२९ पुष २०८१, सोमबार

मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरीद गर्ने
  • रासस

रुकुम\रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन। आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाएका छन् । बिरुवा लगाइएको करीब दुई वर्षमै बारीमा किवी फल्न थालेपछि शाही निकै खुसी छन् ।

किवी फले पनि जिल्लामै थोरै मात्रामा विक्री भएकाले ठूलो मात्रामा फलेको किवी बजारसम्म पुर्‍याउन उनलाई निकै गाह्रो भयो । घरबाट डोकोमा बोकेर करीब दुई किलोमिटर हिंडेपछि मात्र सडक भेटिन्थ्यो । सडकमा किवी पुर्‍याए पनि गाडीले किवी बोक्न नमान्दा शाहीलाई किवी विक्री गर्न निकै समस्या भयो ।

उनी मात्रै होइन, उक्त नगरपालिकामा किवी खेती गरेका किसानलाई विक्री गर्न धेरै समस्या भयो । किवीले बजार पाउन छाडे पनि नगरपालिकामा रहेको एउटा वाइन उद्योगले खरीद गर्ने भएको छ । नगरपालिकाका किसानले उत्पादन गरेको किवी कर्णाली वेभरेज प्रालिले खरीद गर्ने भएको हो ।

आठबीसकोट नगरपालिका–१२ झिनचौरमा रहेको उक्त प्रालि र किसानको सहमतिअनुसार फलाएको किवी प्रतिकिलो १२५ रुपैयाँमा खरीद हुने नगर प्रमुख रवि केसी जानकारी दिए ।

उनका अनुसार यस नगरपालिकाको वडा नम्बर १, २, ३, १०, ११ र १२ मा १४२ क्विन्टल किवी उत्पादन भएको छ । ६ ओटा वडामा गरेर अहिले नगरपालिकामा ४७ जना व्यावसायिक किवी उत्पादक किसान छन् । पहिलो स्थानीय सरकारले किवी खेतीलाई जोड दिएपछि नगरपालिकामा किवी खेती गर्ने किसानको सङ्ख्या धेरै पुगेको छ ।

सरकारले किसानलाई अनुदानमा ठूलो मात्रामा किवीको बिरुवा विरतरण गरेको थियो भने किसान आफैँले किनेर पनि बिरुवा लगाएका थिए । नगरपालिकामा गत वर्ष मात्र २ हजार १०० ओटा किवीका बिरुवा रोपिएका थिए । अहिले नगर भरमा करीब १ हजार ५०० किवीका बोटले उत्पादन दिइरहेको नगरपालिकाको अनुमान छ ।

ती बोटबाट करीब १४२ क्विन्टल किवी उत्पादन हुने अनुमानसहित नगरपालिकाको रोहवरमा उक्त प्रालि र किसानबीचमा सहमति भएको हो । त्यस्तै नगरपालिकाले ढुवानीका लागि अनुदान पनि दिने भएको छ । किसानको बारीबाट वडा नम्बर १२ मा रहेको कम्पनीसम्म किवी पुर्‍याउन लाग्ने भाडा नगरपालिकाले तिरिदिने नगर प्रमुख केसी बताउँछन् ।

अहिलेसम्म किसानले आफैं किवी विक्री गरिरहेकामा पहिलोपटक नगरभरको किवी एकमुस्ट विक्री हुन लागेको हो । नगरमै किवी खपत हुने र ढुवानीमा अनुदान पाइने भएपछि कृषक खुसी भएका छन् । कर्णाली वेभरेजले वाइन तथा विभिन्न जुस उत्पादन गरिरहेको छ ।

  • १७ मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech