बाँके\लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी (नमुना) ले सरकार चिकित्सकसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएकी छिन् । बाँकेको नेपालगन्जमा अखिल नेपाल प्रगतिशील चिकित्सक संघको प्रदेशस्तरीय प्रथम भेलालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् ।
नागरिकलाई सहज र सरलरुपमा स्वास्थ्य सेवा पु¥याउन लुम्बिनी प्रदेश सरकार लागिरहेको बताउँदै मन्त्री नमुनाले यसमा चिकित्सकहरुको भूमिका अहम् हुने बताइन् ।
‘तपाईंहरुसँग समन्वय र सहकार्य गरेर लुम्बिनी प्रदेश सरकार काम गर्न तयार छ,’ मन्त्री नमुनाले भनिन्, ‘योजना ल्याएर तपाईंहरु आउनुहोस् । हामी त्यसलाई अगाडि बढाउन तयार छौं ।’ चिकित्सक र स्वास्थ्यकर्मीलाई समस्या हुनेगरी लुम्बिनी प्रदेश सरकारले काम नगर्ने उनले प्रतिबद्धतासमेत जनाइन् ।
‘प्राविधिक विषय भएकोले तपाईंहरु जति हामी जानकार छैनौं,’ मन्त्री नमुनाले भनिन्, ‘जनताले सरल र सहजरुपले स्वास्थ्य सेवा पाउनुपर्छ । त्यसका लागि के गर्नुपर्छ प्रदेश सरकार तयार छ ।’ बिना विभागीयमन्त्री रहेकी नमुनाले एक साताभित्रै प्रदेश सरकारले पूर्णता पाउने बताइन् ।