८ श्रावण २०८१, मंगलवार

बाँकेमा धार्मिक पर्यटकीय क्षेत्रको विकास हुँदै
  • रासस

बाँके\बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा रहेका मठमन्दिरलाई नेपालगञ्जसँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । ती गाउँपालिकामा रहेका भुवरभवानी, बाबाबर्फानी र सन्तानेश्वर हुँदै नेपालगञ्जको बागेश्वरी मन्दिरलाई जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना अघि सारिएको हो । जिल्लाका ग्रामीण क्षेत्रका धार्मिक केन्द्र र नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिर लगायत क्षेत्रलाई जोडेर पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना गाउँपालिकाको छ ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित सूर्य ढकालले अबको पाँच वर्षभित्र सन्तानेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित बनाइने बताए । त्यस्तै राप्तिसोनारी गाउँपालिकाको भुवरभवानी, नेपालगञ्जको बागेश्वरी मन्दिर, नरैनापुरको सन्तानेश्वर र बाबाबर्फानी मन्दिरलाई जोडेर धार्मिक पर्यटनको रूपमा विकास गरिने उनले बताए । ‘धार्मिक पर्यटनको प्रचुर सम्भावना देखिन्छ, तर त्यसका लागि नीति र योजना चाहिन्छ,’ उनले भने । यस्तै समानुपातिकतर्फका प्रदेशसभा सदस्य वसन्ती अधिकारीले सबैको आस्थाका रूपमा रहेका सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि नरैनापुर धार्मिक एवं पर्यटकीय गन्तव्य बन्दै गएको बताइन् । यस क्षेत्रको विकासका लागि पर्यटन प्रवद्र्धनका कार्यक्रमहरू अघि बढाइने उनको भनाइ छ ।

तराईको पहाड भनेर चिनिने सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि नरैनापुर–६ कोहलाबाट उत्तरपूर्वी जंगलको अप्ठेरो बाटो छिचोल्दै पहाड चढेर पुग्न सकिन्छ । यस क्षेत्रबाट तराईको रमणीय दृश्य अवलोकन समेत गर्न सकिन्छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको चुरेको टाकुरामा अवस्थित सन्तानेश्वर महादेवको दर्शन गर्न बाँके जिल्लाबाट मात्र नभई अन्य जिल्लाबाट पनि आउने गरेको स्थानीय सोहनलाल यादवले बताए । करीब तीन घण्टाको पहाडी बाटो छिचोल्दै प्रतिनिधिसभा सदस्य ढकालसहित ५० भन्दा बढीको टोली हालै त्यहाँ पुगेको थियो ।

नेपालगञ्जबाट करीब ३७ किलोमिटर दक्षिणपूर्वमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तरपूर्व पहाडमा सो मन्दिर छ । यस मन्दिरमा पुगेर सन्तान नभएकाहरूले दर्शन गर्दा सन्तान पाइने र सन्तान भएपछि त्यहाँ पुगेर आफ्नो सन्तानका लागि गरेको मनकामना पूरा हुने धार्मिक विश्वास रहेको पुजारी योगानन्द गिरीले बताए ।

  • २१ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech