८ श्रावण २०८१, मंगलवार

निर्यातमा उल्टो यात्रा शुरु
  • न्युज मानसराेवर

नेपालका निर्यातयोग्य वस्तुहरूको निर्यात घट्दो मात्रामा देखिएको छ । हस्तकलाका केही वस्तुदेखि अन्य उत्पादनमा यस्तो अवस्था देखिएको हो । नेपालले १६ वर्षअघिसम्म निर्यात गर्दै गएको तरकारीको बीउ निर्यात अहिले आएर बन्द भएको छ । नेपाली वस्तुको निर्यात घट्दै जानुमा नेपालले आफ्नो उत्पादनको गुणस्तर कायम राख्न नसक्नु एउटा प्रमुख कारण हो । नेपालबाट विभिन्न मुलुकमा निर्यात हुने तरकारीको बीउको परिमाणमा उल्लेख्य रूपमा बढ्दै गएको थियो । कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालीम केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालले आर्थिक वर्ष २०४३/४४ देखि रूकुम, सल्यान, प्युठानलगायत पहाडी जिल्लाका किसानले उत्पादन गरेका तरकारीको बीउ भारत, बंगलादेश, जर्मनी र जापानमा निर्यात हुँदै आएको थियो । नेपालको बीउ गुणस्तरीय देखिएपछि बंगलादेशमा बीउको निर्यात बढ्दै गएको
थियो ।

आव २०६३/६४ मा नेपालले भारतमा ८९ मेट्रिक टन बीउ निर्यात गरेको सरकारी तथ्यांक पाइन्छ । तर, अहिले नेपालले विदेशबाट यस्ता बीउ आयात गर्नु परिरहेको छ । यसले के देखाउँछ भने सरकारले जुन वस्तुको निर्यात बढाउने भनेर कार्यक्रम ल्याउँछ सोही वस्तुको निर्यात घट्न थाल्छ । गलैँचा, गार्मेन्ट, पश्मिनालगायत वस्तुमा यस्तै देखिएको छ । यसो हुनुमा नेपाली व्यवसायीमा दिगो व्यवसायभन्दा पनि तत्काल लाभ लिने प्रवृत्ति एउटा कारण मानिन्छ । नाफा कमाउन हतार गर्दा गुणस्तर गुमाउँदै जाने गरेकाले निर्यातमा असर परेको देखिन्छ । तरकारीको बीउमा पनि यस्तै भएको हो । माग बढेपछि गुणस्तरमा ध्यान पुगेन जसले गर्दा निर्यात नै बन्द हुन थाल्यो । यो निर्यात नीति बनाउँदा ध्यान दिनुपर्ने एउटा विषय हो ।

नेपालबाट निर्यात हुने वस्तुको परीक्षण गरी गुणस्तरको प्रमाणपत्र दिने अन्तरराष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाको अभाव छ । त्यस्तै नेपालले दिने यस्तो प्रमाणपत्रका लागि अन्तरराष्ट्रिय मान्यतामा पनि समस्या छ । त्यसो हुँदा एकातिर गुणस्तर कायम भएको छ कि छैन भन्नेमा नेपाली पक्ष नै बेखबर हुने अवस्था छ भने अर्कातर्फ आयातकर्ताले नेपालको उत्पादनको गुणस्तरमा प्रश्न उठाउनु स्वाभाविक देखिन्छ । त्यसैले गुणस्तरको यो मामिलाका कारण नेपालका कृषि उत्पादनको निर्यातमा मात्र होइन, अन्य वस्तुको निर्यातमा पनि समस्या भइरहेको छ । त्यसैले अन्तरराष्ट्रिय रूपमा मान्यताप्राप्त प्रयोगशाला तथा प्रमाणीकरणको व्यवस्था गर्नु आवश्यक देखिन्छ ।

आयातकर्ताले नेपाली चियामा पनि आशंका गरिरहेका छन् । विषादीको प्रयोग, रासायनिक मलको प्रयोग, माटोको गुणस्तरमा आएको ह्रासजस्ता पक्षमा नेपाली किसानले ध्यान दिएको पाइँदैन । त्यही कारण नेपाली कृषि उत्पादनको निर्यातमा समस्या बढिरहेको छ ।

विश्वभर गुणस्तरमा उच्च चासो देखाइन्छ । त्यसैले कुनै पनि उत्पादनको दिगो निर्यात कायम राख्ने हो भने नेपालले ती वस्तुको गुणस्तरमा ध्यान दिनुपर्छ । खासगरी विश्व बजारमा आएका सचेतना र प्रवृत्तिलाई पछ्याउन सक्नुपर्छ । यसमा सरकारले नियमन, निर्देशन गर्दै विभिन्न प्रकारले किसानहरूलाई सहयोग गर्नुपर्छ । तर, समस्या आइसकेपछि मात्रै चाल पाउने नेपालको कर्मचारीतन्त्रले यी विषयमा पूर्वतयारी गर्ला भनेर आशा गर्न सक्ने ठाउँ ज्यादै कम छ । त्यसैले किसानहरू र यी वस्तुको निर्यातमा संलग्न व्यवसायीहरूको ध्यान यी विषयमा जानैपर्छ ।

निर्यात बढाउने भनेर बजेट वक्तव्यमा राख्दैमा वा योजना आयोगले नीति बनाउँदैमा निर्यात बढ्ने होइन । निर्यातका व्यावहारिक पक्षचाहिँ बढी महत्त्वपूर्ण हुन्छ । यसो गर्न नसके अहिले भइरहेका केही वस्तुको निर्यात झनै घट्ने सम्भावना देखिन्छ । त्यसैले निर्यात बढाउन र खस्कन नदिन राज्यले ठोस र प्रभावकारी नीति तथा कार्यक्रम तय गर्नु अपरिहार्य हुन्छ । विगतमा नेपालमा उत्पादन भएको तरकारीको बीउ विदेश निर्यात हुने र अहिले त्यसो हुन नसक्नु भनेको हाम्रै व्यवहारले हो । त्यसैले हामी चुकेको अवस्थालाई खोतल्दै समस्या समाधानमा जुट्नुपर्छ । त्यसो गर्दा नेपालले पुनः पहिलाजस्तै तरकारीको बीउ निर्यात गर्न सक्छ ।

तरकारीको बीउ उत्पादन गरी विदेश निर्यात गर्ने जिल्लामध्येको एक रूकुमका जनार्दन शर्मा (जो पहिले कृषि प्राविधिक थिए) अहिले अर्थमन्त्री छन्, तरकारी बीउ उत्पादनको समस्या राम्रोसँग थाहा भएकाले उनले सुधारका योजना बनाउन योगदान पनि गर्न सक्नुपर्छ ।

  • १ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech