३० असार २०८१, शनिबार

सुकुम्बासीको आँसु
  • झमक घिमिरे

साँच्चिकै सुकुम्बासीहरूका समस्या, दुःख, पीडा देखेर यो पंक्तिकारको मन साह्रै रुन्छ । यो देशमा यो समस्या अहिलेको भने होइन, दशकौंदेखिको हो । यो देशमा बारम्बार सरकार बदलिए, कुर्सीमा बस्ने मान्छेहरू बदलिए, अवस्था बदलियो, व्यवस्था बदलियो तर वास्तविक सुकुम्बासीहरूको दिनचर्यामा कुनै परिवर्तन आउन सकेको छैन । किनभने उनीहरू दुई हात, दुई खुट्टा जतिसुकै चलाए पनि दुई छाक माममै सीमित बनेका छन् ।यही दाना, नाना, छानामा सीमित बनेको उनीहरूको दिनचर्यामा आमूल परिवर्तन कसरी आओस् ? अहँ, आएको महसुस भएको छैन ।

अर्कोतिर, सुकुम्बासीहरूका नाममा काठमाडौंका मेयर बालेन्द्र (बालेन) शाह र राजनीतिक दलहरूका नेताहरूको ओठेजुहारी भने बडो गज्जबले चलिरहेको छ । स्वतन्त्र उठेर मेयर बनेका बालेन शाहको हिम्मत, आँट, कामप्रतिको समर्पण देख्दा मलाई देशमा यस्ता पनि नेता रहेछन् भन्ने लागेको छ । वर्षौंदेखि काठमाडौंको सरकारी जग्गा हडपेर बस्ने नक्कली सुकुम्बासीहरूलाई उठाउने काम गरिरहेका छन् र त्यो राम्रो काम भइरहेको महसुस गरेको छ यो मनले । आखिर कसै न कसैले त गर्नैपर्थ्यो यस्तो कामको सुरुआत ।

काठमाडौंमा बस्ने सुकुम्बासी भनिएका मान्छेहरू थोरैको बाहेक अधिकांशका अन्य जिल्लामा घरजग्गा छन् । त्यताका घरजग्गा त्यसै राखेर या अरूलाई कमाउन दिएर उनीहरू काठमाडौंको महँगो जग्गा हडपेर त्यहीँ राज गरी बसेका छन् । त्यहीँ पसल गरेका छन् । त्यहीँ आफ्नो अड्डा–अखडा जमाएका छन् । तर कति सरकारहरू सरकारी जग्गाको रक्षा नगरी मुकदर्शक बनेर बसिरहेका थिए ।

सुकुम्बासी भनिएका व्यक्तिहरूले काठमाडौंमा बसेर आफ्ना सन्तान बढाएका मात्र छैनन्, उनीहरूलाई अस्ट्रेलिया, अमेरिका आदि देशहरूसम्म पनि पुर्‍याएका छन् । विभिन्न ठाउँमा घरजग्गा जोडेका छन् । यो आफैंमा सकारात्मक पक्ष हो । यति हुँदा पनि उनीहरू सरकारी जग्गा छोड्न चाहँदैनन् । उनीहरू त्यसप्रति कृतज्ञ हुनुपर्ने हो, ‘हामी यत्रो वर्ष सरकारी जग्गामा बसेर यहाँसम्म पुग्यौं, सन्तानहरूलाई पनि यतिसम्म माथि पुर्‍याउन सफल भयौं’ भनेर खुसी हुनुपर्ने हो ।

तर बालेन शाहले साँच्चिकै पीडित सुकुम्बासीहरूको आँसु चुहाउनु हुँदैन, तिनको सराप थाप्नु हुँदैन । उनीहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नुपर्छ । प्रत्येक नागरिकको चाहना आफ्नो देशको संघीय राजधानी सुन्दर होस्, गर्व गर्नलायक होस् भन्ने हुन्छ । त्यसैले मेयर सा’ब, तपाईंको डोजर सही ठाउँमा निरन्तर रूपमा चलोस्; भत्काउने ठाउँमा भत्काउनुहोस्; तर दीनदुःखी सुकुम्बासीहरूलाई रुवाउने काम नगर्नुहोस् । नेपाल र नेपालीको हित हुने, स्वाभिमानलाई उठाउने काम गर्नुहोस् ।

हामी नेपालीहरूको बानी के छ भने, पहिला कसैको नराम्रो कामलाई हेरेर नानाभाँति कुरा गर्दै उसको मूल्यांकन त्यही रूपमा गर्छौं । उसको राम्रो पक्षलाई नहेरी उसलाई नराम्रो बनाइदिन्छौं । त्यसैले बालेन शाहहरूलाई एकातिरबाट चुनौती पनि छ, अर्कोतिर सम्भावना पनि छ ।

देशको संघीय राजधानी कसरी चिटिक्क पार्ने, त्यसका मौलिकता र ऐतिहासिकतालाई कसरी बचाइराख्ने भन्ने चिन्ता बालेनमा पनि छ । यसका लागि उनलाई सम्पूर्ण नागरिकले रचनात्मक सहयोग गर्न आवश्यक छ । उनलाई बढी प्रशंसा वा आलोचनाको आवश्यकता छैन ।

उनी आफैंमा प्रचुर सम्भावना र ऊर्जा बोकेका युवा हुन् । यो देशले लामो समयपछि पाएको एक देशभक्त, कर्मयोगी मान्छे पनि हुन् । त्यसैले राजनीतिक दलहरूले आफ्ना स्वार्थ पूरा भएनन् भन्दै उनलाई घेराबन्दीमा पारेर काम गर्न अवरोध गर्ने होइन, उत्साहपूर्वक सहयोग गर्न आवश्यक छ । उनले पनि राजनीतिक दलहरूसँग दूरी बढाएर होइन, रचनात्मक सहयोग लिएर अगाडि बढ्नुको विकल्प छैन । संघीय राजधानी सफा, सुग्घर, सुन्दर व्यवस्थित बनेर सजियोस्, यही कामना छ !

 

  • २ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech