बुटवल\लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले कालिका मानवज्ञान मावि बुटवलमा कक्षा १२ मा अध्ययनरत छात्रा प्रशंसा खनाललाई सद्भावना दूत चयन गरिएको छ । कालिका मानवज्ञान मावि बुटवलले सुरु गरेको मेरो सांसद कार्यक्रमअन्तर्गत मुख्यमन्त्री गिरीले कानुन सङ्कायमा अध्ययनरत खनाललाई सद्भावना दूत चयन गरेका हुन।
आफ्नो सद्भावना दूत चयन गरेपछि मुख्यमन्त्री गिरीले कानुनका विद्यार्थी समाज परिवर्तनका संवाहक भएकाले विद्यार्थीले लोकतन्त्र, सङ्घीयता र समावेशी मुद्दालाई समाजमा फैलाएर उन्नत समाजको निर्माण गर्न सघाउने विश्वास लिएका छन। कालिका मानवज्ञान माविले कानुन समूहमा अध्ययनरत विद्यार्थीलाई लुम्बिनी प्रदेशका सांसदसँग सहकार्य गर्ने गरी लुम्बिनी प्रदेश सभा देउखुरीमा मेरो सांसद सञ्चालन गरेको थियो।
प्रदेश सभा परिसरमा मङ्गलबार आयोजित कार्यक्रममा ६५ जना प्रदेश सभा सदस्यले दुई/दुईजना विद्यार्थीलाई सद्भावना दूत रोज्नुभएको थियो। नवनियुक्त प्रदेश सभामुख तुलाराम घर्तीले विद्यार्थी सुविसा नेपाललाई आफ्नो सद्भावना दूत रोज्नुभएको छ।
सभामुख घर्तीले कानुनका विद्यार्थीले प्रदेश सभामा विधि निर्माण र नागरिकका समस्या सांसदमार्फत सरकारमा लैजान सक्ने भएकोले कार्यक्रमको प्रशंसा गर्दै यसको निरन्तरमा जोड दिएका छन।नेपाली कांग्रेसकी सांसद जमुना ढकालले आफू पनि विद्यार्थी राजनीतिबाट प्रदेश सभामा पुगेको स्मरण गर्दै प्रदेश सभा सदस्यका रूपमा काम गर्न सद्भावना दूतबाट सहयोग मिल्ने बताइन।
नेकपा (एमाले)का सांसद विष्णु पन्थीको सद्भावना दूत बनेकी सीता भुसालले मेरो सांसद कार्यक्रमबाट प्रदेश सभाको काम बुझ्न पाउने र नागरिकका समस्या सरकारसम्म पु-याउन सहज हुने बताएका छन।
सद्भावना दूतका रूपमा छानिएका विद्यार्थीले सांसदलाई नागरिकका समस्या र गुनासोको रिपोर्टिङ गर्ने, प्रदेशको कानुन निर्माणमा सुझाव दिने काम गर्नेछन्। कालिका मानवज्ञान माविमा हाल ४० जिल्लाका दुई सय जना विद्यार्थी कानुन विषय लिएर अध्ययन गरिरहेका छन्।