३० असार २०८१, शनिबार

बाँकेमा क्षेत्रीय कारागार संचालनमा ढिलाई
  • न्युज मानसराेवर

बाँके/ सरकारले कर्मचारीको दरवन्दी स्वीकृत नगर्दा नौवस्तास्थित क्षेत्रीय कारागार संचालनमा ढिलाई भएकाे पाईएकाे छ ।

बाँके जिल्ला कारागारमा रहेका कैदीलाई स्थानान्तरणको तयारी गरे पनि कर्मचारीको दरवन्दी स्विकृत नभएकोले सार्न नसकिएको जेलर अर्जुनजंग शाहले बताए ।

उनले पहिलो चरणको भवन निर्माण सम्पन्न भइसकेकोले कैदी राख्दा कुनै समस्या नहुने बताए । ‘निर्माण भएका संरचनामा कैदीलाई राख्न सकिन्छ, तर कैदी ब्यवस्थापन गर्ने कर्मचारी हामीसँग छैनन् ।

कर्मचारीको ब्यवस्था हुने वित्तिकै हामीले कारागार संचालनमा ल्याउँछौँ,’ उनले भने ।एक महिनाअघि कारागार ब्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेले क्षेत्रीय कारागारको निरीक्षण गरेका थिए ।

निरीक्षणका क्रममा उनले उक्त कारागार तत्काल संचालनमा ल्याउन स्थानीय अधिकारीलाई निर्देशन दिएका थिए । ‘तपाईहरुले क्षेत्रीय कारागार संचालनका लागि तयारी गर्नुस्, कर्मचारीको ब्यवस्था म काठ्माडौँ गए लगतै मिलाउँछु,’ उनले भनेका थिए ।

महानिर्देशकको निर्देशन पछि जिल्ला कारागारले संचालनको तयारी गरेको छ । भौतिक संरचना निर्माणको जिम्मा पाएको रसुवा–पप्पु जेभीले पनि निर्माणलाई गती दिएको छ । हामीले निर्माणलाई तीव्र पारेका छौँ ।

छिटोभन्दा छिटो निर्माण पूरा गरि संचालन गर्ने वातावरण मिलाउने सोँचका साथ काम भइरहेको छ,’ कम्पनीका इन्जिनियर दिनेश ज्ञवालीले भने ।

क्षेत्रीय कारागार नौवस्तालाई यथासम्भव छिटो सञ्चालनमा ल्याउन कारागार भित्र रहेका प्रत्येक ब्लकमा थुुनुवा भेटघाट कक्ष निर्माणको काम पनि सकिएको छ ।

कारागार युनिट ब्लक भित्र च्यानल गेट निर्माण पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख खडकबहादुर चौधरीले बताए । ‘निरन्तर ताकेता र अनुगमन गर्दै छिटो काम सक्न दवाव दिइरहेका छौँ,’ आयोजना प्रमुख चौधरी भने ।

यसै गरि प्रत्येक युनिटको माथिल्लो तलामा बहुउद्देश्यीय सभा हल निर्माण गरिने भएको छ । झण्डै १० बिगाह क्षेत्रफलमा तीन हजार क्षमताको क्षेत्रीय कारागार निर्माणको काम ५० प्रतिशत सकिएको जेलर शाहले जानकारी दिए ।

‘सुरक्षाकर्मीको ब्यारेक, कर्मचारी ब्यवस्थापन र श्रोत साधनको ब्यवस्थापन भए अवको दुई महिनाभित्र संचालनमा ल्याउन सकिन्छ,’ उनले भने ।

तीन हजारको क्षमता भनिए पनि निर्माण गरिएका १६ वटा भवनमा प्रति भवनमा एक सय ४० का दरले राख्न सकिने उनले बताए । ‘अहिले निर्माण भएका १६ वटा भवनमा दुई हजार २४० कैदी राख्न सकिने छ,’ जेलर शाहले भने ।

पहिलो र दोस्रो चरणका भौतिक संरचना निर्माण पूरा भएपछि तेस्रो चरणमा थप संरचना निर्माण गरिने उनले बताए । उनले तेस्रो चरणमा १५ बेडको अस्पताल, माध्यमिक विद्यालय लगायतका संरचना निर्माण गरिने लक्ष्य रहेको छ ।

पाँच सयबढी कैदीबन्दी भएको कारागारमा अनिवार्य रुपमा १५ बेडको अस्पताल सञ्चालनमा ल्याउनु पर्नेछ प्रावधान नयाँ कारागार ऐनमा छ ।निर्माणाधिन क्षेत्रीय कारागारमा कैदीबन्दीलाई सीपमुलक तालिम दिन हलको ब्यवस्था गरिएको छ ।

कारागारको नियम उल्लघंन गर्नेलाई कष्ठकर सजाय दिन अलग्गै दुई वटा अध्याँरा साँघुरा कोठा पनि बनाइएको छ ।
कारागारलाई सुधार केन्द्रका रुपमा बिकास गर्ने उद्देश्य सहित आवश्यक संरचना निर्माण गरिएको जेलर शाहको भनाई छ ।
विक्रम सम्वत् २००० सालमा निर्माण भएको जिल्ला कारागार बाँके जीर्ण छ । यहाँ क्षमता भन्दा बढी कैदीबन्दी छन् । बन्दीलाई बस्न, सुत्नका लागि प्रर्याप्त स्थान छैन ।

तीन सय ५० जना अट्ने क्षमता भएको बाँके कारागारमा सात सय ८८ कैदीबन्दी रहेको जेलर शाहले बताए ।जसका कारण उनीहरुले कष्टकर जिवन बिताउनु परेको छ । उक्त कारागारमा पर्याप्त ठाउँ नभएपछि कैदीबन्दीहरु बरण्डा, भान्सा र शौचालयको छतमा समेत सुत्न बाध्य छन् ।

नौवस्ताको कारागार सञ्चालनमा आए पनि मुद्धा फैसला नभएका, सुनुवाईका लागि अदालत लैजानु पर्ने, उपचार गराउनु पर्ने बिरामी, बद्धबृद्धा थुनुवालाई नेपालगन्ज स्थित पुरानै कारागारमा राखिने भएको छ ।

 

  • १८ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech