८ श्रावण २०८१, मंगलवार

बाजुराली नेताका लागि बधाई बहिस्कार!
  • डिबी खड्का

बाँके\ढिलोगरी मतगणना सुरु भएको छ। मतगणनाको प्रारम्भिक रिपोर्ट हेर्दा बाजुराका मुख्य तीन दल (कांग्रेस, एमाले र एकीकृत समाजवादी)का एक-एक जना नेताले अग्रता लिइरहेका छन्।

संघमा नेपाली कांग्रेसका नेता बद्री पाण्डे, प्रदेश सभा १ मा एकीकृत समाजवादीका नरेश शाही र प्रदेश सभा २ मा नेकपा एमालेका लालबहादुर थापाले अग्रता लिइरहेका छन्।

बाजुरामा हरेकपल्ट फरक दलका नेताहरुले चुनाव जितेका छन्। २०४८ सालदेखि २०७९ सम्मा आइपुग्दा कुनै पनि नेता लगातार दोहोरिएका छैनन्। हरेकपल्ट दलहरु परिवर्तन गरिरहनुको मुख्य कारण जितेर पठाएका कुनै पनि नेताहरुले मन जित्न नसक्नु हो। अपेक्षित काम नगर्नु हो। जसले समग्र विकास सूचकांकमा बाजुरा पुछारतिर छ।

बाजुरामा हालसम्म भएका कुनै पनि निर्वाचन निष्पक्ष र धाँधलीरहित छैनन्। अहिले सञ्चार सामाग्रीको पहुँचका कारण बढी विवादित र प्रचारति मात्रै भएका हुन्। पछिल्ला दुई निर्वाचन केलाउँदा बाह्य दृष्टिले अस्वभाविक देखिए पनि बाजुराली जनताका लागि स्वभाविक हुन्। सदरमुकाम भन्दा दूरीमा रहेका प्राय मतदान केन्द्रमा बहुमत कार्यकर्ता भएको पार्टीले कब्जा गरिरहेको थियो, र छ।

गत स्थानीय तहको निर्वाचनमा त्यही नियति दोहोरियो। निर्वाचन आयोगलाई अनपेक्षित लाग्यो र फेरि मतदानको निर्णय गर्‍यो। निर्वाचन आयोगको उक्त निर्णयबाट पार्टीहरु सच्चिएनन्। फेरि आफ्नो प्रभाव क्षेत्रमा बुथ कब्जा गरे। यसपल्ट स्थानीय तहको निर्वाचनमा भन्दा बढी ठाउँ कब्जा भए।

स्थानीय तहको निर्वाचनमा वडाहरुमा स्थानीयहरु नै भिड्ने भएकाले पनि केही कम भए। तर,  प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा भने अल्पमत हुनेले बहुमत हुनेका लागि बुथ छाडिदिएको खसेको मत प्रतिशत हेर्दा प्रष्टै देखिन्छ।

जहाँ स्थानीयले प्रतिवाद गर्न खोजे, त्यहाँ झडपको अवस्था सिर्जना भएको छ। एउटा बुथमा पुन: मतदान गर्नुपर्‍यो भने दुईटा बुथको मतदान बीचमै बिथोलियो। निर्वाचन अधिकृतको कार्यालयले त्यसैलाई सदर गरिदिएको छ।

एउटा बुथमा २ जनाको ज्यान नै गएको छ। कांग्रेस बाहुल्य हुनुका साथै जिल्ला सभापति रामसिंह रावलको गृहपालिका त्रिवेणी नगरपालिकामा दुई युवाले ज्यान गुमाएका हुन्। नेताहरुको गृह वडा वा पालिकामा सबैभन्दा शान्तिपूर्ण हुनुपर्ने हो, तर नेताहरुकै बुथमा धाँधली भएको छ।

त्रिवेणीका धेरै बुथमा स्वतन्त्र रुपमा मतदान गर्न पाउने वातावरण कहिल्यै बनेको छैन। अहिले पनि बनेन। रावलको गृहपालिका त्रिवेणी मात्रै होइन,  एमाले नेताहरु कर्ण थापा, लालबहादुर थापा,  प्रकाश शाह, कांग्रेसबाट दुईपल्ट सांसद चुनिएर अहिले प्रदेश प्रमुख रहेका देवराज जोशीको गृहपालिका बुढीगंगा नगरपालिकामा पनि कहिल्यै स्वतन्त्र मतदान भएन। त्यहाँ काँग्रेसले सक्ने ठाउँमा कांग्रेसले कब्जा गरेकै छ। एमालेले सक्ने ठाउँमा एमालेले गरिरहेकै छ।

यसपल्ट २ जना उम्मेदवार थपिँदा धाँधली पनि थपियो। कांग्रेस सहमहामन्त्री बद्री पाण्डे बाहिर बौद्धिकता र शालिनताका पर्याय मानिन्छन्, तर गृहजिल्लामा भने त्यो छवि धुमिल भएको छ। उनकै पालिकाका केही मतदान केन्द्रमा अस्वभाविक मत खसेको देखिएको छ। गणनाका समयमा पनि मुचुल्का उठाएको भन्दा ४० मत बढी खसेको भेटिएको छ। जसले निर्वाचन सकिएको १२ दिनपछि सुरु भएको गणना विथोलेको छ। यसैगरी कांग्रेसबाट प्रदेश सभा २ मा उम्मेदवार बनेको पदम शाहीको गृहपालिकका खप्तड छेडदहका केही बुथ कब्जा भएका छन्। मत प्रतिशत हेर्दा नै अस्वभाविक देखिन्छ।

स्थानीयको मन (मत) जितेर नभइ बुथ कब्जा गरेर बाजुरामा नेता चुनिदैछन्। त्यसैमा मानवीय क्षति समेत भएको छ। मर्न र मार्नका लागि नेताहरुले उक्साउने गरेका कारण त्यहाँ यस्ता घटना दोहोरिरहेका छन्।

दुई जनाको ज्यान जानेगरी भएको उक्त घटनालाई लिएर स्थानीय नेताहरु गम्भीर हुने अपेक्षा थियो। घटना जसले, जसरी र जे कारणले घटाए पनि परिणामलाई लिएर आत्मालोचित हुन्छन् भन्ने आशा थियो। दुवै पक्षका वक्तव्यबाजी हेर्दा आफ्नो कमजोरीले कार्यकर्ताको ज्यान गएको उनीहरु स्वीकार्न तयार देखिँदैनन्।

घटनाका अनेक कारण हुन्छन्। ती अनपेक्षित हुन्छन्। यो पनि त्यस्तै रह्यो होला। तर जिम्मेवार व्यक्तिले घटनापछि जवाफदेही हुनुपर्छ। घटनाका विषयमा सरोकारवाला निकायलाई स्वतन्त्र रुपमा अनुसन्धान गर्ने वातावरण तयार गर्नुपर्छ। आत्मालोचना गर्न सक्नुपर्छ। बहानाबाजीतर्फ उन्मुख हुनुहुँदैन। तर नेताहरु बहाना बनाइरहेका छन्। घटनालाई आफू अनुकूल व्याख्या गरिरहेका छन्। सबैभन्दा डरलाग्दो पक्ष यही हो। यो प्रवृत्तिको जति निन्दा गरे पनि कम हुन्छ।

घटना घट्नुको कारण राजनीति हो र कारक जित्नका लागि जुन हदसम्म पनि पुग्न उक्साउने नेताहरु हुन्। यसैमा दुविधा छैन। घटनाका मुख्य दोषी पनि बाजुराका नेताहरु नै हुन् भन्न हिचकिचाउन जरुरी छैन।  त्यसैले जिम्मवारी पनि उनीहरुले नै लिनुपर्छ। आगामी दिनमा यस्तो हुन नदिने र नगर्ने प्रतिबद्धता पनि उनीहरुबाटै अपेक्षा गरिन्छ।

मत नै गणना भइरहेकाले परिणाम त आउँछ नै। गणितीय आंकडामा एउटा जित्ने र अर्कोले हार्ने त भइहाल्छ। उनीहरुले लगाउने विजयमालाहरु मृतक युवाद्वय चेतन अयडी  र सञ्जिव अयडीको श्रद्धाञ्जलीका मालाका रुपमा परिणत भइसके। नेताहरुले लगाउने अबिरको रङ उनीहरुको रगतसँग मिल्दो हुनेछ।

जसले जिते पनि यो रक्तरञ्जित जित हो। मानवीय भावना भएको कुनै पनि व्यक्ति रगतसँग साटिएको जितमा खुसी हुन सक्दैन। मान्छेको ज्यानको बदलामा प्राप्त जितका लागि कोही बधाईको हकदार पनि हुँदैन। त्यसैले बाजुराका नेताहरुका लागि यसपल्ट बधाई बहिस्कार!

नेताहरुले जिल्लाको अवस्था परिवर्तन गर्ने भाषण गरेका छन् र फेरि गर्लान्। हामी अब उनीहरुलाई बदलिन दबाब दिउँ। पहिले नेताहरुको नियत बदलौं। त्यसपछि जिल्लाको नियति आफैं बदलिन्छ।

  • १८ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech