बाँके\बाँके स्थितनेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ७ मा एउटै टोलमा चारजना बालबालिकामा दादुरा देखिएको छ । ५ देखि १२ उमेर समूहका तीन बालिका र एक बालकमा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
ती मध्ये तीनजना एउटै घर परिवारका हुन् । एउटै परिवारका तीनसहित चारजनामा दादुरा देखिएपछि विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य कार्यालयको टोली पुगेर शङ्कास्पद दादुराका बिरामीहरूको खोजी गरिरहेको छ ।
टोलमा १५ जना शङ्कास्पद भेटिएकोमा पाँच जनाको नमुना परीक्षणका लागि काठमाडौं पठाइएकोमा चारजनामा दादुरा पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी विकल्प चौधरीले जानकारी दिएका छन।
एउटा टोलमा पाँच जनासम्ममा दादुराका बिरामी फेला परेमा महामारीको रूपमा लिने गरिएकोमा एउटै घरमा चारजनामा दादुराका बिरामी भेटिएकाले स्वास्थ्य कार्यालयले महामारीको रूपमा लिँदै स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।
“दादुराको खोप नलगाएका र पुरा खोप नलगाएका बालबालिकामा दादुरा देखिन्छ,” स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले भनेका छन, “एउटै परिवारमा धेरैमा दादुरा देखिएकाले गम्भीररुपमा लिएर स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।”नेपालमा सन् २०२३ भित्र दादुरा उन्मूलन गर्ने सरकारी लक्ष्य रहेको भए पनि अहिले पनि दादुराका बिरामीहरू भेटिन थालेपछि लक्ष्य पुरा गर्न चुनौती हुने देखिएको छ । दादुरा उन्मुलनको लक्ष्यअनुसार प्रति हजारमा एकजना भन्दा कम बालबालिकामा दादुरा झार्नु हो ।