रकम फिफालाई तिर्‍यो त्यो खुलाइएको छैन । तर, यसपालि आम नेपालीले विश्वकप हेर्नकै निमित्त रकम र त्यसमा थप करसमेत तिर्नु पर्‍यो । यसले विश्वकप नेपालीका लागि खर्चिलो लागेको हुनुपर्छ । विगतमा स्वदेशी विज्ञापनबाट रकम असुल गर्ने भए तापनि, यसपालि प्रत्यक्ष दर्शकबाट असुलिएको छ ।

त्यसबाहेक पनि विश्वकपयता आम नेपालीको दैनिकीमा प्रभाव परिरहेको हुन्छ । खेल भएको समयमा न्यून सिनेमा हेर्ने दर्शक हुन् या बढ्दो संख्यामा रेस्टुराँमा गएर खेल हेर्ने पक्षले आर्थिक पाटो झल्किएकै हुन्छ । वैधानिक नभए पनि विभिन्न अनलाइन माध्यमबाट गरिने सट्टेबाजीमा अप्रत्यक्ष हुने कारोबारको लेखाजोखा हँुदैन । झन् इष्टमित्र र विभिन्न गैरकानूनी रूपमा हुने सट्टेबाजीको झन् हिसाबसमेत रहँदैन । कतिपय रेस्टुराँले विश्वकप देखाएर ग्राहक बढाइरहेका पनि छन् । हामीले धेरै मात्रामा असर नदेखे पनि यसरी हुने खेलकुदभित्रको अर्थतन्त्रमा केही न केही अंश भने अवश्य हुने गर्छ ।

सक्षम भएको खण्डमा हामीभित्र पनि अवसर थिए, हिमालको फेदमा एउटा खेल खेल्न हामी जस्तोसुकै प्रतिष्ठित खेलाडीलाई पनि यहाँ निम्त्याउन सक्छौं । नेपालमा क्रिकेट स्टेडियम राम्रो बनाउन सके ठूलाठूला खेल खेल्न दिएर पनि प्रशस्त आम्दानी गर्न सकिन्छ । तर, खेलकुदबाट अर्थतन्त्र उकास्ने स्पष्ट कार्यक्रम ल्याउन सरकार चुकिसकेको छ । अझै पनि राम्रो योजना बनाएर काम गरेर खेलकुदबाट अर्थतन्त्रमा राम्रो प्रभाव ल्याउन सकिन्छ ।

तर, हाम्रो प्राथमिकतामा न खेलकुद रह्यो, न शायद रहनेछ – जसले गर्दा आफ्नै मुलुकको स्थान हामी एशियाली मुलुकमा देखेर खुशी हुने गर्छौं । खेलकुद भित्र लुकेको आर्थिक लाभ पहिचान गर्न सकेमा हामी आगामी दिनहरूमा यस क्षेत्रलाई प्राथमिकतामा राखी अर्थतन्त्रलाई योगदान पुग्ने गरी कार्य गर्न सक्ने थियौं ।

रेग्मी बैंकर हुन् ।

  • १५ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech