बुटवल \बुटवलबाट हातहतियार र विस्फाेटक पदार्थसहित दुईजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खावाङ घर भई हाल रुपन्देहीको सैनामैना–१ पर्रोहा बस्ने नवीन रेग्मी र कन्चनपुरको भीमदत्त नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्की छन् ।
इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी दानबहादुर कार्कीले पक्राउ परेकाहरुबाट रिभल्वर थान १, मोबाइल थान–३, ९ एमएमको गोली १४ राउण्ड, ७.६२ एमएमको गोली ४ राउण्ड, ०.२ एमएमको गोली १७ राउण्ड, तयारी डेटोनेटर थान–३, डेटोनेटर केस थान–६० लगायतका सामग्री बरामद गरेको जानकारी दिएका छन। प्रहरीले मङ्गलबार पत्रकार सम्मेलन गरी अभियुक्तहरु सार्वजनिक गरेको हो ।
डिएसपी थापाले बुटवलका विभिन्न व्यवसायीहरुलाई धाकधम्की दिई ज्यान मार्नेसम्मको डर त्रास देखाएको भन्ने सूचनाका आधारमा उनीहरुलाई बुटवल–११ देवीनगरबाट पक्राउ गरिएको जानकारी गराएका छन। उनीहरुलाई हातहतियार तथा विस्फाेटक पदार्थ कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको इप्रका बुटवलले जनाएको छ ।