२१ बैशाख २०८१, शुक्रबार

पानीको बहुउपयोगद्वारा समृद्धि
  • न्युज मानसराेवर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १८ साउन २०७१ का दिन तत्कालीन नेपालको संसद् संविधानसभालाई सम्बोधन गर्दै नेपालको पानी र जवानी पहाडका लागि वरदान भन्ने आशयको मन्तव्य भनेका थिए । त्यो दमदार भाषणको तारिफ नगर्ने सदस्य सम्भवत: सभामा कोही थिएनन् । तर, त्यो सम्भावनाको उजागर गर्ने क्षमता र आँट आजसम्म कसैले राखेनन् । यो अवधिमा कोशी कर्णालीमा पानी बगिरह्यो तर त्यो स्रोतको उपयोगले लिनसक्ने प्रतिफलसँगै गुमिरह्यो ।

मानव जीवनका लागि पानी जति उपयोगी छ, यसको प्रयोग कृषि, स्वच्छ ऊर्जा, जलवायु अनुकूलनदेखि राष्ट्रिय आयमा समेत महत्त्वपूर्ण स्रोतका रूपमा रहन्छ । विश्वभर पानीको उपयोगबाट ऊर्जा शक्ति उत्पादनदेखि नदी स्रोतको उपयोगितामार्फत धेरै मुलुकले आफ्नो राष्ट्रिय उत्पादनलाई गुणात्मक बनाउन सफल भएका छन् । मानव सभ्यताको इतिहासदेखि नै जोडिएको नदीको वैभवलाई सरकारले बिर्सनु वा बेवास्ता गर्नु हास्यास्पद छ । पानी वा नदी स्रोतको बहुगुणी उपयोग गर्न अबको दिनमा सरकार चुक्नु हँुदैन, जुन स्रोतले समग्र मुलुकको समृद्धिका लागि राम्रो योगदान दिने हैसियत राखेको छ ।

मानव सभ्यताको द्योतकका रूपमा नदीको वैभव व्यापक रहेको छ । सप्तसिन्धु क्षेत्रको समुच्च सभ्यता जहाँबाट वैदिक आर्य, द्रविण र अद्वैत सबैको पुनर्जागरण सम्भव भयो, त्यो नदी स्रोत र जलाधारमा आधारित सभ्यता थियो । शुतुद्री र सरस्वती नदीको मैदानमा नै हरप्पा र मोहन्जोदडो जस्ता रम्य र भव्य शहरहरू बसेका थिए । जहाँजहाँ नदीहरू विलुप्त भए, त्यहाँको सभ्यता नै विलुप्त भएको इतिहास छ । अहिलेको चीनको सियानजिन क्षेत्रको ताक्लामकान मरुभूमि कुनै समय हराभरा र प्रकृतिको सुन्दर क्षेत्र थियो । तियानसन पर्वत, पामिर पठार एवं दक्षिणमा काराकोरम एवं कुनलुनको बीचमा अवस्थित यो सुन्दर क्षेत्र तारिम नदीको स्रोतमा निर्भर थियो । कालान्तरमा नदी पनि सुक्दै गयो भने भूधरातल मरुभूमिमा परिणत भयो र बस्ती मान्छेका लागि अनुकूल भएन । मानिसहरू बिस्तारै दक्षिणतर्फ लागे भने यो क्रमले सिन्धु नदी क्षेत्रको आवादी झन् विस्तार भयो । यसको अर्थ नदीको उपयोगितामार्फत समृद्धि सम्भव छ भन्ने भाष्य तयार हुन्छ भने नदी स्रोतको संरक्षण हुनु मानिसका लागि आवश्यक छ भन्ने मर्म बोध हुनजान्छ ।

ऊर्जाको उपयोगिताको आधारमा पेट्रोलियम पदार्थपछि पानी मुख्य स्रोत बनेको छ । यसकारण पानीसमेत विश्वभर समृद्धि, ठूला युद्ध हुँदै सहकार्यको समेत प्रेरणाका रूपमा रहेको छ । नेपाल आफै त्यस्ता मुख्य क्षेत्रमा छ, पानीको स्रोतको उपयोगसँगै आयमा रूपान्तरण गर्न कूटनीतिक चलाखी गर्न सक्षम हुनुपर्ने देखिन्छ । तर, नेपालले आफ्नो स्रोतको आन्तरिक उपयोगलाई ज्यादा महत्त्व दिएको छैन भने जलविद्युत्को रूपमा मात्र यसको गुणलाई स्वीकार्य बनाएको छ । हिमाल, पहाड र तराई तीनओटै भौगोलिक क्षेत्रमा पानीको निर्बाध उपयोगलाई व्यापक बनाउने कार्यमा धेरै कामहरू गर्न सकिन्छ । उच्च पहाडी क्षेत्रको समुच्च भागमा पानीका बाँधहरू बनाउनु विभिन्न दृष्टिकोणले अत्यावश्यक छ । जलवायु अनुकूलन प्रभावहरू रोक्न, वर्षा अनुकूलन नभएको अवस्थामा पानीको प्रयोग नित्यनिरत समान रूपले गर्न, तल्लो क्षेत्रको उर्वरा शक्तिलाई जीवन्त राख्न र खानेपानीको मुहानलाई अविच्छिन्न बनाउन यस्ता समुच्च क्षेत्रमा निर्माण गरिने बाँधहरूको उपयोग गर्न सकिन्छ । प्राकृतिक रूपले पनि यस्ता बाँधहरूको औचित्य पुष्टि गर्न सकिन्छ । यस्ता बाँधको निर्माण कृषि सिँचाइको प्रबन्धका लागि आवश्यक पानीको मात्रा परिपूर्ति गर्ने ध्येयले समेत निर्देशित हुनु आवश्यक छ ।

त्यसैगरी गुणस्तरीय जीवनका लागि पर्याप्त पानीको उपयोग र स्वच्छ पानीको वितरण अनिवार्य शर्त हो । नेपालको कतिपय स्रोतहरू आज पनि स्वच्छ पानीका लागि प्रसिद्ध छन्, जसको वितरणलाई मानव बस्ती क्षेत्रमा पहुँच हुने गरी सुनिश्चितता गर्नु आवश्यक छ । बस्ती क्षेत्रमा आवश्यक पानीको स्रोतको जोहोसमेत उच्च क्षेत्रमा निर्माण हुने बाँधहरूमार्फत विभिन्न किसिमले परिपूर्ति हुन्छ ।

बाँधहरूमा अवशोषित पानी पृथ्वीको गर्भबाट आफै प्राकृतिक विधिमार्फत तल्लो क्षेत्रसम्म मुहानका रूपमा उपलब्ध हुने गर्छ । यसअतिरिक्त मानव निर्मित कुलो वा अन्य माध्यमबाट समेत यसको उपयोगिता बस्ती क्षेत्रले लिने गर्छ । त्यसैगरी खानेपानीको समेत जोहो विभिन्न विधिमार्फत गर्न सकिन्छ । बाँधहरूमा अवशोषित पानीले प्राकृतिक विधिमार्फत नै तल्लो क्षेत्रको भूभागको उर्वराशक्तिलाई अविच्छिन्नसमेत पार्छ । यसका साथै उक्त भूमिको उर्वरतालाई पूरापुर उपयोग गर्न अन्य माध्यमबाट समेत पानी परिपूर्ति गर्न सकिन्छ । अर्थात् बगेर जाने पानीलाई बढीभन्दा बढी भूमिमा रोक्ने र अलमल्याउने प्रयास मानव जीवनअनुकूल हुन्छ भन्ने कुरामा दुईमत छैन ।

त्यसैगरी बस्ती क्षेत्रमा पानीलाई प्रविधिसँगै जोडेर त्यसको नित्यनिरत उपयोग गर्न विभिन्न विकल्प तयार गर्न सकिन्छ । साथै पहाडको तल्लो क्षेत्र वा चुरेको फेदीमा समेत फेरि बाँध बाँध्न सकिन्छ । विशेषत: नदीको तल्लो तटीय जलाधार क्षेत्रको बाँधले जलवायु अनुकूलन प्रभावहरू रोक्न, वर्षा अनुकूलन नभएको अवस्थामा पानीको प्रयोग नित्यनिरत समान रूपले गर्न र बस्ती क्षेत्रमा आवश्यक पानीको उपादेयता पूर्ति गर्न उपयोग गर्न सकिन्छ । पानीको उचित उपयोगको आधार, आवश्यक पूर्वाधारमा लगानी र संरक्षणसहितको दिगोपना कायम गर्न सकेमा मुलुकको समृद्धिको सूचकमा धेरै सकारात्मक प्रभावहरू निम्त्याउन सकिन्छ ।

पानीको उपयोगलाई विद्युत् उत्पादनसँग मात्र जोडेर हेर्ने राष्ट्रको साँघुरो दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक छ । साथै न्यून लागतमा गुणात्मक फाइदा लिने प्रयोजनले विद्युत् उत्पादनको प्रक्रियासँग जोडेर वा नजोडीकन पानीको उपयोग विधिलाई परिमार्जन भने आवश्यक छ । विद्युतीय उत्पादन प्रयोजनका लागि बनाइएका बाँधहरूको समेत बहुउपयोगिताको अवधारणामा परिमार्जन हुनु आवश्यक छ ।

उच्च लागत र भौगोलिक असमानताका कारण विद्युत् उत्पादन सबै क्षेत्रमा समान रूपमा लाभ सृजना गर्न सम्भव हुँदैन । तर, विद्युत् उत्पादन पानीलाई ऊर्जाका रूपमा उपयोग गर्ने सबैभन्दा ठूलो र उन्नत विधि पनि हो । नेपाल आफैमा विद्युत् उत्पादनको सम्भाव्यताका दृष्टिकोणले अथाह स्रोत सम्पन्न मुलुक पनि हो । तर, अहिले भइरहेको उत्पादन परिमाण सम्भावना र क्षमताको तुलनामा धेरै कम छ । पछिल्लो समय जलविद्युत्मा निजी लगानीसमेत बढ्दै गएको छ भने नाफामूलक उद्योगको रूपमा यो क्षेत्रसमेत समेटिएको छ ।

जलविद्युत्ले ऊर्जा शक्तिका अतिरिक्त ठूलो मात्रामा प्राविधिक तथा गैरप्राविधिक क्षेत्रका व्यक्तिहरूलाई रोजगारीसमेत दिइरहेको छ । साथै यो उद्योग सीमित शहर वा निश्चित औद्योगिक क्षेत्रमा नरहेर नदी जलाधार क्षेत्रमा रहनुपर्ने बाध्यताका कारण आयको समान वितरणमा समेत योगदान दिइरहेको छ । तर, विद्यमान जलविद्युत् परियोजनाहरू समेत विद्युत् उत्पादनमा मात्र सीमित भएकाले आम्दानीको सम्भावनाका अन्य पक्षको बेवास्ता भइरहेको छ । जलविद्युत् परियोजनाले निर्माण गर्ने बाँधहरूमा थोरै मात्र परिमार्जन गर्ने हो भने त्यसको बहुउपयोगीता प्राप्त गर्ने अवस्था रहन्छ । ती परियोजनालाई समेत पर्यटन, सिँचाइ, मत्यपालन वा अन्य प्रयोजनमा एकीकृत गरी आम्दानीको स्रोतहरू विस्तार गर्न सकिन्छ, त्यसतर्फ परियोजनाको चासो रहेको देखिँदैन ।

मानव जीवनका लागि जति पानीको महत्त्व छ, त्यही जीवनलाई उन्नत र परिष्कृत बनाउनसमेत पानीको महत्त्व अथाह छ । संसारमा उपलब्ध ९७ दशमलव ५ प्रतिशत पानी पिउन, सिँचाइ वा विद्युत् उत्पादनका प्रयोजनले समेत विना प्रशोधन उपयोग गर्न नमिल्ने प्रकृतिको छ ।

विशेषत: समुद्रको पानी नुनको मात्रा बढी हुने कारणले विनाप्रशोधन यो प्रयोगका लागि वर्जित छ । तर, नेपालमा उपलब्ध पानी र यसको स्रोत कुनै न कुनै प्रयोजनले शतप्रतिशत उपयोगमा ल्याउन मिल्ने प्रकृतिको छ । नेपालको पानीको मुख्य स्रोत हिमनदी, नदी, खोला, मूल वा तालको पानी हो, जुन अविच्छिन्न प्रयोगका लागि उपलव्ध छ । विशेषत: नेपालका नदीहरू मनसुनमा धेरै गतिशील हुने र सक्ख्खायाममा कम पानी बग्ने प्रकृतिका छन् । पानी उपलब्धताको दृष्टिकोणले समेत यसको निरन्तर समान मात्रामा प्रयोगका लागि यसको सञ्चय क्षमता बढाउनु आवश्यक छ । पछिल्लो समय निर्माणको कार्यमा नदी संरचना नै बिगार्ने कार्य पनि तीव्र भइरहेको छ, जसले नदीको क्षमतालाई असर गर्छ । नदीको दिगो उपयोगसहित नदी स्रोतको बहुउपयोगितामार्फत मुलुकको समृद्धिका लागि उन्नत प्रकारको जलस्रोत नीति बनाएर अगाडि जानु आवश्यक छ ।

लेखक आर्थिक विकास तथा अनुसन्धान केन्द्र (नारेक) नेपालका निर्देशक हुन् ।

  • २५ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech